• १५ चैत २०८२, आइतबार

मार्जिन कारोबारका लागि तिस प्रतिशत नगद अनिवार्य

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १५ गते ।  धितोपत्र बजारलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२’ लागु गरेको छ । नयाँ कार्यप्रक्रियामा लगानीकर्ता र ब्रोकर दुवैका लागि नयाँ मापदण्ड निर्धारण गरेको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा जारी निर्देशिका अनुसार मार्जिन कारोबार सेवा दिन चाहने ब्रोकर कम्पनीको न्यूनतम चुक्ता पुँजी २० करोड रुपियाँ हुनुपर्ने छ । साथै त्यस्ता ब्रोकरले नेप्सेबाट अनुमति लिनुका साथै राफसाफ सदस्यता र निक्षेप सदस्यता प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । आवश्यक परे नेपाल राष्ट्र बैङ्कबाट पूर्वस्वीकृति लिनुपर्ने प्रावधान पनि राखिएको छ । लगानीकर्ताका लागि भने मार्जिन कारोबार सुरु गर्न कम्तीमा ३० प्रतिशत ‘प्रारम्भिक मार्जिन’ अनिवार्य गरिएको छ । यस्तै बजारमा उतारचढाव हुँदा पनि कम्तीमा २० प्रतिशत ‘सम्भार (मेन्टेनेन्स) मार्जिन’ कायम राख्नुपर्ने छ । यदि यो सीमा घटेमा ब्रोकरले मार्जिन कल गर्ने छ र तोकिएको समयभित्र रकम वा सेयर थप नगरेमा ब्रोकरले सेयर बिक्री गर्न सक्ने निर्देशिकामा उल्लेख छ ।

मार्जिन कारोबारका लागि योग्य सेयर चयनमा पनि मापदण्ड तोकिएको छ । सूचीकृत कम्पनीले कम्तीमा २५ लाख कित्ता सर्वसाधारण सेयर जारी गरेको, नेटवर्थ चुक्ता पुँजी बराबर वा बढी भएको, पछिल्ला तीन वर्षमध्ये कम्तीमा दुई वर्ष नाफा गरेको तथा आइपिओ सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने उल्लेख छ । 

नेप्सेका अनुसार ब्रोकरले दैनिक कारोबार विवरण अर्को दिनको मध्याह्न १२ बजेसम्म बुझाउनुपर्ने छ भने आर्थिक वर्ष सकिएको तीन महिनाभित्र मार्जिन कारोबारसम्बन्धी छुट्टै लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने छ ।

नयाँ व्यवस्थासँगै लगानीकर्ताले अब बैङ्कभन्दा बाहिर ब्रोकरमार्फत पनि ऋण लिएर सेयर खरिद गर्न सक्ने भएका छन् । यसले बजारमा तरलता बढाउने अपेक्षा गरिएको छ ।