• १ कात्तिक २०८२, शनिबार

झिलिमिली तिहार

blog

तिहार फूलहरूको पर्व हो । त्यसैले तिहारलाई नेवारहरू ‘स्वन्ति नखः’ भन्ने गर्छन् । नेपाल भाषाको ‘स्वन्ति’ शब्द ‘स्वाँः ति’ बाट अपभ्रंश भएर बनेको संस्कृतिशिरोमणि हरिराम जोशीको मत छ ।

चाडपर्वको मुलुक हो नेपाल । बहुजाति, भाषा, धर्म र संस्कृति भएको नेपालमा हरेक महिना चाडपर्व परेकै हुन्छ । दसैँपछि तिहार र छठले नेपाली समाजको मनोविज्ञान पर्वमय बनेको छ । तिहार नेपालको मौलिक चाड हो । यो चाड नेपालीले आआफ्नै तरिकाले मनाउँदै आएका छन् । तिहारलाई नेवारहरू ‘स्वन्ति नखः’ का रूपमा मान्ने गर्छन् । तराईमा दीपावलीका रूपमा तिहार मान्ने चलन छ । जसले जसरी मनाए पनि तिहारको सार एउटै हो । 

यमपञ्चक अर्थात् पाँच दिनसम्म मनाइने यो पर्वको आफ्नै विशेषता छ । यमपञ्चकको पाँच दिन यमराज आफ्नी बहिनी यमुनासँग बस्ने भएकाले यमपञ्चकको पाँच दिनमा स्वर्गारोहण हुने मानिसले नरक भोग गर्न नपर्ने धार्मिक मान्यता छ । 

तिहार फूलहरूको पर्व हो । त्यसैले तिहारलाई नेवारहरू ‘स्वन्ति नखः’  भन्ने गर्छन् । नेपाल भाषाको ‘स्वन्ति’  शब्द ‘स्वाँः ति’ बाट अपभ्रंश भएर बनेको संस्कृतिशिरोमणि हरिराम जोशीको मत छ । फूललाई नेपाल भाषामा ‘स्वाँ’ भनिन्छ । ‘ति’ को अर्थ जल, तरल पदार्थ वा झोल भन्ने हुन्छ । फूल धेरै फुल्ने, वरपर सबैतिर फुलैफूल हुने समयमा मनाइने चाड भएकाले यस पर्वलाई ‘स्वाँः न्ति नखः’ भनिएको हो । त्यही ‘स्वाँः न्ति नखः’ पछि अपभ्रंश भएर ‘स्वन्ति नखः’ भएको हुन सक्छ । कागतिहारदेखि भाइटीकासम्म पाँच दिन मनाइने यो पर्वमा पूजा गर्दा मात्र होइन; घर सजाउन, मण्डल सजाउन फूलको प्रयोग अधिक हुन्छ । यो पर्व सकिएपछि फूल पनि बिस्तारै फुल्न छाड्छन् । अझ सयपत्रीको माला, मखमलीको माला तिहारका लागि अनिवार्य जस्तै हुन्छ । यसका साथै गोदावरीलगायत फूलको अधिक प्रयोग हुने यो पर्वलाई फूलहरूको पर्वका रूपमा चित्रण गर्न सकिन्छ । 

तिहार उज्यालोको पर्व पनि हो । तिहारको समयमा नेपालमा माटोबाट बनेको विशेष प्रकारका दियो प्रयोग गरिन्छ । यसलाई स्थानीय भाषामा ‘पालाचा’ भनिन्छ । त्यस्ता ‘पालाचा’ अर्थात् पाला बालेर दीपावली मनाउने चलन छ । पालामा रायोको तेल, कपासबाट बनाइएको बत्ती राखेर साँझपख घरको मूलढोकाका दुईतिर र झ्यालका दुई कुनामा बाल्ने चलन छ । अहिले भने पालाका अतिरिक्त आधुनिक झिलिमिली बत्ती पनि बाल्ने चलन बढ्दै गएको छ । 

