• १२ असार २०८१, बुधबार

इटहरी फाइनलमा

blog

जुट विकास फुटबल एकेडेमी र पथरी–११ फुटबल क्लबबिचको खेल । तस्बिर: चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ १९ गते । जुट विकास फुटबल एकेडेमी सुनसरीको इटहरी ताप्लेजुङ गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताअन्तर्गत सोमबार भएको सेमिफाइनल खेलमा मोरङको पथरी–११ फुटबल क्लबलाई ट्राई बेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै इटहरी फाइनलमा पुगेको हो । 

निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि निर्णयका लागि खेल ट्राई बेकरमा धकेलिएको थियो । फाइनल यात्रा तय गरेको जुट विकास फुटबल एकेडेमी यसअघि आयोजक टोली मानाभरा स्पोर्टिङ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । यस्तै पथरी–११ फुटबल क्लब पाँचथर स्पोर्टिङ क्लबलाई हराउँदै सेमिफाइनल पुगेको थियो ।

अब मङ्गलबार हुने दोस्रो सेमिफाइनल खेल झापा बिर्तामोडको रेड स्टार फुटबल क्लब र इलामको रेड हर्ष फुटबल क्लबबिच हुने छ । भारत, दार्जिलिङको युनाइटेड खरसाङ फुटबल क्लबलाई रेड स्टार र झापा दमकको गोर्खा स्पोर्टिङ क्लबलाई हराउँदै रेड हर्ष फुटबल क्लब सेमिफाइनलमा पुगेका हुन् । फाइनल खेल बुधवार हुने आयोजक लाखे जात्रा सञ्चालन समितिले जनाएको छ ।

प्रतियोगिता विजेताले तीन लाख ११ हजार १११ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले एक लाख ११ हजार १११ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने समिति अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।