• १५ चैत २०८२, आइतबार

हिंसाका घटनाको वकालत र प्रभाव

blog

नेपाली समाजमा एकपछि अर्को गर्दै शृङ्खलाबद्ध रूपमा यौनजन्य दुव्र्यवहार, जबरजस्ती करणी, बाल यौन दुरुपयोग, बालविवाह जस्ता हिंसाका घटना भइरहेका छन् । पीडकलाई न्यायिक निरूपणको प्रक्रियाबाट कारबाहीको दायरामा कस्न नसक्दा अन्य पीडक मनोवृत्ति भएकाहरूलाई सचेत र सजग बनाउन सकिएको छैन भने अर्कोतर्फ घरपरिवार, समुदाय, आफन्त, अधिकारकर्मी, राजनीतिक आस्थामा आबद्ध व्यक्ति, सामाजिक सञ्जालमा जोडिएका व्यक्तिलगायत विभिन्न पक्षबाट घटनाको आफूखुसी वकालत गर्ने प्रवृत्तिले पनि हिंसाका घटनामा प्रभाव परिरहेको छ । एकै प्रकृतिका घटनामा अनेक प्रकृतिका व्याख्या, विश्लेषण र विभेदित व्यवहारका कारण पनि पीडित पक्षको दर्दमा मलमको महसुस हुन सकिरहेको छैन ।

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयद्वारा प्रकाशित आर्थिक वर्ष २०८१/८२ को लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्रमा उल्लेख भए अनुसार कुल अपराधको २९ प्रतिशत हिस्सा लैङ्गिक हिंसाले ओगटेको छ । लैङ्गिक हिंसाका घटनामा करिब ८० प्रतिशत महिला तथा १० प्रतिशत बालिका पीडित रहेको र झन्डै ७८ प्रतिशत पुरुष तथा दुई प्रतिशत बालक पीडक रहेको तथ्याङ्कले देखाएको छ । यसले अधिकांश पीडक पुरुष र पीडित महिला रहेको देखिन्छ ।

महिला तथा बालिकालाई सुरक्षाको दायरामा रहनु पर्छ, जोखिममा पर्न सकिन्छ सजगता अपनाइरहनु पर्छ भन्ने परिवार तथा समाजले छोरा अथवा पुरुषलाई महिलालाई गर्ने व्यवहारमा संवेदनशील रहनु पर्छ, उनीहरूलाई आफ्नै आमाछोरी तथा दिदीबहिनीसरह व्यवहार गर्न सक्नु पर्छ भन्ने संस्कार सिकाउन सकिरहेको छैन । छोराका अभिभावकभन्दा हाम्रो नेपाली समाजमा छोरीका अभिभावक बढी चिन्तित हुने गरेको पाइन्छ । छोरीले आफ्नो इच्छाले गरेको विवाहसम्म स्वीकार गर्न नसक्ने हाम्रो समाजका परिवार नामक संस्थाले छोराले जघन्य अपराध गर्दासम्म पनि निर्दोष रहेको वकालत गरिरहेको देखिन्छ । श्रीमतीको गल्ती कमजोरी भेट्दा पारपाचुकेको अवस्था सिर्जना हुने यही समाजमा जघन्य अपराधी श्रीमान्लाई जेलबाट छुटाउन मरिहत्ते गर्ने श्रीमती पनि छन् । यसले हिंसाजन्य गतिविधिमा संलग्न पुरुषको मनोबल र पीडित महिलाको मानसिकतामा कति प्रभाव पार्छ होला अनुमान गर्न सक्छौँ त ? 

हरेक मानिसको व्यक्तित्व विकास साथै विभिन्न परिवेशमा सही गलत छुट्याउन सक्ने सचेत, संयमित र संवेदनशील बनाउने महत्वपूर्ण भूमिका सामाजिकीकरण प्रक्रियाको रहेको हुन्छ । बालबालिकालाई हुर्काउँदै गर्दा सामान्य कुरा हुन् सहनु पर्छ, छोरा मान्छेभन्दा पनि समस्यामा पर्ने त आखिर छोरीमान्छे नै हुन्, छोरीले धेरै कुरा विचार गर्नु पर्छ, मर्दले गरिहाल्छ नि भन्ने जस्ता भाष्यको निरन्तरता दिँदै उनीहरूसँग सोही अनुरूपको व्यवहार गर्दै जाँदा अहिलेको जस्तो समाज निर्माण भएको हो । यसलाई तोड्नु जरुरी छ । सचेतना अब बालिका वा महिलालाई मात्र होइन महिला पुरुष, छोरा छोरी सबैलाई आवश्यक छ अर्थात् समाजको विकास पितृसत्तात्मक ढर्राबाट मात्र नभइ समविकासको भावबाट अगाडि बढाउनु जरुरी देखिन्छ ।

