अनिल पराजुली
हेटौँडा, कात्तिक १ गते । मकवानपुरको बकैया र हेटौँडामा करेन्ट लागेर दुई जना घाइते हुनुभएको छ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–६ बेलबोट शुक्रबार दिउँसो करेन्ट लागेर काभ्रे महाभारत गाउँपालिका बस्ने २१ वर्षीय आयुष लामा घाइते हुनुभएको हो ।
भित्री सडक खण्डमा बेलबोबाट काठ लोड गरी हेटौँडा आउँदै गरेको बा.प्र.०३–००१ ख २१६७ नं. को ट्रकको छतमा बसेर घर घरमा लगेको विद्युतको तार पन्छाउँदै अगाडि बढ्ने क्रममा एक्कासी ११ हजार भोल्टको तारमा छोइ करेन्ट लाग्दा लामा घाइते भएका हुन् । बागमती प्रदेश प्रहरीका अनुसार करेन्ट लागेर लामा ट्रकमाथिबाट तल सडकमा खसेर घाइते भएका हुन् ।
उहाँको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको दुबै खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको अस्थायी प्रहरी पोस्टले जानकारी दिएको छ । ट्रक र ट्रक चालक (साहु) हेटौँडा–५ बस्ने ४० वर्षीय रमेशप्रसाद चौहानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, शुक्रबार दिउँसो हेटौँडा उपमहानगरपालिका–१०, कर्रा चोकमा करेन्ट लागेर एक जना घाइते हुनुभएको छ । हेटौँडा उपमहानगरपालिका–१६ उत्तर पानी बस्ने २५ वर्षीय विमल बम्जन पसल छेउमा रहेको तारमा छुन पुग्दा करेन्ट लागेर घाइते भएका हुन् ।
कर्रा चोकस्थित श्रीराम पान पसलमा पान किन्न आएका बम्जन पसल छेउको तार छुन पुग्दा घाइते भएको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ । घाइतेको हेटौँडा अस्पतालमा उपचार पश्चात् थप उपचारका लागि मोडेल अस्पताल रिफर गरिएको छ ।