• १ मंसिर २०८२, सोमबार

म्याग्दीमा उत्पादीत सुन्तला बिक्री सुरु

blog

बेनी नगरपालिका ४ सुर्केमेला क्षेत्रको बाहुनडाँडामा सुन्तला टिप्दै तथा ग्रेडीङगर्दै कृषक तथा व्यवारी एवम् मजदुरहरु । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, कात्तिक ३० गते ।
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका ४ सुर्केमेला तथा बास्कुना क्षेत्रमा यस वर्ष उत्पादित सुन्तला टिप्न थालिएको छ । शनिबार हेटौँडाका व्यापारी सुदर्शन गौतम र राजु चौलागाईँको टोलीले एक गाडी सुन्तला लगेको बास्कुनाका सुन्तला कृषक दल कार्कीले बताउनुभयो । उहाँका अनुसार गौतम र चौलागाईँको समूहले गत वर्ष बास्कुना तथा सुर्केमेला क्षेत्रबाट ४५ गाडी सुन्तला लगेका थिए ।

यस वर्ष पनि उनीहरुकै टोलीले प्रतिकेजी ८० देखि ८५ सम्ममा खरिद गरेको छ । हरेक दिन मजदुरहरु लगाएर सुन्तला टिपेर ग्रेडिङ गर्ने र सबै सुन्तला सरदर ८० रुपियाँ केजीका दरले लैजाने सहमती गरेको छ । सानो भनेर छाड्ने होइन, ठुला साना सबैको मूल्य भनेको ८० कै दरले हो कार्कीले भन्नुभयो । हिजो र आजा सुर्केमेलामा टिपियो अब भोली बास्कुना क्षेत्रमा सुन्तला टिप्ने व्यापारीले आफूलाई जानकारी दिएको उहाँले सुनाउनुभयो ।

सुन्तला टिप्ने तथा लोड गर्ने मजदुर र ढुवानी खर्च सुन्तला खरिदकर्ताले नै खर्च व्यहोर्नु पर्ने र कृषकले प्रतिकेजी ८० का दरले मूल्य पाउँछ खरिदकर्ता गौतमले भन्नुभयो । उहाँका अनुसार प्रति गाडी एक सय पाँच क्रेट सुन्तला अट्ने र एउटा क्रेटमा सदरदर २१ केजी अट्ने गर्दछ । सुन्तला कात्तिक अन्तिमबाट टिपेर लैजान थालेर पुससम्म पनि आफूहरुलय यस क्षेत्रबाट खरिद गर्ने योजना रहेको उहाँको भनाइ छ । यहाँबाट लगेका सुन्तला काठमाडौँ तथा बनेपा क्षेत्रमा बिक्री गर्ने र मागका आधारमा चितवन तथा हेटौँडा पनि पठाइने गौतमको भनाइ छ ।

गत आर्थिक वर्षमा म्याग्दीको सुन्तला खेतीमा सक्रिय बेनी नगरपालिका–४, सिङ्गास्थित बास्कुना क्षेत्रका किसानहरुले ८५ लाख रुपियाँको सुन्तला बिक्री गरेका थिए । सिङ्गो गाउँ नै सुन्तला खेतीमा आकर्षित भएको बास्कुना, सुर्केमेला तथा थामडाँडा क्षेत्रबाट किसानले सो परिमाणको सुन्तला उत्पादन गरी बिक्री गरेका थिए ।

वि.सं. २०६४ सालदेखि व्यावसायिक रुपमा सुरू गरिएको सुन्तला अन्य ठाउँभन्दा बढि स्वादिलो, गुणस्तरीय भएकाले बजारमा माग बढेसँगै किसानले समेत राम्रो आम्दानी गरेको बास्कुना कृषि सहकारीका अध्यक्ष एवम् सुन्तला खेतीका अगुवा तीलक गुरुङ बताउनुहुन्छ । उहाँले गतवर्ष छ लाख भन्दा बढी मूल्यको सुन्तला बिक्री गरेको बताउनुहुन्छ । गत वर्ष न्यूनतम ५० हजारदेखि माथि २० लाखसम्मको कमाई गर्ने किसानको सङ्ख्या ४५ जना रहेको सहकारीले जनाएको छ । लामो समय वैदेशिक रोजगारीमा गएर फर्किएका र स्थानीयवासी नै सुन्तला खेतीमा आकर्षित भएका छन् ।

त्यस क्षेत्रका ११ हजार बोटबाट सुन्तला उत्पादन भएको किसानहरु बताउछन् । बास्कुना तथा आसपासका क्षेत्रमा ३० हजार सुन्तलाको बोट रहेका छन् । आगामी पाँच वर्षमा दुई करोड रुपियाँ मूल्य बराबरको सुन्तला निर्यात गर्न सकिने किसानको अपेक्षा छ । बास्कुना क्षेत्रमा पछिल्लोपटक सुन्तला उत्पादन बढ्दै जान थालेपछि गाउँको पहिचान नै फेरिएको छ । हरेक वर्ष नयाँ बोट विस्तार, पुरानाको उचित कटानीछटानी गरिरहेकाले समेत उत्पादनमा वृद्धि भएको किसान सन्दिप केसीको अनुभव छ ।

म्याग्दीको बेनी नगरपालिकाको राखु, मरेक, भकिम्लि, बास्कुना, थामडाँडा, सुर्केमेला, डाँडाखेत, नेप्टेचौर, घतानमा सुन्तला उत्पादन हुन्छ । त्यस्तै रघुगंगा गाउँपालिकाको पिप्ले, भगवति, बेगखोला, अन्नपुर्ण गाउँपालिकाको दोवा, तातोपानी, दाना, नारच्याङ, हिस्तानको दोसल्ले, मंगला गाउँपालिकाको बरंजा, अर्मन, कुहुँ, बाबियौचर, मालिका गाउँपालिकाको बिम, दरवाङ, ओखरबोट, देविस्थान, धौलागिरी गाउँपालिकाको ताकम क्षेत्रमा सुन्तला उत्पादन हुन्छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार गत वर्ष उत्पादित सुन्तलाको सरदर मूल्य हेर्दा ३० करोड रुपियाँको सुन्तला बिक्री भएको थियो । सुन्तलाको उत्पादन र बजारको अवस्था हेर्दा यस जिल्लाको निकै भरपर्दो नगदेबालीका रुपमा सुन्तलालाई लिन सकिने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिब बाँस्तोलाले बताउनुभयो ।