• ८ कात्तिक २०८१, बिहिबार

व्यावसायिक खेती नहुँदा बजारमा फूलको अभाव

blog

खाँदबारी हाटमा तरकारीसँगै बिक्रीका लागि राखिएको फूल । तस्विरः ध्यान कुलुङ

सङ्खुवासभा, कात्तिक ८ गते । बजारमा फूलको अभाव बढेको छ । फूलै फूलको पर्व भनेर समेत चिनिने तिहारमा फूल अभाव हुँदा उपभोक्ताहरू रित्तो हात घर फर्कन बाध्य भएका छन् । 

व्यावसायिक फूल खेती नगरिने यस जिल्लामा यस वर्ष फूलको अभाव बढेको हो । सङ्खुवासभामा हालसम्म पनि ठूलो परिमाणमा यस वर्ष पनि व्यावसायिक खेती लगाइएको छैन । थोरै मात्रामा छिटपुट फूल खेती लगाउने गरिए पनि यस वर्ष कसैले खेती नलगाउँदा फूलको अभाव बढेको हो । ठूलो मात्रामा फूल खेती नलगाउँदा सहर बजारवासीहरूको तिहार फूलविहीन हुने देखिएको छ । 

गाउँ घरमा भने आफ्नो लागि घर वरिपरि र आँगनको डिलमा फुल रोप्ने गरिन्छ । आफूलाई राखेपछि बढी हुने भए मात्र बजारमा बेच्न लगिने चलन छ । यस वर्षको तिहार चाँडो भएकोले सबै फूल नफुल्दा अभाव बढेका बताइएको छ । गाउँबाट फूल बजारमा नआएपछि जिल्ला सदरमुकाम खाँदबारी, चैनपुर लगायतका बजारहरूमा फूलको अभाव बढेको हो ।

यस वर्ष सङ्खुवासभामा कतै पनि व्यावसायिक फूल खेती नगरिएको खाँदबारी बजारका फूल व्यापारी उषा रामदान बताउनुहुन्छ । अघिल्लो वर्षहरू पनि किसानहरूबाट डोकोबाट सङ्कलन गरेर बिक्री गरिएको रामदानले बताउनुभयो । यस वर्ष त्यो पनि नपाइएको उहाँले जानकारी दिनुभयो । एक दिन अघि एक जनाले आधा धोक्रो फुल ल्याइदिएको बाहेक फूल बेच्न नपाएको व्यापारी रामदानको भनाइ छ ।

खाँदबारी बजारमा भेटिनुभएका पाँचखपन नगरपालिकाका तारा पुरीले बजारमा फूल नपाएकोले यस वर्ष चलानी फुल (प्लास्टिकको फुल) प्रयोग गर्ने सोच भएको बताउनुभयो । भाइटीकाको अघिल्लो दिनसम्म फुल खोज्ने र नपाए चलानी फुल प्रयोग गर्ने योजना रहेको उहाँले बताउनुभयो । हातमा फूलको सानो मुठो देखाउनुहुँदै पुरीले भन्नुभयो, ‘एक अँगालो फूल लैजाने भएर बजार आएकी थिएँ, यत्ति पाएँ ।’ थोरै पाएको फूलको मूल्य उच्च रहेको उहाँले बताउनुभयो । उहाँले सयपत्री फूलको प्रति थुँगा २० रुपियाँ तिरेको बताउनुभयो । 

तिहारमा भाइटिकाको लागि मखमली फूल सबैभन्दा राम्रो मानिन्छ । तर जिल्लाको मुख्य बजारहरूमा छिटपुट सयपत्री फूल पाइए पनि मखमली फूल शून्य छ । अघिल्लो वर्ष ठाउँ ठाउँका कृषकहरूबाट सङ्कलन गरेर एकै दिन ३० हजार रुपैयाँका मखमली फूल बिक्री गरेको स्थानीय व्यापारी दुर्गादेवी कार्कीले बताउनुभयो । यो वर्ष बजारमा बिक्री गर्ने गरी कतै पनि मखमली नपाइएको उहाँले बताउनुभयो । 

सङ्खुवासभामा प्राय हरेक वर्ष फूलको अभाव हुने गरेको छ । अघिल्लो वर्ष धनकुटाबाट फुल ल्याएर खाँदबारी बजारमा बिक्री गरिएको थियो । यस वर्ष त्यहाँबाट फूल आयात गरिएको छैन । सङ्खुवासभामा व्यावसायिक फूल खेतीको सम्भावना राम्रो भएर पनि कसैले खेती नगर्दा अभाव हट्न नसकेको हो ।

Author
ध्यान कुलुङ

उहाँ सङ्खुवासभाबाट गोरखापत्रलाई रिपोर्टिङ गर्नुहुन्छ ।