नेपाल जस्तो विकासशील मुलुकमा स्थायित्व र दिगो प्रगति केवल भावनामा आधारित राजनीतिक प्रणालीले सम्भव छैन । भावनाले अल्पकालीन जनसमर्थन र लोकप्रियता त दिन सक्छ तर दीर्घकालीन नीति र विकासका लागि चेतनामा आधारित, वैज्ञानिक, समावेशी र सन्तुलित राजनीतिक प्रणाली अपरिहार्य छ । इतिहासले देखाएको छ, शक्ति एक व्यक्तिमा केन्द्रित हुँदा अधिनायकवाद र अस्थिरता जन्मिन्छ । विश्वका केही उदाहरणहरूले यसलाई प्रमाणित गरेका छन् । सिरिया, अफगानिस्तान, सुडान र हालको बङ्गलादेशमा राजनीतिक असन्तुलन, धु्रवीकरण र संस्थागत कमजोरीले आन्दोलन, हिंसा, असुरक्षा र आर्थिक संकट निम्त्याएका छन् । यस्तो अस्थिर वातावरणले पर्यटन, वैदेशिक लगानी, रेमिट्यान्स र भन्सार राजस्वमा प्रत्यक्ष असर पु¥याउँछ, जसले दिगो विकास र आर्थिक समृद्धिलाई रोक्छ ।
नेपालमा पनि यस्तै अवस्था दोहोरिन नदिन राजनीतिक सुधार आवश्यक छ । ‘प्रि अनाउन्स्ड’ प्रधानमन्त्री प्रणाली वा ‘चेक एन्ड ब्यालेन्स’ सहितको कार्यकारी राष्ट्रपति प्रणाली उत्तम विकल्प हुन सक्छ । यसले नेतृत्वलाई प्रत्यक्ष रूपमा जनतासमक्ष जवाफदेही बनाउँछ । संस्थागत सन्तुलन कायम राख्छ । शक्ति सन्तुलन भएको प्रणालीले केवल अस्थिरता रोक्दैन, निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्छ । जातीय, धार्मिक र क्षेत्रीय विविधता भएको समाजमा समावेशी प्रणाली अपरिहार्य छ । यी विविधतालाई सम्मान नगरी शक्तिको असमान वितरण भयो भने, सामाजिक असन्तोष बढ्छ र दीर्घकालीन विकासमा बाधा पुग्छ ।
वर्तमान निर्वाचन प्रणालीमा केही सुधार आवश्यक छ । उम्मेदवारको योग्यताको मापदण्ड स्पष्ट हुनु पर्छ । उम्मेदवारले आफ्नो सम्पत्ति स्पष्ट र कानुनी मुद्दा नभएको प्रमाण पेस गर्नुपर्ने व्यवस्था हुनु पर्छ । यसले बहुदलीय प्रणालीमा पनि योग्य र पारदर्शी व्यक्तिलाई मात्र प्रतिनिधित्व गर्ने अवसर सुनिश्चित गर्छ । गुणस्तरीय नेतृत्व सुनिश्चित गर्न सामानुपातिक सांसदको सङ्ख्या घटाउनु आवश्यक छ । योग्य नेतृत्व मात्र दिगो र स्थिर सरकार निर्माण गर्न सक्छ, जसले राष्ट्र निर्माण, दिगो नीति र आर्थिक विकास सुनिश्चित गर्छ ।
राजनीतिक दलहरूले निजी वा विदेशी दबाबमा नभई राज्यकोषमै आधारित भएर काम गर्दा भ्रष्टाचार घट्छ र नीति जनमुखी बनाउँछ । यसले उद्योग, व्यापार र लगानीमा स्वतन्त्रता दिन्छ, लगानीकर्तालाई सुरक्षित वातावरण प्रदान गर्छ र वैदेशिक लगानी आकर्षित गर्छ । नेपालका व्यवसायीले मुलुकमा स्वतन्त्र रूपमा लगानी गर्न सक्नुपर्ने वातावरण सिर्जना गर्नु अपरिहार्य छ । सरकारले व्यवसायी र युवा उद्यमीलाई सहज वातावरण दिनु, नीति र नियम सरल बनाउनु र उद्यमशीलता प्रोत्साहित गर्नु महìवपूर्ण छ ।
