• १२ साउन २०८१, शनिबार

बिपी, कांग्रेस र चियापान

blog

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सरकारलाई १ पुस २०१७ मा अपदस्थ गरी राजा महेन्द्रले विक्रम संवत् २००७ मा ल्याइएको प्रजातन्त्र अन्त्य गरी एक दलीय पञ्चायती व्यवस्था लागु मात्र गरेनन्, राजनीतिक दलका गतिविधि नियन्त्रण गर्न दलमाथि प्रतिबन्धसमेत लगाएका थिए । राजा महेन्द्रको निरङ्कुश कदमको १६ वर्षपछि १६ पुस २०३३ मा बिपी कोइराला भारत प्रवासबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिएर स्वदेश फर्किनुभएको थियो । प्रवासबाट फर्केर बिपीले राजालाई एउटै सन्देश दिनु थियो, प्रजातन्त्र पुनप्र्राप्तिका लागि अब देशभित्रै बसेर सङ्घर्ष गर्छौं । 

स्वदेश फर्केपछि राजनीतिकर्मी मात्र होइन, विभिन्न पेसा, व्यवसायमा आबद्ध व्यक्ति र कूटनीतिक निकायका प्रतिनिधिसमेत कांग्रेसका संस्थापक बिपीसँग नियमित भेटघाट गर्न चाहन्थे । तर तत्कालीन शासकले बिपीसँग भेट्न आउने व्यक्तिहरूका बारेमा अनावश्यक चियोचासो र केरकार गर्न थालेका थिए, जुन बिपीलाई थाहा नहुने कुरै थिएन । जब कि बिपी स्वयम् देशीविदेशीसँग नियमित भेटघाट र कुराकानी गर्न चाहन्थे किनभने यस्ता भेटघाट र अनौपचारिक कुराकानीबाट धेरै विषय थाहा पाउन सकिनेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो । त्यसैले बाक्लो भेटघाट र जमघटका लागि सजिलो हुने त छँदै थियो साथै लामो समयसम्म भेटघाट नभएकाहरूका लागि यो मेलमिलाप एउटा महत्वपूर्ण अवसर पनि हुन्छ भनेरै बिपीले विसं २०३४ को कोजाग्रत पूर्णिमाको दिनदेखि चियापान कार्यक्रम शुभारम्भ गर्नुभएको थियो । 

त्यतिबेला मुलुकमा प्रमुख तीन शक्ति थिए– नेपाली कांग्रेस, दरबार र कम्युनिष्ट । प्रजातन्त्रवादी र राष्ट्रबादी शक्तिहरूबिच एकता र सद्भाव कायम गर्दै आपसी मतभेद न्यून गर्ने एउटा अवसरका रूपमा बिपीले चियापानको परम्परा शुरु गरेको कांग्रेसको इतिहासका लेखक पुरुषोत्तम बस्नेतले कात्तिक २०७९ मा बताउनु भएको थियो । चियापानका नाममा राजनीतिक, कूटनीतिकलगायत विभिन्न पेसा, व्यवसाय र क्षेत्रका व्यक्तिका साथै सर्वसाधारणसँग पनि एकैसाथ भेट्न मिल्ने भएकाले आफ्ना संस्थापक नेता बिपीले सुरु गर्नु भएको चियापानको परम्परालाई कांग्रेस सभापति कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै पछिल्लो समय शेरबहादुर देउवाले पनि निरन्तरता दिँदै आउनु भएको छ । 

