• ९ पुस २०८१, मङ्गलबार

सुशासनको अभ्यासमा पत्रकारिता

blog

खोज पत्रकारिताको प्रसङ्ग उठ्नेबित्तिकै ‘वाटरगेट काण्ड’ को नाम सबैभन्दा अगाडि आउँछ । अमेरिकाको राजनीतिक इतिहासमा निकै चर्चित यो घटना राजधानी वासिङ्टन डिसीस्थित वाटरगेट भवनमा रहेको डेमोक्रेटिक नेसनल कमिटी (डिएनसी) को मुख्यालयमा भएको घुसपैठले अमेरिकामा ठुलै तरङ्ग ल्याएको थियो । सन् १९७२ को राष्ट्रपति चुनाव नजिकिँदै गर्दा डेमोक्रेटिक पार्टीको चुनावी कार्यक्रम चोर्न सत्तारूढ राष्ट्रपति सम्बद्ध मानिसले त्यहाँ घुसपैठ गरेका थिए ।

वासिङ्टन पोस्टले समेत यो घटनालाई सामान्य ठानेर रिपोर्टिङका लागि अपराध बिटका बव वुडवार्डलाई खटाएको थियो । रिपोर्टिङका क्रममा बव र उनका साथी कार्ल बर्नस्टिनले यसका पछाडि ठुलो राजनीतिक शक्तिको हात रहेको पत्ता लगाए । सन् १९७२ जुन १७ को मध्यरातमा डिएनसीको मुख्यालयमा फोन ट्याप गर्दै गर्दा पक्राउ परेका पाँच व्यक्तिलाई सामान्य चोरी तथा टेलिफोनमा अवरोध पु¥याएको आरोप लागेको थियो । अदालतमा ती पाँच जनाको पक्षमा निकै महँगा वकिलले वकालत गरेका कारण पनि यस प्रकरणमा केही गडबडी रहेको बवलाई लागेको थियो । पछि बवलाई सघाउन वासिङ्टन पोस्टले अर्का युवा पत्रकार कार्ल बर्नस्टिनलाई खटायो । दुई वर्षसम्म यो प्रकरणमा उनीहरूले लगातार खोज अनुसन्धान गरी रिपोर्टिङ गरे । 

राष्ट्रपति चुनावमा रिचर्ड निक्सन विजयी भए पनि खोज समाचारले अमेरिकी राजनीति नैतिक रूपमा कतिसम्म तल झर्न सकेको रहेछ भन्ने अर्थ लाग्यो । त्यसपछि राष्ट्रपतिमाथि महाभियोग लगाउने चर्चा सुरु भयो । महाभियोग छल्न नपाएपछि तत्कालीन राष्ट्रपति निक्सनले राजीनामा बुझाए । त्यसपछि उनी राजनीतिमा कहिल्यै फर्कन सकेनन्, लेखकका रूपमा जीवन बिताए । अमेरिका जस्तो शक्तिशाली मुलुकका राष्ट्रपतिलाई राजीनामा गर्न बाध्य पार्ने यो प्रकरण बाहिर ल्याउने पत्रकारको वास्तविक नाम गोप्य राखिएको थियो । डिपथ्रोट नामको स्रोतबाट समाचार लेख्ने व्यक्ति एफवीआइको दोस्रो दर्जामा रहेका विलियम मार्क फेल्ट भएको तथ्य सन् २००५ मा सार्वजनिक भयो । आफू मर्नुभन्दा केही समय अघि मात्र डिप थ्रोट मैँ हुँ भनेर उनले वाटरगेट काण्डको रहस्योद्घाटन गरेका थिए । यो घटनालाई विश्वभर खोज पत्रकारिताको नमुना उदाहरणका रूपमा लिइन्छ । यसरी 

वुडवार्ड र बर्नस्टिनले खोज पत्रकारितामा नयाँ आयाम निर्माण गरेका थिए । तिनले विकास गरेको खोज पत्रकारिताको शैली आज विश्वभर पत्रकारिताको कक्षामा पढाइन्छ । 

