• २ कात्तिक २०८२, आइतबार

दुई अजिङ्गरको उद्धार

blog

अजिङ्गरको उद्धार गरिदैं ।

अविनाश चौधरी

धनगढी, कात्तिक २ गते । कैलालीमा धान खेत र केराबारीमा भेटिएका दुई वटा अजिङ्गर सर्पको उद्धार गरिएको छ । टीकापुर नगरपालिका –४ र ९ बाट दुर्लभ अजिङ्गरको उद्धार गरिएको हो । 

एउटा अजिङ्गर काटेको धान खेत र अर्को अजिङ्गर केराबारीबाट उद्धार गरिएको संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार स्थानीयले सर्प भेटिएको जानकारी गराएपछि सर्प उद्धारकर्मी विजय विक, सत्तीका प्रहरी इन्चार्ज यमबहादुर खड्का, प्रहरी चौकी कालाकुण्डाका इन्चार्ज दीपेन्द्र साउँदलगायतको टोलीले अजिङ्गगरको उद्धार गरेको हो । 

उद्धार गरिएको अजिङ्गरलाई सत्ती कर्णाली सामुदायिक वनमा छोडिएको छ । वर्षा याममा यत्रतत्रबाट धान खेतसम्म पुगेका अजिङ्गर सर्प धान काट्ने बेलामा खेतमा भेटिने गरेका टीकापुरका सर्प उद्धारकर्मी लक्ष्मण उपाध्यायले बताउनुभयो । 

यो बेला खेतमा अजिङ्गर रहने गरेकाले मेसिनले सावधानीपूर्वक धान काट्न र अजिङ्गरलाई हानी नोक्सान नगर्न उहाँको आग्रह छ ।