प्रतिबन्धकालमा राजनीतिक दल र सर्वसाधारणबिच भेटका निम्ति सुरु गरिएको चियापान पछिल्लो समय प्रमुख दलका नेताहरू सँगै बसेर सार्वजनिक रूपमा प्रतिबद्धता जनाउने पर्व जस्तो हुन पुगेको छ । दलहरूबिच आपसी सद्भाव र मेलमिलाप बढाउनु चियापान कार्यक्रमको प्रमुख बिशेषता हुनुपर्ने हो । तर पछिल्लो समय कांग्रेसलगायत दलहरूले गर्दै आएको चियापान कार्यक्रम ‘कर्मकाण्डी’ जस्तो हुन पुगेको छ । बडादसैँ, तिहार, नेपाल संवत, छठजस्ता पर्वका अवसर पारेर कांग्रेसले ११ कात्तिकमा पार्टी मुख्यालय सानेपामा गरेको चियापान कार्यक्रममा बिभिन्न दलका नेता कार्यकर्ता, काठमाडौँस्थित कूटनीतिक नियोगका प्रमुख, बुद्धिजीवी तथा बिभिन्न पेशा र व्यवसायमा आबद्धहरूको बाक्लो उपस्थिति रहेको थियो । चियापानमार्फत शुभकामना आदानप्रदानले राजनीतिक तिक्तता मेटाउँदै सद्भावमा बदल्ने र सामाजिक विसङ्गतिलाई कम गर्न मद्दत पुग्ने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माको बिश्वास छ । विश्वकर्मा भन्नुहुन्छ, “हामीले भ्रातृत्व र सद्भावको संस्कृतिलाई निरन्तरता दिएका हौँ ।” 

कांग्रेसले सुरु गरेको चियापान संस्कृतिलाई पछिल्लो समय नेकपा एमाले, माओवादी केन्द्रसहितका दलहरूले पनि पछ्याएका छन् । बिपी कोइरालाको सिको गर्दै एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले विसं २०४६ मा चियापान कार्यक्रम शुरु गर्नु भएको थियो । चियापानको यो परम्परालाई त्यसपछिका दिनमा एमाले नेतृत्वले निरन्तरता दिँदै आएको छ । एमालेले १५ कात्तिकमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा चियापान कार्यक्रम गर्दैछ । 

बिपी कोइरालाले जुन सोच र विचारका साथ चियापान कार्यक्रम सुरु गर्नु भएको थियो, आजको दिनमा कांग्रेसको चियापानमा त्यो आत्मतत्व हराएको छ । बिपी स्मृति भवनमा भेला हुने र शुभकामना आदान प्रदान गर्ने बाहेक चियापानले राजनीतिक रूपमा मुलुकलाई निकास दिन सकेको छैन । जब कि बिपीले चियापानका नाममा राजनीतिक संवादको प्रस्तावलाई निरन्तर अघि सार्नु भएको थियो । यस्तो संवाद देशभित्रका शक्तिहरूबिच मात्र होइन, काठमाडौँस्थित कूटनीतिक नियोगका प्रमुखहरूलाई बोलाउनुको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्धलाई विश्वासिलो र थप बलियो बनाउनु पनि थियो । अर्थात् चियापानमा बोलाएर कूटनीतिक नियोगका प्रमुखहरूलाई नेपालको स्वार्थमा सहयोग पु¥याउनुपर्छ भन्ने सन्देश प्रवाह गर्ने एउटा महत्वपूर्ण अवसरका रूपमा बिपीले चियापानलाई लिनु भएको थियो । आजको दिनमा अन्तर्राष्ट्रिय निकायसँगको कांग्रेसको सम्बन्ध कमजोर हुन पुगेको छ । जब कि अन्तर्राष्ट्रिय जगत्ले आजपर्यन्त पनि नेपाली कांग्रेसलाई नेपालको एउटा भरपर्दो लोकतन्त्रवादी शक्तिका रूपमा मानेको छ, साथै विश्वास पनि गरेको छ । 