खोज पत्रकारिता 

ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिज्म नेटवर्कका कार्यकारी निर्देशक डेभिड कप्लानको भनाइमा खोज पत्रकारितामा व्यवस्थित दृष्टिकोणका साथै गहिरो, मौलिक अनुसन्धान र रिपोर्टिङ आवश्यक हुन्छ । यसले तथ्य जाँच, रहस्य पत्ता लगाउने, सामाजिक न्याय र जवाफदेहितामा केन्द्रित, सार्वजनिक अभिलेखहरूको प्रयोग तथा डेटाको साथमा परिकल्पनाको गठन र परीक्षण गर्ने वैज्ञानिक विधि पछ्याउँछ । कप्लान भन्छन्, ‘उत्कृष्ट खोज पत्रकारिता शिक्षा, शक्तिको दुरुपयोग, पैसाको पछि लाग्ने, उत्कृष्ट व्यापार कथाहरूमा केन्द्रित हुन्छ ।’ राज्यका संयन्त्र खुकुलो हुँदै गएपछि खोज पत्रकारिताका विषयवस्तु यत्रतत्र पाइन थालेको छ । इन्भेस्टिगेटिभ रिपोर्टर्स एण्ड एडिटर्स (आइआरई) का पूर्र्व कार्यकारी निर्देशक ब्रान्ट हस्टन भन्छन्, “बितेका वर्षमा खोज पत्रकारिताको परिभाषामा परिवर्तन र विस्तार भएको छ । यसले समाज र न्यायप्रणाली दुर्गतितिर गइरहेको विषयका साथै त्यसबाट परेको असरलाई उदाङ्गो पार्ने र विश्लेषण गर्ने काम गर्छ ।”

उन्नाइसौँ शताब्दीका बेलायती कवि एवं समालोचक म्याथ्यु आर्नोल्डले “पत्रकारिता हतारमा लेखिने साहित्य हो” भनेका थिए । खोज पत्रकारिता हतारको पत्रकारिता होइन । खोज पत्रकारिता गर्न योजना, अनुसन्धान र रिपोर्टिङका स्थापित प्रक्रियाका साथै सत्य र प्रमाणसम्बन्धी मापदण्ड अपनाउनु पर्छ । जोन उल्मान र ज्यान कोल्बर्टका अनुसार कसैले लुकाउन चाहेको सार्वजनिक महत्वको विषयलाई पत्रकारले आफ्नै सक्रियतामा उदाङ्गो पार्नु नै खोज पत्रकारिता हो । उनीहरूका अनुसार खोज पत्रकारितामा तीन वटा आधारभूत तत्व हुनु पर्छ, (क) मौलिक अनुसन्धान हुनु पर्छ । अरू कसैले गरेको अनुसन्धानबाट प्राप्त जानकारीमा मात्र भर परेर सामग्री तयार गर्नु खोज पत्रकारिता होइन । (ख) खोज गरिएको विषय सार्वजनिक महत्वको हुनु पर्छ । महत्वहीन विषयमा जति धेरै मेहनत गरेर सामग्री तयार गरे पनि खोज पत्रकारिता मानिँदैन । (ग) पत्रकारले कसैले लुकाएको वा लुकाउन चाहेको जानकारी सतहमा ल्याइदिनु पर्छ । 

नेपालमा खोज पत्रकारिता

नेपालमा पत्रकारिताको अभ्यास क्रमशः फराकिलो हुँदै गएको सन्दर्भमा पछिल्लो समय खोज पत्रकारिता चासोको विषय बनेको छ । समाजमा दिनहुँ हुने घटनाका समाचार सङ्कलन र सम्प्रेषणमा सधैँ व्यस्त हुनुपर्ने पत्रकारलाई कुनै गम्भीर विषयमा लामो समयको अध्ययन अनुसन्धान गरी पर्याप्त प्रमाण जुटाएर खोज समाचार तयार पार्नु आफैँमा चुनौतीपूर्ण काम हो । 

सूचनामा आमनागरिकको चासो अनि सामाजिक सञ्जालको पहुँचका कारण समाचारको गहिराइमा पुग्नु सञ्चार उपभोक्ताको रुचिको विषय भएको छ । हुन पनि कसैले लुकाउन चाहेका वा गोप्य राखेका घटना र विषयमा जनचासो रहेको हुन्छ । त्यस कारण सार्वजनिक चासोका यस्ता विषयको गहिराइमा पुगेर अध्ययन अनुसन्धान गरी जानकारी गराउनु नै खोज पत्रकारिता हो । गलत कुराको पर्दाफास गरी खबरदारी गर्नु पत्रकारिताको व्यावसायिक धर्म पनि हो । 

