• ९ वैशाख २०८३, बुधबार

तेह्र वर्षमा पनि पूरा भएन कालीगण्डकी पुल

blog

तम्घास समाचारदाता

तम्घास (गुल्मी), वैशाख ९ गते । तीन वर्षमै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको कालीगण्डकी नदीमाथिको पुल १३ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । हालसम्म पुलको भौतिक प्रगति ८१ प्रतिशत मात्रै पुगेको छ भने निर्धारित समयमै सम्पन्न हुने सम्भावना पनि कमजोर देखिएको छ ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ स्थित पुल क्याम्प र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१, चण्डीभन्ज्याङ जोड्ने सो पुल निर्माण गर्न थालिएको हो । २०६९ साल असार २५ गते सडक डिभिजन कार्यालय पाल्पा र स्वच्छन्द निर्माण सेवा प्रालि काठमाडौँबिच २० करोड ५३ लाख ८६ हजार ५५३ रुपियाँको लागतमा सम्झौता भएको थियो । सम्झौता अनुसार २०७२ साल असार २४ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

छ मिटर चौडाइ र १५० मिटर लम्बाइको स्टिल ट्रस संरचनामा निर्माण भइरहेको पुलमा विभिन्न कारणले ढिलाइ भएको ठेकेदार कम्पनीले जनाइएको छ । निर्माण कम्पनीका इन्जिनियर अजय लामिछानेका अनुसार प्रारम्भमै डिजाइन परिवर्तन आवश्यक रहेको जानकारी दिँदा पनि सम्बन्धित कार्यालयबाट ढिलाइ भएको थियो । उहाँले २०७२ सालमै गरिएको आग्रह २०८० सालमा मात्र स्वीकृत भई वेयल फाउन्डेसनबाट पायल फाउन्डेसनमा डिजाइन परिवर्तन गरिएको बताउनुभयो ।

लामिछानेका अनुसार निर्माण सामग्री फलाम र सिमेन्टको मूल्यवृद्धि, आपूर्ति ढिलाइ तथा बजेट अभावले काम प्रभावित भएको हो । हाल पुलको ट्रस निर्माण भइरहेको छ । आर्थिक प्रगति भने करिब ५० प्रतिशत मात्र रहेको उहाँले जानकारी दिनुभयो । उहाँले तोकिएको समयभित्र काम सक्न नसकिने स्पष्ट भइसकेको बताउनुभयो ।

सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले पनि फाउन्डेसन क्षेत्रमा ठुलो चट्टान भेटिएकाले काममा केही समय अवरोध भएको बताउनुभयो । उहाँका अनुसार पुल निर्माणका लागि हालसम्म पाँच पटकसम्म म्याद थप गरिएको छ भने पछिल्लो म्याद २०८३ जेठ २५ गतेसम्म तोकिएको छ ।