• २ कात्तिक २०८२, आइतबार

कृत्रिम फूलमालाको कारोबार बढ्याे

blog

फुङ्लिङ बजारमा कृत्रिम फूल माला खरिदबिक्री गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २ गते । ताप्लेजुङमा कृत्रिम फूल मालाको कारोबार बढेको छ । जिल्लामा सयपत्री, मखमली लगायतका फूल नफुलेकाले कृत्रिम (प्लाष्टिक) फूल मालाको कारोबार बढेको हो।

सदरमुकाम फुङ्लिङ बजारका व्यवसायीका अनुसार कृत्रित फूलका मालाको कारोबार तुलनात्मक रुपमा वृद्धि भएको हो । सहर बजार क्षेत्रमा माग तथा आवश्यकता अनुसार प्राकृतिक फूल सयपत्री र मखमली नपाइने भएपछि कृत्रिम फूल मालाको मागसँगै कारोबार बढेको व्यवसायीको भनाइ छ ।

फुङ्लिङ बजारका अधिकारी फेन्सी स्टोर्सका सञ्चालक गोपाल अधिकारीले गतवर्षभन्दा यो वर्ष कृत्रिम फूल मालाको कारोबार सन्तोषजनक भएको बताउनुभयो । व्यवसायी अधिकारीका अनुसार विगतमा भन्दा यो वर्ष तिहार केही छिटो भएकाले कृत्रिम फूल मालाको कारोबार तुलनात्मक रुपमा बढेको हो । उहाँले बजार क्षेत्र मात्र नभई ग्रामीण भेगका उपभोक्ताले समेत कृत्रिम फूलमाया खरिद गरिरहेको बताउनुभयो ।

फुङ्लिङ बजारकै व्यवसायी पवित्रा काफ्ले मेहताले पनि गत वर्षभन्दा यसपटक प्लाष्टिक अर्थात् कृत्रिम फूल मालाको कारोबार राम्रो भइरहेको बताउनुभयो । उहाँका अनुसार मालाको रुपमा प्रयोग गर्नेगरी गाउँघरमा सयपत्री र मखमली फुलिनसकेको भन्दै उपभोक्ताले कृत्रिम फूलको माला खरिद गर्ने गरेका छन् । 

फुङ्लिङ बजारका अर्का व्यवसायी भरत अधिकारीले पनि कृत्रिम फूल मालाको कारोबार राम्रै भइरहेको बताउनुभयो । आयुस एण्ड अनुज कस्मेटिक पसलकी सञ्चालक सिर्जना श्रेष्ठले पनि कृत्रिम फूल मालाको व्यापार सन्तोषजनक नै रहेको बताउनुभयो । उहाँले प्रतिगोटा न्युनतम् ५० देखि ७०० रुपियाँसम्मको कृत्रिम फूल माला बिक्री गर्दै आएको जानकारी दिनुभयो ।

यता गाउँघरमा तिहारमा प्रयोग गर्नेगरी रोपिएको सयपत्री र मखमली फूल भर्खर मात्र फुल्न थालेको स्थानीय बताउँछन् । यसवर्ष तिहार छिटो भएकाले सयपत्री र मखमली फूल फक्रनलाई बाँकी नै रहेको स्थानीयको भनाइ छ । फुङ्लिङ नगरपालिका–५ का स्थानीय बिक्रम लिम्बूले घर तथा कोठा सजाउनलाई कृत्रिम फूल माला राम्रै हुने बताउनुभयो । भाइटीका लागि भने सयपत्री र मखमली फूलको खोजी भइरहेको लिम्बूले बताउनुभयो ।

यता सयपत्री, मखमलीजस्ता प्राकृतिक फूलको अभाव भएकै कारण कृत्रिम फूलमाला खरिद गरिरहेको सर्वसाधारण बताउँछन् । गाउँमा घर–घरमा सयपत्री र मखमली रोपेको भए पनि आंशिक मात्र फुल्न थालेको अर्थात कोपिला अवस्थामै रहेकाले कृत्रिम फूल माला खरिद गर्न बाध्य हुनुपरेको उनीहरुको भनाइ रहेको छ । व्यापारीले भने कृत्रिम फूल माला तिहारमा मात्र नभई अन्य कार्यक्रममा पनि पटक पटक प्रयोग गर्न सकिनेभन्दै उपभोक्तालाई आकर्षित गर्ने गरेका पाइएको छ ।