• १ कात्तिक २०८२, शनिबार

विद्यार्थीको फूल बगैंचा : तिहारमा धमाधम बिक्री

blog

गुल्मीको तुराङ बहुप्राविधिक शिक्षालयका विद्यार्थीको फूल बगैँचा । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), कात्तिक १ गते। गुल्मीको तुराङ बहुप्राविधिक शिक्षालयका विद्यार्थीलाई अहिले तिहारमा फूल बेच्ने चटारो छ । विद्यार्थीले बर्सेनि चन्द्रकोट गाउँपालिका–८, मजुवामा रहेको शिक्षालयमा फूल सुन्दर बगैँचा निर्माण गरेका छन् ।  

शिक्षालयको ‘पढ, सिक, कमाउ र तिर’ अभियान अन्तर्गत तीन वर्षे डिप्लोमा कृषिबाली विज्ञान अध्ययन गर्ने विद्यार्थी र शिक्षालयको सहयोगमा तिहारलक्षित गरेर रोपिएको तीन हजार बढी सयपत्री फूलले बगैँचा ढकमक्क मात्रै नभएर मजुवा बजारकै शोभा बढाएको छ । 

२०७८ सालमा स्थापित सिटिइभिटीको आङ्गिकको रूपमा रहेको प्राविधिक शिक्षालयले विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउने उद्देश्यअनुरूप १० रोपनी जग्गा भाडामा लिएर कृषिसम्बन्धी अभ्यास गराउनेगरेको छ। विशेषगरी अहिले नै आय–आर्जन नभएर कृषिलाई उद्यमशिलतासँग जोड्ने र स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्यले विद्यार्थीमार्फत विभिन्न काम गर्दैआएको शिक्षालय प्रमुख त्रिभुवन चौधरीले बताउनुभयो । उहाँले उत्पादन गर्ने मात्र नभएर बजारसँग समेत जोडेर हेर्न अहिले चाडपर्वलाई लक्षित गर्दै मखमली फूल र सयपत्री फूल रोपिएको बताउनुभयो । 


चार रोपनी जग्गामा फूल र बाँकी जग्गामा तरकारी उत्पादन गरिएको छ । बगैँचामा उत्पादन भएको फूलको माग अत्यधिक रहेको छ । स्थानीय बजार बाहेक  बुटवल, पोखरा, नवलपरासी र चितवनमा समेत फूलहरू पठाउने गरिएको छ । अहिले उत्पादनभन्दा बजारको माग बढी भइसकेको र शिक्षालयको आफ्नै सवारी साधन नभएकाले फूल टाढा–टाढा पुर्‍याउन नसकिएको प्रमुख चौधरीले बताउनुभयो । 

अहिले फूलनजिक प्रतिकिलो ३०० रुपियाँ र टाढा ३५० बिक्री भइरहेको छ । धेरै फूलहरू फुल्न थालेकाले तिहारकै दिनसम्म खपत हुने शिक्षालय प्रमुखले जानकारी दिनुभयो। शिक्षालयमा गत वर्ष ४० हजार बढीको फूल बिक्री भएको थियो । त्यस्तै शिक्षालयमा तरकारी पनि उत्पादन हुँदैआएको छ । उत्पादन भएको तरकारी सबैभन्दा पहिला शिक्षालयमा अध्ययनरत विद्यार्थीहरू, प्रशिक्षक र कर्मचारीलाई बजारको मूल्यभन्दा ५० प्रतिशत कममा उपलब्ध गराउने गरिएको छ । शिक्षालय बाहिर तरकारी बजारको मूल्यभन्दा २० प्रतिशत कममा बजार पठाइएको शिक्षालयले जनाएको छ।

शिक्षालयको फर्ममा अहिले काउली, बन्दागोभी, ब्रोकाउली, भाण्टा, सिमी, रैथाने जातको स्थानीय सिमि, डल्ले खुर्सानी, काक्रो र टमाटर लगाएको  छ । शिक्षालयले बीउ बिजन र अन्य कृषि यन्त्रहरू व्यवस्थापन गर्ने गरेको, प्रशिक्षकले सहजीकरण गर्ने तथा विद्यार्थीको श्रम व्यवस्थापन गर्ने गरेको छ ।  साथै शिक्षालयको भौतिक पूर्वाधार व्यस्थापनका लागि स्थानीय व्यक्तिहरूले ४४ रोपनी जग्गा निःशुल्क रूपमा उपलब्ध गराएका छन् । साथै चालू आर्थिक वर्षबाट शिक्षालयको भवन निर्माणका लागि डिपिआर भैसकेको र भवन निर्माणका लागि प्रक्रिया अगाडि बढिरहेको छ। अहिले शिक्षालयमा गुल्मीसहित मुगु, बाग्लुङ्ग नवलपरासी, रूपन्देही, कपिलवस्तु, अछाम र प्युठान लगायतका विद्यार्थीले पठनपाठन गरिरहेका छन् । शिक्षालयमा कृषितर्फ बालीविज्ञान र पशुविज्ञान कार्यक्रमको अध्यन अध्यापन हुँदै आइरहेको छ ।