गोरखापत्र अनलाइन
काठमाडौँ, कात्तिक २ गते । प्रेस काउन्सिल नेपालले आचारसंहिता एवं मिडिया अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका निम्ति काउन्सिलले प्रस्तावित कार्ययोजना सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पेश गरेको छ ।
काउन्सिलका पदाधिकारी, कर्मचारीसहितको टोलीले आज सिंहदरबारस्थित मन्त्रालयमा सञ्चारमन्त्री खरेललाई आगामी कार्यक्रमको कार्ययोजना पेश गरेको हो । काउन्सिलको प्रस्तावित कार्ययोजना ग्रहण गर्दै सञ्चारमन्त्री खरेलले काउन्सिलको अनुगमन कार्यलाई सहजीकरण गर्न मन्त्रालयले आवश्यक सहगोग गर्ने बताउनुभयो । उहाँले अनुगमन, तथ्य जाँच र निर्वाचन विशेष अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
प्रस्तावित कार्ययोजनाअनुरुप कात्तिकसम्म विशेष अनुगमन, मङ्सिरदेखि तथ्य जाँच तथा आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचन सन्दर्भमा विशेष अनुगमन गरिनेछ । अनुगमन कार्यका लागि आवश्यक प्रस्तावित बजेट र कार्यक्रम ढाँचा पनि काउन्सिलले बुझाएको छ ।
काउन्सिलका सदस्य शन्तराम बिडारीका अनुसार काउन्सिलको आचारसंहितासम्बन्धी अनुगमनलाई विशेष रुपममा अनुगमन गर्न, तथ्य जाँच र सरकारले निर्वाचन सफल पार्ने लक्ष्यमा निर्वाचनसम्बन्धी आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन प्रस्तावित कार्ययोजना पेश गरिएको छ । सञ्चारमन्त्री खरेलले हालै काउन्सिलको भ्रमणको सिलसिलामा काउन्सिलको कामलाई गतिशील र प्रभावकारी बनाउन आवश्यक कार्ययोजना ल्याउन काउन्सिललाई निर्देशन दिनुभएको थियो । सोहीअनुरुप काउन्सिलले कार्ययोजनासहित आफ्नो सक्रियता बढाएको हो ।