• २ कात्तिक २०८२, आइतबार

ग्रान्ड मास्टर स्मेरडोन डेभिडको एकल अग्रता

blog

काठमाडौँ, कात्तिक २ गते । नेपाल सम्बत् ११४६ अवसर पारेर न्हूदँ मूल समारोह समितिको आयोजना तथा नेपालभाषा मंकाः खलः यल र ललितपुर स्पोर्ट्स क्लबको संयोजनमा चौथो फिडे खुला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता पहिलो दिन ६ चरणको खेल सञ्चालन भएको छ। 

नेपाल, भारत र अष्ट्रेलियलियाका गरि ७८ जना खेलाडी सहभागि प्रतियोगितामा अस्ट्रेलियाका २५४१ रेटेड ग्रान्ड मास्टर स्मेरडोन डेभिड सीले एकल ५.५ अङ्क जोडेर पहिलो स्थानमा रहनुभयो । 

भर्खर मात्रै काजकिस्तानको अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा सहभागी भएर फर्केका युवा पुरुषोत्तम सिलवाल पाँच अङ्क बनाउँदै दोस्रो स्थानमा रहनुभएको छ । 

सिएम सिलवालसँगै नेपालका निकेन कुसाथाले पाँचौँ चरणमा जिएमसँग र छैठौँ चरणमा ललितपुरका सुरज महर्जन सँग बराबर गर्दै आफुले पाँच अङ्क  जोड्नुभएको छ । 

समान पाँच अङ्क जोडेर ललितपुरका अशोक मोहन श्रेष्ठ, दोलखाका सुमन मोक्तान र भक्तपुरका प्रेम खड्का पनि संयुक्त दोस्रो स्थानमा उभिनुभएको छ । 

यस्तै भक्तपुरका सुभनदीप थापा, मध्यपुर ठिमीका श्यामसुन्दर श्रेष्ठ र ललितपुरका सुरज महर्जन समान चार अङ्कसहित संयुक्त तेस्रो स्थानमा हुनुहुन्छ । 

ललितपुरका राजु ताम्राकार, पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकार, एसियम क्रिजन महर्जन लगायत १४ जना खेलाडीहरूले संयुक्त चौथो स्थानमा रहनुभएको छ । 

हरेक वर्ष निरन्तर आयोजना हुँदै आएको नेपाल भाषा खल यल फिडे र्यापिड रेटिङ प्रतियोगितामा विजेताले १० हजार, उपविजेताले सात हजार, तेस्रोले पाँच हजार रुपियाँ पुरस्कार पाउनेछन् । महिलातर्फ पहिलो, दोस्रो र चौथो हुनेले क्रमशः पाँच हजार, चार हजार र तीन हजार रुपियाँ पाउनेछन् । 

प्रतियोगिताका प्रमुख निर्णायक फिचर आर्बिटर सोराज ताम्राकारले अन्तर्राष्ट्रिय उच्च रेटेड खेलाडीहरु सहभागी भएको प्रतियोगितामा निर्णायक बन्नु कठिन हुने बताउनुभयो ।