नेपाली समाजमा तिहारको चलन प्राचीनकालदेखि हुँदै आएको छ । तिहारमा बनाइने सेलरोटी, सिन्की रोटी, फिनी आदिको प्रयोगले यो चाडलाई नेपालको मौलिक चाडका रूपमा उभ्याएको छ ।  कागको पूजा गरेर प्रारम्भ हुने तिहारले मानिसले आफ्नो मात्र होइन, आफ्ना लागि उपयोगी अन्य प्राणीको अस्तित्व पनि स्वीकार गर्नुपर्ने सन्देश प्रवाह गर्छ । पहिलो दिन कागको पूजा गर्नु, दोस्रो दिन कुकुरको पूजा गर्नु अनि तेस्रो दिन गाईको पूजा गर्नुले नेपाली समाजले मानवका लागि उपयोगी प्राणीहरूको अस्तित्वलाई स्वीकार गर्ने परम्परा रहेको पाइन्छ । कागलाई सन्देशवाहक पन्छीका रूपमा मान्ने पुरानो चलन छ । त्यस्तै कागले कुनै पनि घटनाको पूर्वसूचना दिन्छ भन्ने मान्यता छ । यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गर्ने प्रचलन छ । काग जस्तै कुकुर पनि मानिसका लागि उपयोगी जनावर हो । कुकुर मानिस जस्तै समाजमा मिलेर बस्न सक्ने प्राणी हो । स्वामीभक्त, इमानदार कुकुरले विभिन्न किसिमले मानिसको सुरक्षा गर्छ । अपराधीहरू पक्राउ गर्ने काममा समेत कुकुरको प्रयोग हुने गर्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइने चलन छ । प्राकृतिक प्रकोपको पूर्वसूचना पनि कुकुरले दिने गर्छ । त्यसैले यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । यमपञ्चकको तेस्रो दिन अर्थात् औँसीका दिन गाईलाई लक्ष्मीका रूपमा पूजा गर्ने चलन छ । यस दिनलाई गाईतिहार पनि भनिन्छ । यस दिन बिहान सबेरै उठेर नुहाई शुद्ध भई गाईको पूजा गरी घरमा बनाइएका विभिन्न परिकार गाईलाई खुवाउने चलन छ । हिन्दु धर्ममा गाईलाई गौमाता भन्ने गरिन्छ । हाम्रो समाजले गाईलाई पशुधन मानेको छ । गाईलाई पवित्र मानेकै कारण घर शुद्ध गर्नका लागि गाईको गोबरले घर लिप्ने, पोत्ने गरिन्छ । आफन्तको स्वर्गारोहणपश्चात् शुद्ध बन्न गौमूत्र सेवन गर्ने चलन छ । लक्ष्मीपूजाकै दिन गाईलाई लक्ष्मीको रूपमा पुज्ने प्रचलनले नेपालीको सभ्यताको विकास कसरी भएको रहेछ भन्ने कुरा देखाउँछ । 

साँझपख घर घरमा लक्ष्मी भित्र्याउने काम हुन्छ । घरमा लिपपोत गरी, शुद्ध बनाई साँझमा देवी लक्ष्मीलाई घरमा भित्र्याउने चलन यहाँ छ । यस दिनको साँझपख घरको पूजाकोठामा लक्ष्मीको प्रतिमा स्थापना गरी देवी लक्ष्मीको आराधना गरिन्छ । लक्ष्मीलाई धनधान्यकी देवी मानिन्छ । सुख, सम्पत्ति र ऐश्वर्यको अभिवृद्धिको कामनासहित लक्ष्मीको पूजाअर्चना गर्ने गरिन्छ । यस दिन दराज, सेफ आदिको पूजा गर्ने प्रचलन छ । 