नेपालमा कृषि, जलविद्युत्, साना र ठुला उद्योगलाई केन्द्रमा राखेर दिगो विकास गर्न सकिन्छ । साना कृषिगत उद्यम, स्थानीय स्तरमा उत्पादन र कृषि–आधारित उद्योगलाई प्रोत्साहन गर्दा रोजगारी सिर्जना भई खाद्य सुरक्षा सुनिश्चित हुन्छ । कृषि क्षेत्रमा आधुनिक प्रविधि, बिउ, सिँचाइ सुविधा र बजार पहुँच प्रदान गर्नु अपरिहार्य छ । साना र मझौला उद्योगलाई कम ब्याजदरमा ऋण, प्राविधिक प्रशिक्षण र सहज बजार पहुँच उपलब्ध गराउनु पर्छ, जसले उद्यमशीलतालाई प्रवर्धन गर्छ । जलविद्युत् र ठुला औद्योगिक परियोजनामा निजी र वैदेशिक लगानी आकर्षित गर्दा दिगो ऊर्जा उत्पादन, निर्यात वृद्धि र रोजगारी सिर्जना हुन्छ । पर्यटन क्षेत्रलाई व्यवस्थित, सुरक्षित र दिगो वातावरणमा विकास गर्नु पर्छ, जसले वैदेशिक मुद्रा आम्दानी बढाउँछ र सांस्कृतिक संरक्षण सुनिश्चित गर्छ ।
नेपालका युवा, विशेष गरी विदेशमा बसेका युवाले नेपालको विकासमा महìवपूर्ण योगदान दिन सक्छन् । उनीहरूलाई लगानी र उद्यमशीलतामा भाग लिन प्रेरित गर्न स्थिर र विश्वासिलो सरकार आवश्यक छ । विदेशमा रहेका नेपाली युवा, आफ्नो सिप र अनुभव नेपालमा लगानी गर्न चाहन्छन् तर अस्थिरता र राजनीतिक अनिश्चितताले उनीहरूलाई रोक्छ । सरकारले युवालाई उद्यमशीलतामा स्वतन्त्रता दिनु, लगानीको वातावरण सहज बनाउनु र कर नीति, बैङ्किङ सुविधा तथा प्रोत्साहनात्मक कार्यक्रम उपलब्ध गराउनु आवश्यक छ । यसले युवालाई लगानी गर्न स्वतन्त्र महसुस गराउँछ र मुलुकको अर्थतन्त्रलाई बलियो बनाउँछ ।
युवाको भूमिका दिगो विकासमा महत्वपूर्ण छ । पछिल्लो समय देखा परेको जेनजी आन्दोलन केवल विरोधको स्वर मात्र होइन, भविष्य निर्माण गर्ने आकाङ्क्षा हो । उनीहरूको आवाजलाई नीति र विकासमा आत्मसात् नगरी दीर्घकालीन स्थायित्व सम्भव छैन । युवाले मागेको पारदर्शिता, जवाफदेहिता र अवसर मात्र नयाँ नेपाल निर्माण गर्न सक्षम छ । राज्यले युवाको आवाज दबाएर दीर्घकालीन समाधान सम्भव हुँदैन ।
दिगो विकासका लागि शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा लगानी अपरिहार्य छ । योग्य मानव संशोधन तयार गर्नुको अर्थ मात्र रोजगारी सिर्जना होइन, नवप्रवर्धन र उद्यमशीलता प्रवर्धन गर्नु हो । स्वास्थ्य र सामाजिक सुरक्षामा लगानीले जनताको जीवनस्तर सुधार्छ र दिगो समृद्धिको आधार तयार गर्छ । युवा सशक्तीकरण, उद्यमशीलता, विज्ञान र प्रविधिमा लगानी गरी नवप्रवर्धनलाई प्रवर्धन गर्नु आवश्यक छ ।
