• १२ असार २०८१, बुधबार

ओलाङ्चुङगोलामा मनाइयो फुटुक पर्व

blog

ओलाङ्चुङगोलामा मनाइएको फुटुक पर्वमा लामा नृत्य प्रस्तुत गरिँदै । तस्बिर: गोरखापत्र

ताप्लेजुङ, कात्तिक २७ गते । ताप्लेजुङको सीमावर्ती गाउँ ओलाङ्चुङगोलाका वालुङ समुदायले मनाउने फुटुक पर्व आइतबार सम्पन्न भएको छ । फक्ताङ्लुङ गाउँपालिका–७ओलाङ्चुङगोलामा मात्र मनाइने फुटुक पर्व कात्तिक कृष्णपक्ष द्वितीयाको दिन सुरु भएर औँसी तिथि अर्थात् तिहारको लक्ष्मीपूजाको दिन सम्पन्न भएको हो । 

सीमान्तकृत वालुङ (भोटे) समुदायले फुटुक पर्वलाई आस्था र विश्वासको प्रतीकको रूपमा लिँदै मनाउने गर्दछन् । वालुङहरुको मौलिक पर्व फुटुक यहाँको ओलाङ्चुङगोलामा मनाइने गरिएको बताइन्छ । यस वर्षको फुटुकमा स्थानीयबाहेक छ जना विदेशी नागरिक र अन्य क्षेत्रबाट समेत पाहुनाकाे उपस्थिति रहेको थियो ।

फुटुक पर्व आयोजक समितिका संयोजक टाँसी लामाका फुटुक पर्वमा सहभागी हुनलाई बेल्जियमका ६ जना नागरिक ओलाङ्चुङगोला आउनुभएको लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष अष्ट्रेलियाका नागरिकले फुटुक पर्वमा सहभागिता जनाएका थिए । भारतको सिक्किम र दार्जिलिङबाट फुटुक पर्वमा सहभागी हुनलाई पाहुना आएका आयोजकले जनाएको छ । 

यस्तै यसवर्ष ताप्लेजुङबाहेक, इलाम, काठमाडौँबाट समेत फुटुक पर्वमा सहभागी हुन मानिसहरू आएका छन् । बुद्ध भगवानको आशीर्वाद थाप्न र लामाको नृत्य हेर्नलाई स्थानीयवासी तथा अन्य पाहुना र फुटुक पर्वप्रति आस्था राखेर ओलाङ्चुङगोला पुग्ने गरेका बताइएको छ । फुटुक पर्व प्राचीन दिकी छ्योलिङ गुम्बा परिसरमा पाल तथा टेन्ट टाँगेर पूजा आराधना लगायतका गतिविधि गर्ने गरिएको छ । 

विशेष गरी फुटुक सम्पन्न हुने दिन लामा गुरुहरूले देवता र राक्षसको मखुन्डो लगाएर देवता र राक्षसबिचको युद्ध अभिनय गरी प्रस्तुति देखाउने गरिएको ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन वालुङले जानकारी दिनुभयो । उहाँकाअनुसार देवता र राक्षसको युद्ध अभिनयमार्फत सत्य विजय र असत्यको पराजय हुने प्रस्तुति देखाउने गरिन्छ । 

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको ओलाङ्चुङगोलामा एक मात्र वालुङ समुदायको बसोवास रहेको छ । समुद्र सतहदेखि तीनहजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगोला एक  पर्यटकीय स्थलसमेत हो । ओलाङ्चुङगोलामा रहेको सिँजेमा ताल, सम्दु ताल, प्राचीन तथा ऐतिहासिक दिकी छ्योलिङ गुम्बाका कारण आन्तरिक र बाह्य पर्यटकको बाक्लै उपस्थिति हुने गरेको छ ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।