लक्ष्मीकै पूजा गर्दा पनि हामी आफ्नै मौलिकपनमा रमेर पूजा गर्दै पर्व मनाउँछौँ । नेवार समुदायमा नयाँ डालोमा राखिएको धानमाथि पाथीमा राखिएको नयाँ धानको चामल र त्यसमाथि देवी लक्ष्मीको प्रतिमा राखेर विधिपूर्वक पूजा गर्ने चलन छ । त्यस दिन घरमा भएका पुराना मुद्रा, ढकतराजुको पनि लक्ष्मीपूजा स्थलमा राखेर पूजा गर्ने चलन छ । सो दिन देवी लक्ष्मीलाई मन पर्ने फूल, मिठाई, भोगटे, बिमिरो, अन्य फलफूल राखेर पूजा गरिन्छ । दसैँको नवमीका दिन दसैँघरमा काटेको बोका, हाँस वा कुखुराको सुकाइराखेको मासुको ‘छुयाला’ बनाएर देवी लक्ष्मीलाई समय्बजी चढाउने चलन छ । सोही ‘छुयाला’ र अन्य परिकारसहित प्रसादका रूपमा समय्बजी खाने परम्परा नेवार समुदायमा छ ।

तिहारको चौथो दिन गोवर्धन पूजा गरी मनाइने चलन छ । यस दिन आँगनमा गाईको गोबरले लिपपोत गरी गाईकै गोबरबाट पर्वत जस्तै बनाई पूजा गर्ने चलन छ । यसका बारेमा पनि रोचक धार्मिक आख्यान छ । द्वापरयुगमा गोकुलमा मुसलधारे पानी परेपछि त्यहाँका बासिन्दालाई पानीबाट जोगाउन श्रीकृष्णले एउटा औँलाले गोवर्धन पर्वत उचालेका थिए । उक्त पर्वत उचालेपछि सोही पर्वतको ओत लागेर पानीबाट बचेको पौराणिक कथा छ । सोही समयदेखि गोवर्धन पर्वतको पूजा गर्ने परम्परा बसेको मान्यता छ । सोही दिन गोरुको पनि पूजा गर्ने र साँझमा देउसी खेल्ने चलन छ ।

तिहारको चौथो दिन नेपालले जनताका तर्फबाट नयाँ संवत् पाएको दिन हो । शङ्खधर साख्वाले गरिब जनतालाई ऋणबाट मुक्त गरेपछि नयाँ संवत् चलाएका थिए । यही उत्सव नेपालभर मनाउने चलन छ । नेपालीहरू रैतीबाट नागरिक बनेको समय पनि तिहार नै हो । त्यसैले तिहारलाई स्वतन्त्रताको चाडका रूपमा चित्रण गर्ने चलन छ । बिहान सबेरै घाम झुल्कनुपूर्व नेवार समुदायमा ‘नसंचा हालेगु’ कार्यक्रम हुन्छ । यो कार्यक्रम बिहान सबेरै नगर परिक्रमा गरेर सम्पन्न हुन्छ । कार्यक्रममा विशेष सन्देश बोकेको गीत गाइने गरिन्छ । यस दिन विशेष गरेर नेवार समुदायका मानिस ‘न्हु दँ या भिन्तुना’ अर्थात् नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने गर्छन् ।

तिहारको चौथो दिन नेवार समुदायका लागि अत्यन्त ठुलो पर्व हो । यस दिन बेलुका यो समुदायमा ‘म्हःपूजा’ गर्ने परम्परा छ । कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने यो पर्वको आफ्नै विशेषता छ । ‘म्हःपूजा’ नेवार समुदायमा हिन्दु र बौद्ध दुवै समुदायले मनाउने गर्छन् । ‘म्हःपूजा’ नेपाल भाषाको शब्द हो । ‘म्हः’ भनेको शरीर र पूजा भनेको पुज्ने काम भन्ने हुन्छ । यसरी ‘म्हःपूजा’ लाई अथ्र्याउँदा आफ्नो शरीरको पूजा भन्ने हुन्छ । कसै कसैले यसलाई आत्मपूजाका रूपमा पनि लिएका छन् । मानिसभित्र रहेको आत्मा अमर छ, अविनाशी छ । मानिसको देह मरे पनि आत्मा कहिल्यै मर्दैन भन्ने धार्मिक मान्यता छ । ‘म्हःपूजा’ भनेको पनि त्यही अमर आत्माको पूजा हो भन्ने विचार पनि छ । मानिस स्वयम् आफूमा ब्रह्माण्ड हो । त्यसैले मानिस स्वयम्ले आफ्नो पूजा गर्दा ब्रह्माण्डको पूजा हुने विश्वास पनि गरिन्छ । 