२०४६ सालको राजनीतिक परिवर्तनपछि प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त खुलापनले समाज, राजनीति र अर्थतन्त्रलाई सशक्त बनाइरहँदा देशी/विदेशी स्वार्थ समूहले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक पाटोबाट समाजमा प्रभाव जमाउन खोजिरहेका थिए । त्यतिबेलासम्म पत्रकारिताको अध्यापन त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्नराज्य लक्ष्मी क्याम्पस र नेपाल प्रेस इन्स्टिच्युटको १० महिने पत्रकारिता तालिममा मात्र सीमित थियो । विश्वविद्यालमा पत्रकारिताको औपचारिक कक्षा नलिएका पत्रकार अभ्यासबाटै खारिएका थिए । त्रिविको पढाइ र एनपिआईको तालिममा पनि खोज पत्रकारिताको विषयवस्तु शून्य बराबर थियो । नेपाल जस्तो भाषणकारिता र राजनीतिक विषयमा रुचि राख्ने पाठकका लागि खोज पत्रकारिताको प्रयोग र त्यसको संस्थागत विकासका लागि सङ्गठित संस्थाको आवश्यकता थियो । राजनीतिक परिवर्तनसँगै फस्टाउन थालेको नेपाली पत्रकारितामा खोज पत्रकारिताको पनि खोजी भइरहेको थियो । त्यसका लागि पत्रकारमा सिप र अनुभवको कमी त थियो नै, साथै पर्याप्त लगानी पनि थिएन । पत्रकारितामा निजी क्षेत्रले हात हालेको भए पनि खोजमूलक रिपोर्टिङ पाउन मुस्किल थियो । २६ वर्षअघि स्थापना गरिएको खोज पत्रकारिता केन्द्र नेपालले खोज पत्रकारिताको अभ्यास सुरु गरेको हो । 

विश्व पत्रकारिताको इतिहासमा यो समय लामो नभए पनि नेपालको सन्दर्भमा यो छोटो समय होइन । २०४६ को परिवर्तनपछि पत्रकारिताको अभ्यासमा भएको परिमार्जनको खाँचोलाई यसले पूरा गर्ने काम ग¥यो । फिलिपिन्स सेन्टर फर इन्भेस्टिगेटिभ जर्नालिज्म (पिसिआइजे) पछि एसियामै खोज पत्रकारिताको संस्थागत अभ्यास गर्ने दोस्रो संस्था हो, खोपके नेपाल । खोज पत्रकारिताका लागि जनशक्ति सबैभन्दा महत्वपूर्ण पक्ष हो । केन्द्रले अहिलेसम्म सात सयभन्दा बढी पत्रकारललाई खोज पत्रकारिता तालिम दिइसकेको छ । तालिमबाट पत्रकारको क्षमता र दक्षता बढेको छ भने दैनन्दिनको पत्रकारितामा पनि गुणात्मक सुधार आएको बताउनुहुन्छ केन्द्रका सम्पादक किरण नेपाल । 

खोपकेले ‘ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिज्म नेटवर्क’ (जिआइजेएन), ‘इन्टरन्यासनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिष्ट’ (आइसिआइजे) जस्ता संस्थासँगको समन्वयमा खोज पत्रकारिताको अभ्यास गर्दै आएको छ । मनी लाउन्ड्रिङ (मुद्रा निर्मलीकरण) का लागि गरिने अफसोर कारोबार र त्यसमा संलग्नहरूलाई उजागर गर्ने पनामा पेपर्स, नेपालिक्स, प्याण्डोरा पेपर्सलगायत खोज रिपोर्ट नेपाली खोज पत्रकारबाट भएका अन्तर्राष्ट्रियस्तरको खोज पत्रकारिताका केही उदाहरण हुन् । जुन रिपोर्टलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत उत्तिकै प्राथमिकता दिएका थिए । पछिल्लो समय केन्द्रको सहयोगमा तयार पारिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी समाचार सामग्री प्रकाशित भएपछि राज्यका उपल्लो तहमा रहेका राजनीतिक र प्रशासनिक नेतृत्वको चरित्र उदाङ्गो हुन पुगेको छ । ८७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम सङ्कलन गरेको कुरा सार्वजनिक भएसँगै नेपाली समाजमा त्यसले ठुलै हलचल गराएको थियो । गलत काम गर्न उद्यत हुने जो कोही पनि उम्कन पाउँदैनन्, कानुनी कठघरामा उभिनै पर्छ भन्ने गतिलो सन्देश यो प्रकरणले दिएको छ । पछिल्लो सात वर्षमा केन्द्रबाट प्रकाशित करिब आठ सय खोज रिपोर्ट मात्र होइन, सञ्चारगृहको प्रयासमा उजागर गरिएका यस्तै खोज रिपोर्टले राजनीतिक तथा सामाजिक विकृति, विसङ्गति र आर्थिक अनियमिततालाई उजागर गर्दै आएका छन् । जसले सुशासनका पक्षमा बलियो इँटा थप्ने काम गरेको छ ।