रङ्गेली समाचारदाता
विराटनगर, चैत १५ गते । विराटनगरमा पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटेल ‘लेमन ट्री प्रिमियर’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । शुभम् इन्टरनेसनल हस्पिटालिटी प्रालिका चार जना युवा साझेदारको दुई अर्ब लगानीमा होटेल स्थापना भएको हो ।
विराटनगरका चार युवाले लगानी गरेको यो होटेलको सम्पूर्ण व्यवस्थापन भने भारतको दिल्लीस्थित अन्तर्राष्ट्रिय ब्रान्डको ‘लेमन ट्री प्रिमियर’ ले गर्ने छ । लेमन ट्री ब्रान्डमा नेपालको यो दोस्रो होटेल विराटनगरमा स्थापना भएको हो ।
लगानी साझेदारमध्येका मनोजविक्रम शाहका अनुसार यसको सफ्ट ओपनिङसँगै अहिले ८० कामदारका लागि ‘लेमन ट्री प्रिमियर’ ले तालिम आयोजना गरिरहेको छ । आगामी वैशाखमा यसको उद्घाटन गर्ने तयारी गरिएको छ । नयाँ वर्षको अवसर पारेर भव्य उद्घाटन गर्ने र विराटनगरका लागि यो नमुना होटेल सेवा हुने दाबी उहाँको छ ।
होटेलमा ८० कोठा रहेका छन् । जसमा एउटा प्रेसिडेन्सियल स्विट रुम, आठ वटा स्विट रुम र पाँच वटा सुपर डिलक्स तथा ६६ वटा डिलक्स रुम छन् । बेसमेन्टसहित आठ तोलाको होटेलमा दुई हजार क्षमताको पाँच हजार वर्गफिटको बेङ्क्वेट हल, रुफटप स्विमिङ पुलसहित, स्पा, साउना बाथ र जिम छन् । होटेलभित्रै तीन वटा रेस्टुरेन्ट सञ्चालनमा हुने छन् । सिट्रस क्याफे, लाउन्ज बार र अल डे डाइनिङ सुविधासमेत रहने छ ।