कुनै पनि घटना जब प्रहरी प्रशासन हुँदै न्यायिक प्रक्रियामा अगाडि बढ्छ, तब सामाजिक सञ्जालमै यस्तो उस्तो भन्दै पक्ष विपक्षमा फैसला गर्नेहरूको पनि कमी छैन । घटनाको प्रवृत्ति र प्रकृति नबुझिकन कसैको पक्षपोषण गरिरहँदा अर्को पक्षलाई पर्ने प्रभावको आकलन गरिँदैन । देख्नेलाई त घटनाको वास्तविकता र गहिराइ थाहा नहुन सक्छ तर हाम्रो समाजमा सञ्जालमा भेटिएका गैरकानुनी तथ्यका आधारमा मात्र यस्तो हुनु पर्छ, उस्तो हुनु पर्छ भन्ने भ्रम फैलाई घटनालाई अतिरञ्जित गराइएको हुन्छ । एआईद्वारा निर्मित फोटो या भिडियो तयार गरी घटनाको व्याख्या विश्लेषण गर्ने प्रवृत्ति छ । यसले पीडित होस् वा पीडक दुवै पक्षलाई प्रभाव पारिरहेको हुन्छ ।

समाजमा जति घटना भएका छन् ती सबै न्यायिक प्रक्रियामा अगाडि बढ्दैनन् । कारण परिवारको इज्जत पीडित आमा, श्रीमती वा छोरीको अस्मिताभन्दा ठुलो ठानिन्छ । परिवारका सदस्यलाई पीडित मानसिकतामै बाँच्न बाध्य पार्ने सामाजिक संरचनाका अलावा पीडकको सामाजिक प्रतिष्ठा जोगाउनसमेत मोलमोलाई गर्ने निकृष्ट प्रवृत्ति पनि हाबी हुने गरेका छन् । आगामी दिनमा सुध्रिने सर्तमा गुपचुप माफी दिने कार्यले पनि पीडकको आत्मबल दर्हो हुने र पटकेको व्यवहार बारम्बार दोहो¥याइरहेका हुन्छन् । हिंस्रकको मनोवृत्तिलाई बढावा दिने यस्ता कार्यले घटनामा बढोत्तरी हुँदै जान्छ र पीडितको मनोबल घट्दै जान्छ ।

राजनीतिक आस्था वा विचारले पनि नेपाली समाजमा घटनालाई फरक मोडमा पु¥याउने गरेका थुप्रै उदाहरण छन् । राज्य निर्माणको जिम्मेवारी बोकेका जनप्रतिनिधिसमेत आस्था मिल्ने पीडकको पक्षमा उभिएर वकालत गरिरहँदा न्याय पनि लजाइरहेको हुन्छ । घटनालाई राजनीतीकरण गर्ने गलत संस्कार छ हाम्रोमा । पीडक जेलजीवन बिताएर बाहिर निष्कँदा फूलमाला, खादा र अबिर लगाएर अभिनन्दन गर्ने परिपाटीसमेत भएको समाज हो । ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न सक्ने हैसियतसम्म पनि नबनाएका राजनीतिक व्यक्तित्वबाट पीडित पक्षले कस्तो आस गर्ने होला ? 

मृत्यु भएका पीडितका लागि सडकमा वा सञ्जालमा हरतरहले न्यायको वकालत गरिरहँदा जिउँदै मरेसरह भएका पीडित किन ओझेलमा पर्छन् ? वयस्क र वृद्धहरूबाट यौनजन्य दुव्र्यवहारमा पर्ने अबोध बालिकालाई उल्टै किन दोषी करार गरिन्छ ? अधिकारकर्मी अरूको मुद्दामा चर्का चर्का भाषण गर्ने हिम्मत राख्ने तर राजनीतिक रङ्ग मिल्ने, आफन्त, आफ्नै संस्थासँग सम्बन्धित हिंसाका घटनामा किन निरिह बन्दै फरक अर्थ लगाउन तत्पर हुन्छन् ? 

हिंसाका घटनामा पीडकको पक्षमा वकालत गर्ने परिपाटी बस्ने हो भने पीडितलाई न्याय प्रदान गर्न कठिनाइ हुन्छ । पीडितको मानसिक स्वास्थ्यमा असर पर्ने, पिर चिन्ता, भय, त्रास बढ्ने भएकाले सधैँ जोखिममा रहने सम्भावना हुन्छ । समाजमा आपसी विश्वास घट्न जान्छ र आपराधिक गतिविधि बढ्न सक्छन् । असुरक्षा, जोखिम, कमजोर सम्बन्ध, पारिवारिक तथा सामाजिक अशान्ति र द्वन्द्व सिर्जना हुने अवस्था आउने भएकाले पनि हिंसाका घटनाको समयमै न्यायिक निरूपण हुनु पर्छ ।

हिंसाका घटनाले व्यक्तिलाई मात्र नभई परिवार, आफन्त, समुदायलगायत सबै पक्षमा नकारात्मक असर पु¥याउने भएको हुँदा रोकथामका लागि सबै पक्षबाट सहकार्य गर्नु जरुरी छ । निकटताका आधारमा वा हचुवाका भरमा पक्ष विपक्षमा उभिनुभन्दा वास्तविकतामा आधारित भएर शान्तिपूर्ण समाधान खोजिनु पर्छ । समाजमा घट्ने घटनाको असर परिवार र व्यक्तिगत तहसम्म पुग्ने भएको हुँदा न्यूनीकरणका लागि सामाजिक संवाद र सहकार्य अभिवृद्धि गर्दै जानुपर्ने हुन्छ । वकालत एकपक्षीय र पीडितको विरुद्धमा हुन गएमा त्यसले निम्त्याउने असर निकै भयावह हुने भएकाले सत्यको पक्षमा सबै उभिनु पर्छ ।