पूर्वतिर फर्केर गाईको गोबरले शुद्ध बनाई मण्डल बनाई पूजा गर्ने परम्परा छ । मण्डल बनाउँदा परिवारको सङ्ख्याबाहेक तलतिर र माथितिर थप दुई वटा मण्डल लेखिन्छ । यी दुई वटा मण्डलमध्ये माथिल्लो मण्डल कुलदेवताका लागि र तल्लो मण्डल यमराजका लागि लेखिने गर्छ । यसरी बनाइएका मण्डललाई फूल, सिन्दूर, धुप, जजंका आदिले सजाइने गरिन्छ । यसरी मण्डल बनाइसकेपछि परिवारका सबै सदस्य लहरै पलेँटी कसेर बस्ने गर्छन् । घरको मुलीले सुरुमा सुकुन्दाको पूजा गरेपछि मण्डलमा पूजा गरिन्छ । मण्डलको मध्य भागमा कपडाबाट बनेको लामो बत्ती (खेलुइता) बालिन्छ । त्यसपछि फूल, अक्षता, ‘ल्वँःचा मारी’, अमला, ओखर, ताँय् (धानको फूल), फलफूलका टुक्रालगायत सामग्रीबाट घरकी मुली महिलाले तीन पल्ट माना, करुवा, पाथीबाट आआफ्नो चलन अनुसार विशेष प्रकारले परिवारका सदस्यहरूको दायाँ र बायाँ घुँडा, दायाँ र बायाँ काँधमा छुवाएपछि टाउकोमा समर्पण गर्ने अर्थात् चढाएर पूजा गर्ने चलन छ । त्यसपछि सगुन दिने काम हुन्छ । यस दिन नेवारले तीन किसिमका सगुन ग्रहण गर्छन् । दही सगुन, अन्डा सगुन र बिमिरोलगायत फलफूलको सगुन । यसरी सगुन लिँदा सुरुमा बालिएको लामो बत्ती निभ्नु हुन्न भन्ने धार्मिक मान्यता छ । त्यसैले सो बत्ती लामो राखिएको हो भन्ने भनाइ छ । ‘खें’ सँग अर्थात् अन्डाको सगुन लिँदा अन्डासँगै माछा, मासु, बारा, रक्सी राखिएको हुन्छ । यी पाँच थरी खानेकुरालाई पञ्चतत्वका रूपमा लिइन्छ । यहाँ अन्डालाई वायु, माछालार्य जल, बारालाई आकाश, मासुलार्य पृथ्वी अनि रक्सीलाई तेजको प्रतीकका रूपमा ग्रहण गरिन्छ । सगुन लिँदा पुरुषले दायाँ हातमा माछामासु र बायाँ हातले रक्सी ग्रहण गर्ने चलन छ । महिलाले त्यसको ठिक उल्टो दायाँ हातले रक्सी र बायाँ हातले माछामासु ग्रहण गर्ने चलन छ ।

सगुनको कार्यक्रम सकिएपछि दही सगुन भन्दै घरकी मुली महिलाद्वारा दहीचिउरा हत्केलामा राखिदिने गरिन्छ । त्यसपछि बिमिरो, भोगटेलगायत फलफूल र त्यसमाथि राखिएका ‘जजंका’ अर्थात् यज्ञोपवित परिवारका सबैले ग्रहण गर्ने चलन छ । अन्त्यमा एउटा बिमिरोलाई तलदेखि माथिसम्म गुल्ट्याइने गरिन्छ । त्यही बिमिरो काटेर दहीमा चोपी प्रसाद खाने चलन छ । ‘म्हःपूजा’ को कर्म सकिएपछि परिवारका सबै जना मिलेर विविध परिकारसहित भोज खाने चलन छ । 