दलहरूबिच सद्भाव र मेलमिलापको सन्देश दिनका लागि कांग्रेसले चियापान गर्दै आएको दाबी गरेको छ । तर आजको दिनमा त्यस्तो सद्भाव र मेलमिलापको सबैभन्दा पहिलो खाँचो कांग्रेसभित्र नै देखिएको छ । व्यावहारिक रूपमा हेर्दा कांग्रेसभित्रको आपसी सम्बन्धमा खिया लागेको छ । पार्टीभित्र केन्द्रदेखि तल्लो तहसम्म गुट उपगुटको संस्कृति विकास भएको छ । त्यसैको परिणाम आजको दिनमा कुनै एकजना कार्यकर्ता कांग्रेस भएर टिक्न सक्ने अवस्था छैन । आफ्नो अस्तित्वका लागि कुनै न कुनै गुटमा टाँसिएर बस्नु पर्ने बाध्यता छ । कांग्रेसभित्र वडादेखि केन्द्रीय तहसम्म विभाजनको ठाडो रेखा कोरिएको छ, जसले गर्दा महाधिवेशनमा पराजित पक्षलाई पेलेर कसरी भित्तामा पु¥याउने भन्ने सोच हावी भएको पाइन्छ । अर्कातिर, पराजित पक्ष महाधिबेशनको भोलिपल्टदेखि नेतृत्वलाई कसरी असफल बनाउन सकिन्छ भनेर भएभरको शक्ति खर्च गर्नमा व्यस्त देखिन्छ । यो हदको व्यवहार र कार्यशैलीले पार्टीका नेता तथा कार्यकर्ताबिच आत्मीयता र सामिप्यता बढाउनुको साटो थप कमजोर बनाएको छ । यसो हुनु भनेको अन्ततः सिङ्गो पार्टी कमजोर हुनु हो । त्यसकारण भन्न सकिन्छ कांग्रेस कमजोर हुनुको प्रमुख कारण अरू कोही नभएर स्वयं काग्रेसजन नै हुन् । 

कांग्रेस कमजोर हुनु पछाडिका कतिपय आन्तरिक कारणहरू पनि छन् । जस्तो कि कांग्रेसको मेरुदण्डरूपी भ्रातृ सङ्गठनहरूमा प्रजातान्त्रिक अभ्यास हुन छाडेको लामो समय भएको छ । नेपाल तरुण दल, नेविसङ्घ, महिला सङ्घलगायतका भ्रातृसंस्थाहरू विधान र पद्धति अनुसार चलेका छैनन् । यी र यस्तै अन्य कारणहरूले गर्दा अन्य शक्तिहरूले पनि कांग्रेसको नेतृत्वमाथि प्रश्न गर्न थालेका छन् । आजको दिनमा कांग्रेस संसदको सबैभन्दा ठूलो शक्ति हो । यति हुँदाहुँदै पनि राष्ट्रिय राजनीतिमा कांग्रेसको जुन अभिभावकीय भूमिका हुनुपर्ने हो त्यसको कता कता अनुभूति गर्न नपाएको भान कांग्रेसजनमा भइरहेको छ । त्यसकारण आजको दिनमा कांग्रेस नेतृत्वले पार्टीलाई थप सशक्त बनाउन विगतको समीक्षा गरी आफ्ना कमजोरी, चुनौती र भविष्यबारे गहिरो विश्लेषण गर्नैपर्छ । 

मुलुकमा नयाँ संविधान जारी भएको आठ वर्ष बितिसकेको छ । कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले विसं २०७२ मा संविधान जारी गरेको हो । त्यसकारण संविधानको सफल कार्यान्वयनका लागि नेतृत्व गर्ने प्रमुख दायित्व पनि कांग्रेसकै हो । संविधानको सफल कार्यान्वयनका लागि शान्ति प्रव्रिmयालगायतका कतिपय काम अझै पूरा हुन बाँकी छन् । यति नै बेला संविधान विरोधी शक्तिहरू धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहेका छन् । त्यसकारण संविधान जारी गर्दा एक ठाउँमा भएका दलहरूबिच संविधानको सफल कार्यान्वयनका लागि फेरि एक हुनु आजको प्रमुख आवश्यकता हो । बडादसैँ, तिहार, नेपाल संवत, छठजस्ता पर्वका अवसर पारेर कांग्रेस र कम्युनिष्ट पार्टीहरूले गर्दै आएको चियापान कार्यक्रमले संविधान कार्यान्वयनका बाँकी काम पूरा गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि दलहरूबिच समझदारी कायम गर्न सकेमा चियापान कार्यक्रमको सार्थकता हुने छ ।