• १२ साउन २०८१, शनिबार

कैदी मृत्यु प्रकरण: दुई जनाको नाममा मात्र किटानी जाहेरी, अनुसन्धान रनभुल्ल

blog

सङ्खुवासभा, साउन ३१ गते । जिल्ला कारागार खाँदबारीमा गत साउन २३ गते मृत्यु भएका २ कैदीको छानबिनका लागी ३ वटा छुट्टाछुट्टै अध्ययन तथा छानबिन समिति गठन भएका छन् । तर समितिले अनुसन्धानको काम भने अघि बढाउन सकेको छैन । 

जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गरियो । कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक ऋषिराम कँडेलको संयोजकत्वमा र गृह मन्त्रालयले कारागार विभागका निर्देशक कमल पाण्डेको संयोजकत्वमा अध्ययन समिति गठन गरी अनुसन्धान गरियो । यस बाहेक विभिन्न मानव अधिकार सङ्गठनहरू पनि अध्ययनका लागि आए । उनीहरू अहिले फर्किसकेका छन् ।

घटनाको केही दिन चरम चर्चामा रहेको यस घटना अहिले सेलाउँदै गएको जस्तो देखिन्छ । घटनाको केही दिनभित्रै दोषी सार्वजनिक गर्ने तयारी गरिए पनि एक हप्ता बित्दा पनि दोषी सार्वजनिक हुन सकेको छैन । यस अघि प्रहरी अनुसन्धानबाट कारागारमा खटिएका १० प्रहरी र ५ कैदी दोषी रहेको प्रारम्भिक निष्कर्ष निकालिएको थियो । सोही अनुसार उनीहरूविरुद्ध किटानी जाहेरी दिन प्रहरीबाट पीडित पक्षलाई भनिएको थियो ।

तर पीडित पक्षबाट कारागार प्रशासन प्रमुख र सुरक्षा इन्चार्जको नाम तोकी लगायत भनेर किटानी जाहेरी दिइएपछि छानबिन नतिजाविहीन बनेको छ । कारागार प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षा ईञ्चार्च लक्ष्मी चौधरीको नाममा किटानी जाहेरी दिइएपछि चौधरी पक्राउ परिसकेका छन् । घिमिरे भने घटनामा संलग्न नभएको पाइएपछि किटानी जाहेरी गलत हुने देखिएकाले पक्राउ परेका छैनन् । घिमिरे घटनाको समयमा कार्यालयमा नरहेकोले उनी विरुद्ध किटानी जाहेरी आउनु उचित नरहेको र पक्राउ पर्न नहुने भनेर प्रहरी प्रशासनलाई दबाब छ । यस कारण पनि घिमिरे पक्राउ परेका छैनन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार घिमिरेको खोजी भइरहेको छ । 

किन २ जनाको नाममा मात्र किटानी जाहेरी ?

जिल्ला कारागारमा भएको घटना अमानवीय भएको भन्दै सरोकारवाला सङ्घसंस्था र व्यक्तिहरू सबैको चासो बढ्यो । यस क्रममा सल्लाहकार तथा सहयोगीहरूको सङ्ख्या पनि अधिक हुने नै भए । प्रहरी स्राेतको अनुसन्धानबाट किटानी जाहेरी दिन भनिएकाहरू सबै दोषी नहुन सक्ने पीडित पक्षहरू (मादी नगरपालिका समेत)को अभिव्यक्ति थियो ।

यस क्रममा एक कानुनी परामर्शदाता (गैह्र सरकारी संस्था) ले कारागार व्यवस्थापन प्रमुख र सुरक्षा इन्चार्जको नाममा लगायत शब्द राखेर किटानी जाहेरी दिए उनीहरूको अनुसन्धानबाट अरू तानिने भन्दै सुझाए र उनीहरूले नै जाहेरीको कागजात बनाउन पनि सहयोग गरे । हाल उक्त परामर्शदाताले पनि जिल्ला छोडिसकेको बताइएको छ । 

यस घटनामा २ जनाको नाममा मात्र किटानी जाहेरी दिनु र अनुसन्धानको नतिजा चाँडो नआउनुले उक्त परामर्शदाता कतैबाट परिचालित त होइन ? भनेर चर्चा हुन थालेको छ ।

अब के हुन्छ ?

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारको अनुसार पक्राउ परेका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी माथि अनुसन्धान भइरहेको छ । कारागार प्रमुख राजेन्द्र घिमिरेको खोजी भइरहेको उहाँको भनाइ छ । जिल्ला अदालतबाट घिमिरेको नाममा पनि पक्राउ पर्जी जारी भइसकेकोले उहाँलाई समेत पक्राउ गरी अनुसन्धान गरिने उहाँको भनाइ छ ।

अब २ जनाबाट अनुसन्धान गरी घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने प्रनाउ गोदारले बताउनुभयो । अध्ययन समितिको प्रतिवेदन पनि अब आउला, ढिला चाँडो हुन सक्छ तर दोषीले उन्मुक्ति पाउँदैन, गोदारले भन्नुभयो ।

कारागारमा मृत्यु हुनेहरूमा सङ्खुवासभा जिल्ला मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र मकवानपुर जिल्ला ककनी गाउँपालिका २८ वर्षीय आकाश बलामी छन् । तोलाङ्गी जबरजस्ती करणीमा र बलामी चोरी मुद्दामा कैद भुक्तान गरिरहेका थिए । उनीहरू कारागारको रड काटेर भाग्न खोज्न खोजेपछि कुटपिट गरिएको प्रहरीले दाबी गर्दै आएको छ । जिल्ला अस्पताल खाँदबारीमा राखिएको उनीहरूको शव ६ दिनपछि परिवारले बुझेका थिए ।

Author
ध्यान कुलुङ

उहाँ सङ्खुवासभाबाट गोरखापत्रलाई रिपोर्टिङ गर्नुहुन्छ ।