रामकृष्ण बोहरा
बागलुङ, मङ्सिर १ गते । पश्चिम बागलुङका पौंदेलीहरुले आइतबार न्वागी पर्व मनाउँदै छन् । पौंदीबासीले विसं. १७३४ सालदेखि न्वागी पर्व मनाउँदै आएका छन् । न्वागी पर्वमा बडिगाड–५ को खार बजारमा दस दिने मेला समेत आयोजना गरिएको छ ।
मङ्सिर महिनामा पौंदेलीले न्वागी खाने प्रचलन छ । धान पाक्ने र काट्ने समय मङ्सिरमा स्थानीय जर्डन प्रजातीको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी राखी स्वादिष्ट न्वागी बनाई खाने गरिन्छ । खेत भएकाहरुले खेत नभएकालाई, आफन्तजन र इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन छ । न्वागी खाने चलन पुर्खाको योगदान, सहयोगी भवना र स्थानीयबासीको खुसीसँग जोडिएको बुढापाकाहरु बताउनुहुन्छ ।
१२ औं शताब्दीमा स्थापित खस राज्य मल्लकालीन समय अर्थात् १५ औं शताब्दीतिर टुक्रिन पुग्यो । जसबाट बनेका बाइसी र चौबिसे राज्यमध्ये इस्मा र मुसिकोट राज्यको भू–भागको रुपमा बागलुङका दगातुम्डाँडा, जलजला, पाण्डवखानीका केही भाग र गुल्मीको इजरा क्षेत्रमा प¥यो । दगाको केही क्षेत्र मुसिकोटको मौजा समेत रहेको इतिहास छ ।
सोही इतिहाससँग जोडिएको पौदी क्षेत्रको आफ्नो छुट्टै इतिहास छ । बागलुङको साबिक जलजला, ग्वालीचौर र गुल्मीको पौदीअमराई गाविसलाई पौंदी क्षेत्र भनिन्छ । यस क्षेत्रमा मगरहरुको बाक्लो बस्ती रहेको र उनीहरुकै खाम भाषामा ‘पोम’ भनेको हिमालय शिखर वा उच्च टाकुरा र डि भनेको पानी भन्ने हुन्छ ।
उच्च टाकुराबाट बग्ने नदी भन्ने अर्थमा सो क्षेत्रलाई पौडी भनिएको हो । जुन शब्द अपभ्रंश भएर पौंदी बन्न गएको बडिगाड–५ का कृष्णबहादुर घिमिरेले बताउनुहुन्छ । “रुद्रतालबाट बगेको बडिगाड खोला र मदाने लेकबाट बगेको निस्ती खोलाको तटिय क्षेत्रलाई नै पौंदी क्षेत्र मानिएको इतिहास गुल्मी दरबारको लिपीमा छ” घिमिरेले भन्नुभयो ।
मध्यकालीन नेपालको इतिहासमा जुम्ला राज्यको विस्तारको क्रममा एक समय ईस्मा राज्यको सिमाना साबिकको ग्वालीचौर गाविसको दारेगौंडासम्म आइपुगेको थियो । तर उक्त राज्य विस्तारको योजना गलकोट र पर्वत राज्यको सहयोगमा इस्मा राज्यले जुम्लाको विस्तार अभियान रोकेको हुनाले पौंदी मौजा राजनैतिक महत्त्वको रहेकोे र यसै खुसीयालीमा न्वागी पर्व मनाउन थालिएको अर्का स्थानीय गुणानिधि घिमिरेले बताउनुभयो ।
“बागलुङको ग्वालीचौर, गुल्मीको अरेवा, अमराई लगायत पौंदीबासीको खेतमा धान पाकेपछि कात्तिक पहिलो हप्ता मुसिकोटको छत्रकोटका पुजारी, स्थानीय र जनप्रतिनिधिको रोहबरमा धान काट्ने र न्वागी खाने मिति हेराइने चलन रहको छ” उहाँले भन्नुभयो । यस वर्ष धान काट्ने दिन गत कात्तिक १० गते र न्वागी खाने दिन मङ्सिर १ गते परेको छ ।
‘‘न्वागी खाने समय र कुन दिशातर्फ फर्कर खाने भन्ने मङ्सिरमा तोक्ने चलन छ’’ घिमिरेले भन्नुभयो, “न्वागीलाई घर घरमा होमन गरेपछि थानपति, छत्रभुमि, सिद्धका नाममा देवतालाई चढाई मङ्सिरको पहिलो हप्ताभित्र खाने चलन रहेको छ ।”