आर्थिक नीति र उद्योग विकासमा सन्तुलन आवश्यक छ । कृषिमा आधुनिक प्रविधि, सिँचाइ, बिउ र बजार पहुँच सुनिश्चित गर्नु पर्छ । साना र मझौला उद्योगलाई प्रोत्साहन गर्दा गाउँपालिका र स्थानीय तहमा रोजगारी सिर्जना हुन्छ । जलविद्युत् र ठुला उद्योगमा वैदेशिक र निजी लगानी आकर्षित गर्दा दिगो ऊर्जा र रोजगारको स्रोत सिर्जना हुन्छ । पर्यटनलाई व्यवस्थित र सुरक्षित वातावरणमा विकास गर्नु आवश्यक छ । सरकारले कम ब्याजदरमा ऋण उपलब्ध गराउने नीति, ‘इन्भेस्ट इन नेपाल’ नीति र उद्यमशीलता प्रवर्धनमार्फत आर्थिक वातावरण आकर्षिक बनाउन सक्छ । यसले युवालाई उद्यमशीलतामा स्वतन्त्र महसुस गराउँछ र लगानीकर्तामा विश्वास बढाउँछ ।
वैदेशिक सम्बन्धमा नेपालले बुद्धिमानीपूर्वक नीति अपनाउनु पर्छ । सकारात्मक विदेशी सम्बन्ध र सहयोगले लगानी, प्राविधिक हस्तान्तरण र बजार पहुँच सुनिश्चित गर्छ । विदेशी दबाबको सट्टा राष्ट्रिय हितलाई प्राथमिकता दिने नीति अपनाउनु आवश्यक छ । यसले दिगो विकास, आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न मद्दत गर्छ । राजनीतिक सुधार, युवा सशक्तीकरण, आर्थिक नीति र उद्यमशीलता, वैदेशिक सम्बन्ध सुधार र दिगो विकासका उपाय सँगसँगै लागु गर्दा मात्र नेपालले शिक्षा, रोजगारी, कृषि, उद्योग, जलविद्युत्, पर्यटन र समावेशी विकासमा लगानी गरेर दिगो समृद्धि हासिल गर्न सक्छ । नेताको व्यक्तिगत लोकप्रियता वा भावना मात्रलाई प्राथमिकता दिइयो भने, युक्रेन, अफगानिस्तान, सुडान वा बङ्गलादेशमा देखिएको अस्थिरता नेपालमा पनि दोहोरिन सक्छ । सचेत, समावेशी र सन्तुलित लोकतान्त्रिक प्रणाली, जहाँ युवाको विचार, सहभागिता र चाहना प्राथमिक हुन्छ, त्यहाँ मात्रै दिगो विकास, स्थायित्व र समृद्धि सुनिश्चित हुने छ ।
समग्रमा नेपालले चेतनामा आधारित राजनीतिक प्रणाली, योग्य नेतृत्व, युवा सशक्तीकरण, उद्यमशीलता प्रवर्धन, कृषि र जलविद्युत्मा लगानी, वैदेशिक सम्बन्ध सुदृढीकरण र समावेशी नीति अपनाउँदा मात्र दिगो समृद्धि हासिल गर्न सक्छ । नेपालका व्यवसायी र युवाले स्वतन्त्र रूपमा लगानी गर्ने वातावरण सिर्जना गर्नु पर्छ । विदेशमा रहेका नेपाली युवालाई पनि नेपालको विकासमा सहभागी हुन प्रोत्साहित गर्नु पर्छ । यसरी मात्र नेपालले आर्थिक विकास, सामाजिक न्याय, शिक्षा, रोजगारी, नवप्रवर्तन र दिगो लोकतन्त्रको बलियो आधार निर्माण गर्न सक्षम हुने छ । स्थिर सरकार, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्दा मात्र युवाले उद्यमशीलता र लगानीमा विश्वास राख्ने छन् र मुलुकको विकासमा सक्रिय योगदान दिने छन् ।