ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब तीन महिनापछि उडान सुरु भएको छ । मौसममा सुधार आएसँगै नेपाल वासुसेवा निगमले सोमबारदेखि सुकेटारमा उडान सुरु गरेको हो ।
गत जेठ महिनाको अन्तिम सातादेखि प्रतिकूल मौसमको कारण देखाउँदै नेपाल वायुसेवा निगमले सुकेटार विमानस्थलमा उडान बन्द गरेको थियो । बर्खा मौसमको अन्त्यसँगै मौसम अनुकूल भएपछि उडान सुरु गरेको निगमले जनाएको छ ।
सोमबार निगमको ट्विनअटर जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान भरेको हो । निगमका ताप्लेजुङस्थित निमित्त स्टेसन इन्चार्ज सचिन तिवारीका अनुसार काठमाडौँदेखि सात जना यात्रु बोकेर आएको जहाजले यहाँदेखि एक जना यात्रु लिएर फर्किएको छ । बन्द भएको लामो समयपछि पहिलो उडान भएकाले सोमबार थोरै यात्रु भएका स्टेसन इन्चार्ज तिवारीको भनाइ छ ।
उहाँका अनुसार अब साताको तीन दिन सोमबार, बिहीबार र शनिवार काठमाडौँ–ताप्लेजुङ नियमित उडान हुनेछ । यसअघिको भाडादरमा एक हजार रुपियाँ घटाएर ताप्लेजुङ–काठमाडौँका लागि आठ हजार ४०० रुपियाँ र काठमाडौँ–ताप्लेजुङका लागि आठ हजार ६०० रुपियाँ कायम गरिएको पनि निगमले जनाएको छ ।