‘म्हःपूजा’ वास्तवमा आफूभित्र रहेको चेतनाको पूजा हो । ईश्वर मानवभित्र रहेको हुन्छ । आफूभित्र रहेको ईश्वरको पूजा गरेर आफ्नो उद्धारका लागि आफैँ अघि सर्नुपर्ने सन्देश ‘म्हःपूजा’ ले बोकेको छ । ‘म्हःपूजा’ बाट जीवनमा नयाँ उत्साह र उमङ्ग थपिने एवं जीवनमा आइपर्ने चुनौतीसँग लड्न सक्ने शक्ति मिल्ने जनविश्वास छ । यसरी मानिसको पूजा गर्ने, मानवलाई सिङ्गो ब्रह्माण्डको प्रतीक मानेर स्वयम्को पूजा गर्ने चलन नेपालबाहेक संसारमा कतै छैन । जबसम्म मनिसले आफूलाई चिन्न सक्दैन तबसम्म अरूलाई चिन्न सकिन्न भन्ने भाव ‘म्हःपूजा’ ले बोकेको देखिन्छ । विश्वका लागि यो अनौठो तर प्रेरणादायी अवश्य छ । यो चलन पनि नेपालीको मौलिक चलन हो । 

यमपञ्चकको पाँचौँ दिन नेपालीहरू भाइटीका पर्व मनाउने गर्छन् । यस दिन दाजुभाइलाई दिदीबहिनीले विशेष आदरसाथ सप्तरङ्गी टीका लगाई पूजा गर्ने चलन छ । बिहे गरेर गएका चेलीसमेत माइत आई आफ्ना दाजुभाइको आरोग्य जीवन, सुस्वास्थ्य, प्रगतिको कामना गर्दै पूजा गर्ने चलन छ । पूजा सकिएपछि मखमली फूलको माला लगाइदिई मिठाई र फलफूल सगुनका रूपमा दिने गरिन्छ । आफूलाई पूजा गर्ने दिदीबहिनीलाई पनि दाजुभाइले टीका लगाई दक्षिणा, उपहार दिने परम्परा छ । भाइटीका दाजुभाइलाई दिदीबहिनीले टीका लगाएर पूजा गर्ने दिन मात्र होइन, यो त दाजुभाइले दिदीबहिनीलाई पनि पुज्ने पर्व हो । नेवार समुदायमा कतै कतै अझै पनि दाजुभाइलाई दिदीबहिनीले पूजा गरिसकेपछि दाजुभाइले दिदीबहिनीको पूजा गर्ने चलन अहिले पनि छ । यो चलन प्राचीन भएको मत संस्कृतिविद् हरिराम जोशीको छ । यो पनि नेपालीको मौलिक परम्परा हो । मखमली फूल जस्तै कहिल्यै नओइलाओस् भन्ने कामना दिदीबहिनीले गरे जस्तै आफ्ना दिदीबहिनीका लागि पनि सोही कामना गरिन्छ ।

यसको मौलिकतालाई बल पुर्‍याउने अर्को महत्वपूर्ण पक्ष भनेको देउसी र भैलो हो । विशेष गरेर महिला दिदीबहिनीले भैलो र पुरुषले देउसी खेल्ने चलन छ । भैलो र देउसी भट्याउँदा पनि स्थानीय नेपाली परिवेश झल्कने गरी भट्याउनु यसको विशेषता हो ।  तिहार नेपालीको मौलिक पर्व हो । यो उज्यालोको पर्व हो, फुलैफूलको पर्व पनि हो । वास्तवमा यो पर्व मानिसका अतिरिक्त अन्य प्राणीको अस्तित्व पनि स्वीकार गर्ने पर्व हो । पन्छीमा काग एवं जनावरमा कुकुर र गाईलाई पूजा गर्नुले यही कुराको सङ्केत गर्छ । दाजुभाइ र दिदीबहिनीबिचको पवित्र प्रेमलाई पनि यो पर्वले बोकेकै छ ।   

लेखक बाट थप