• १२ असार २०८१, बुधबार

तमोर नदीमा काठे पुल निर्माण गरेर यातायात सञ्चालन

blog

तापेथोक र इखाबु जोड्ने गरी तमोर नदीमा निर्माण गरिएको अस्थायी काठे पुल । तस्बिर: चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २० गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तमोर नदीमा अस्थायी काठे पुल निर्माण गरेको छ । तमोर नदीमा पानीको सतह घट्न थालेपछि यातायात सञ्चालन गर्न गाउँपालिकाले काठको अस्थायी मोटर गुड्ने पुल निर्माण गरेको हो ।

फक्ताङ्लुङ गाउँपालिकाका वडाहरूमा सडकको पहुँच पुगे पनि तमोरमा पक्की मोटरेवल पुल नहुँदा यातायात सञ्चालन नियमित नहुने गरेको छ । बर्खा मौसमभर यातायात सुविधा नपाएका स्थानीय नागरिकलाई सुविधा दिनका लागि गाउँपालिकाले अस्थायी काठको पुल निर्माण गरेको हो । 

गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का वडा ४ इखाबु र वडा ५ तापे थोक जोड्ने गरी तमोर नदीमा काठे पुल निर्माण गरिएको छ । काठको अस्थायी मोटर गुड्ने पुल निर्माण सम्पन्न गरेर आइतबारदेखि यातायात सञ्चालनमा ल्याएको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । काठे पुल निर्माणपछि यातायात सञ्चालनमा आएसँगै तापे थोक र इखाबुको संसाबु, बिपुधापलगायत टोलका बासिन्दालाई सुविधा पुगेको उहाँले बताउनुभयो ।

जिल्लाकै दुर्गम तथा विकट भौगोलिक बनावट रहेको यस भेगमा अझै छिरुवा लगायतका स्थानहरूमा काठको अस्थायी पुल निर्माण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । तमोर नदीमा काठे पुल निर्माण गरेपछि ढुवानी तथा यात्रुवाहक सवारी साधन र एम्बुलेन्स सञ्चालनमा सहज हुने बताइएको छ । पक्की मोटरेवल पुलको अभाव रहेको क्षेत्रमा हिउँद मौसम सुरु भएपछि विगतदेखि नै गाउँपालिकाले अस्थायी काठे पुल निर्माण गरेर सर्वसाधारण नागरिकलाई यातायात सुविधा उपलब्ध गराउँदै आएको छ ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।