• १ मंसिर २०८२, सोमबार

डिजिटल प्रवर्धन र गुणस्तरीय सेवा विस्तारमा प्रतिबद्धता

blog

नेपाल बैङ्क लिमिटेड स्थापनाको ८९ औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिँदै । तस्बिर : सागर बस्नेत

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १ गते । नेपाल बैङ्क लिमिटेडले संस्थागत सुशासन, डिजिटल रूपान्तरण र गुणस्तरीय ग्राहक सेवा विस्तारलाई आगामी यात्राको प्रमुख आधार बनाउने प्रतिबद्धता गरेको छ । बैङ्क स्थापनाको ८९ औँ वर्षमा प्रवेशका अवसरमा बैङ्कको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा यस्तो बताइएको हो ।

नेपाल बैङ्क लिमिटेड सञ्चालक समितिका अध्यक्ष प्राडा डिल्लीराज शर्माले लामो इतिहास, परिवर्तित सन्दर्भ र सूचना प्रविधिमा भएको क्रान्ति र बैङ्किङ बजारको प्रतिस्पर्धालाई सामना गर्दै चुनौती र सुधार गरिहाल्नुपर्ने सबालमा बैङ्क दृढ भएर अगाडि बढ्ने बताउनुभयो । बैङ्क पब्लिक ट्रेजरी अर्थात् जनताको विश्वासको ढुकुटी भएको भन्दै उहाँले  बैङ्कमा संस्थागत सुशासनको सुनिश्चित गर्नु पहिलो सर्त भएको बताउनुभयो ।

समग्र बैङ्किङ बजारको चुनौतीका रूपमा रहेको निष्क्रिय कर्जा असुली अहिले  चुनौती भएको भन्दै अध्यक्ष शर्माले डिजिटल प्रडक्टको विकास, विभिन्न बाह्य साझेदारसँगको सहकार्यमा डिजिटल कारोबारमा वृद्धि, रेमिट्यान्स आम्दानी बढाउनुपर्ने, फी तथा कमिसन आम्दानी वृद्धि, लगानीका क्षेत्र विस्तार आदिका लागि धेरै काम गर्नुपर्नेमा जोड दिँदै सबै शाखालाई मुनाफाको केन्द्र बनाउनुपर्ने अर्को चुनौती 

रहेको बताउनुभयो । बैङ्क ग्राहकको सेवामा लागि परेको भन्दै उहाँले लगानीकर्तालाई राम्रो प्रतिफल दिनुपर्ने पनि बैङ्क दायित्व भएको बताउनुभयो । व्यावसायिक, अत्याधुनिक प्रविधिमा आधारित प्रतिस्पर्धात्मक सेवा सुविधा उपलब्ध गराई दिगो मुनाफा आर्जन गरेर लगानीकर्ताका लागि समेत उचित प्रतिफल वितरण गर्न सक्ने संस्थाका रूपमा विकास गर्न जरुरी रहेको उहाँले बताउनुभयो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले सार्वजनिक र निजी साझेदारीको अनुपम उदाहरण बोकेको बैङ्कले स्थापना कालदेखि नै निरन्तर सेवाग्राहीको आवश्यकता र समयको मागलाई सम्बोधन गर्दै उपयुक्त दृष्टिकोणसहित अघि बढ्दै आएको बताउनुभयो । बैङ्कका सेवा सुविधालाई थप विस्तार एवं नवप्रवर्तन गरी समयानुकूल डिजिटल प्रविधिमैत्री बैङ्किङलाई आत्मसात् गर्दै आर्थिक विकास तथा रोजगारी सिर्जनामा अझ सशक्त भूमिका निर्वाह गर्न बैङ्क प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

अहिले देशभर रहेका ७१ जिल्लामा आफ्ना २३१ शाखा, ६१ एक्सटेन्सन काउन्टर, २३७ एटिएम आउटलेट तथा डिजिटल एवं अनलाइन प्रविधिमार्फत देश तथा विदेशमा रहेका ग्राहकसमेत गरी करिब २७ लाख ग्राहकलाई सरल एवं सहज अत्याधुनिक बैङ्किङ सेवा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । चालु आव २०८२/८३ को पहिलो त्रैमाससम्ममा बैङ्कले तीन खर्ब ४२ अर्ब निक्षेप सङ्कलन र दुई खर्ब ३७ अर्ब कर्जा लगानी गरेको उहाँले जानकारी दिनुभयो । आगामी दिनमा देशका सबै जिल्लामा बैङ्किङ सेवा पु¥याउने लक्ष्यका साथ बैङ्क अघि बढिरहेको सिइओ पाण्डेयले बताउनुभयो ।

अहिले बैङ्कको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपियाँ रहेको छ भने नेटवर्थ ३८ अर्ब, जगेडा कोष २३ अर्ब ९३ करोड तथा पुँजी पर्याप्तता अनुपात १३.०६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७०.७२ प्रतिशत, ग्राहक सङ्ख्या करिब २७ लाख, मोबाइल बैङ्किङ ग्राहक सङ्ख्या करिब १० लाख रहेको सो अवसरमा जानकारी गराइएको थियो ।

वार्षिकोत्सव समारोहमा बैङ्कका उत्कृष्ट शाखा, उत्कृष्ट कर्मचारी तथा बैङ्कमा २० वर्ष र २५ वर्ष सेवा अवधि पूरा गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो ।