चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक २ गते। ताप्लेजुङमा तिहारको रौनक सुरु भएको छ। तिहार पर्वको आगमनसँगै सदरमुकाम फुङ्लिङ बजार र गाउँघरमा देउसी भैलो नाचको रौनक सुरु भएको हो।
जिल्लामा देउसी भैलो तथा साँस्कृतिक नृत्यसहित तिहार पर्वको रौनकता छाएको हो। तिहार पर्वलाई रमाइलो बनाउन विभिन्न क्लब, समूह र सङ्घ संस्थाले देउसी, भैलो कार्यक्रम सुरु गरेका हुन्। साँस्कृतिक नृत्य गर्दा लगाउने पोसाक साथै मौलिक भेषभूषा समेतमा सजिएर देउसीभैलो कार्यक्रम सुरु गरिएको छ।
तिहारको सुनौलो अवसरलाई सदुपयोग गर्दै देउसी भैलो कार्यक्रम सुरु गरिएको सम्बन्धित क्लबले जनाएका छन्। तिहारलाई मनोरञ्जनपूर्ण बनाउने परम्परागत चलनलाई निरन्तरता दिँदै देउसीभैलो कार्यक्रम सुरु गरेको र देउसी भैलोबाट सङ्कलन हुने आर्थिकलाई सामाजिक हितका कामका लगानी गरिने पनि क्लबहरुले उल्लेख गरेका छन्।
तिहारको अवसरमा ग्रामीण क्षेत्रबाट स्थानीय क्लब तथा संस्थाहरुले देउसीभैलो कार्यक्रम लिएर सहर बजारसम्म पुगेका छन्। यसै क्रममा फुङ्लिङ नगरपालिका–१० फुरुम्बुबाट देउराली साँस्कृतिक युवा परिवारले देउसीभैलो कार्यक्रम लिएर सदरमुकाम फुङ्लिङ आएको छ। समाजका लागि आवश्यक पर्ने थालबटुका र पछिल्लो समय लोप हुन लागेको नौमती बाजा सेट खरिद गर्ने उद्देश्यले देउसीभैला नाच लिएर फुङ्लिङ बजार आएको परिवारका अध्यक्ष रत्न नुगो लिम्बूले बताउनुभयो।
परम्परा र आधुनिक कला संस्कृति समेतलाई समावेश गरी देउसी भैलो कार्यक्रम लिएर पहिलोपटक बजार आएको अध्यक्ष नुगोको भनाइ छ। देउसी भैलोको मनोरञ्जनसँगै परम्परा र कला संस्कृति संरक्षण गर्ने साथै आर्थिक सङ्कलन गर्ने उद्देश्य लिएर सदरमुकाम आएको परिवारका सचिव दिलकुमार दाहालले बताउनुभयो।
यसअघिका वर्षहरुमा परिवारले आफ्नै गाउँ र छिमेकी गाउँ फक्ताङ्लुङ गाउँपालिकासम्म देउसी भैलो खेलेर जुटेको रकमलाई परिवारलाई आवश्यक पर्ने बाध्यबाधन सहितका सामग्री खरिद गरिएको दाहालले जानकारी दिनुभयो। यसवर्ष केही बृहत योजनासहित सदरमुकाम बजार छिरेको र क्लबको योजना सफल बनाउनलाई योगदान गर्न बजारवासीलाई उहाँले आग्रहसमेत गर्नुभएको छ।
यसरी विभिन्न उद्देश्यका साथ आयोजना गरिने विभिन्न गीत, सङ्गीत, मौलिक प्रस्तुतिसहितको देउसी भैलो कार्यक्रमले तिहार गुञ्जयमान हुन थालेको छ। सहर बजार क्षेत्र मात्र नभई ग्रामीण भेगमा समेत तिहारको रौनक छाएको स्थानीय बताएका छन्। केही गाउँमा शनिबार बेलुकादेखि नै देउसी भैलो नाच सुरु भएको फक्ताङ्लुङ गाउँपालिका–१ नाङ्खोल्याङका स्थानीय सुधिर सावादेनले जानकारी दिनुभयो। अहिले सुरु भएको देउसीभैलो तिहारको भाइटीकाको बेलुकासम्म सञ्चालन हुने बताइएको छ।