विसं २०८२ चैत १९ देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) सम्पन्न भएसँगै देशभरका करिब पाँच लाखभन्दा बढी विद्यार्थी अहिले जीवनको एक महत्वपूर्ण सङ्व्रmमणकालीन चरणमा प्रवेश गरेका छन् । नेपाल सरकारले यस वर्ष एसइईको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्न निर्देशन दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण तथा मार्किङ कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको छ ।
कक्षा १० पछि नतिजा पर्खने करिब एक महिना भविष्यको दिशा तय गर्ने महत्वपूर्ण अवसर हो । परीक्षाको दबाबबाट मुक्त यो अवधि विद्यार्थीका लागि ‘सम्भावनाको पुल’ जस्तै हो; जहाँबाट उनीहरूले आफ्नो लक्ष्य निर्धारण, सिप विकास र ‘करिअर’ छनोटका आधार तयार गर्न सक्छन् । यस समयको सही र योजनाबद्ध उपयोगले दीर्घकालीन रूपमा व्यक्तित्व र शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्न सक्छ ।
१४ देखि १६ वर्षको उमेर किशोरावस्थाको संवेदनशील चरण हो । यस समयमा विद्यार्थी शारीरिक, मानसिक र भावनात्मक रूपान्तरणबाट गुज्रिरहेका हुन्छन् । यसले उनीहरूको सोच, व्यवहार र निर्णय क्षमतामा प्रत्यक्ष प्रभाव पार्छ । परीक्षा सकिएपछि अचानक प्राप्त हुने ‘खालीपन’ कतिपयका लागि अलमलको कारण बन्न सक्छ । यो समय उद्देश्यहीन रूपमा बित्यो भने नकारात्मक बानीको विकास, डिजिटल उपकरणप्रतिको अत्यधिक निर्भरता तथा समयको दुरुपयोग हुने जोखिम बढ्छ । अभिभावक, शिक्षक र स्वयम् विद्यार्थी सबैले मिलेर यस अवधिलाई सचेत र सन्तुलित ढङ्गले व्यवस्थापन गर्नु आवश्यक छ । एसइई परीक्षा र नतिजा प्रकाशनबिचको करिब एक महिनाको ‘ब्रिज पिरियड’ सीमित भए पनि महत्वपूर्ण हुन्छ । यस अवधिमा विद्यार्थीले सबै गतिविधि एकै पटक गर्न खोज्नुभन्दा प्राथमिकता निर्धारण गरी केही उपयोगी र उद्देश्यपूर्ण कार्यमा केन्द्रित भएमा यो समय वैज्ञानिक र परिणाममुखी बन्न सक्छ ।
विषय छनोटमा सचेत निर्णय
एसइईपछि विद्यार्थी र अभिभावकका लागि सबैभन्दा ठुलो प्रश्न हुन्छ अब कुन विषय रोज्ने ? विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा वा प्राविधिक/व्यावसायिक धार ? यो निर्णय केवल तत्कालीन अध्ययनका लागि मात्र नभई भविष्यको करिअर र जीवन दिशासँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण निर्णय हो । अझै पनि धेरै विद्यार्थीमा अङ्कका आधारमा मात्र विषय छनोट गर्ने प्रवृत्ति छ । दीर्घकालीन दृष्टिले यो पर्याप्त हुँदैन । किनभने अङ्कले क्षमता पूर्ण रूपमा मापन गर्न सक्दैन । विद्यार्थीले आफ्नो रुचि, क्षमता, व्यक्तित्व र भविष्यमा गर्न चाहेको कामलाई ध्यानमा राखेर विषय छनोट गर्नु पर्छ । विज्ञानप्रति रुचि छ भने सोही अनुसार; व्यवस्थापन, मानविकी वा प्रविधिप्रति झुकाव छ भने त्यसै अनुसार निर्णय लिनु बुद्धिमानी हुन्छ ।
सिपमूलक सिकाइको अवसर
एसइईपछिको समय औपचारिक अध्ययनको दबाब कम हुने भएकाले सिप सिक्न उपयुक्त अवसर हो । यस अवधिलाई उपयोगी ‘स्लट’ समयका रूपमा पनि लिन सकिन्छ; जहाँ विद्यार्थीले आफ्नो भविष्य निर्माणका लागि आवश्यक व्यावहारिक सिप विकास गर्न सक्छन् । सिप भनेको सिर्जनात्मक रूपमा सोच्ने, विश्लेषण गर्ने र समस्या समाधान गर्ने क्षमता हो; जुन अभ्यास र निरन्तर प्रयासबाट विकास गर्न सकिन्छ । यस समयमा विद्यार्थीले ‘एमएस अफिस’, ‘बेसिक आइटी’, ‘ग्राफिक डिजाइन’, ‘प्रोग्रामिङ’, ‘फोटोसप’, भिडियो सम्पादन, ‘एनिमेसन’, ‘टाइपिङ’ तथा ‘अकाउन्टिङ’ जस्ता सिप सिक्न सक्छन् । यी सिपले डिजिटल युगमा प्रतिस्पर्धी बन्न महत्वपूर्ण भूमिका खेल्छन् । खाना पकाउने वा खेतीपातीमा सहयोग गर्ने घरायसी काममा सहभागी हुनु पनि जीवनोपयोगी अनुभव हो । यस्ता व्यावहारिक अभ्यासले जिम्मेवारीबोध र आत्मनिर्भरता विकास गर्न मद्दत गर्छ । सही समयमा सिकेको सही सिपले विद्यार्थीलाई आगामी अध्ययन र रोजगारी दुवै क्षेत्रमा सक्षम र प्रतिस्पर्धी बनाउँछ ।
भाषा र सञ्चार सिप विकास
एसइईपछिको यस अवधिमा भाषा तथा सञ्चार सिप विकासमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । विदेशी भाषा सिक्ने, बोल्ने र लेख्ने अभ्यास गर्ने, ‘डुओलिङ्गो’ जस्ता माध्यमको उपयोग गर्नु प्रभावकारी उपाय हो । यसले भाषा दक्षता बढाउनुका साथै आत्मविश्वास पनि वृद्धि गर्छ । वक्तृत्वकला, नेतृत्व क्षमता, सार्वजनिक सम्पर्क जस्ता सिप विकास गर्नु पर्छ । आजको युगमा सञ्चार, सहकार्य र ‘नेटवर्किङ’ सफलताको प्रमुख आधार बनेका छन् । विभिन्न क्लब तथा समूहमा सक्रिय सहभागिता जनाएर यी सिपलाई व्यवहारमा उतार्न सकिन्छ । यसले विद्यार्थीलाई आत्मविश्वासी, प्रभावकारी र सक्षम व्यक्तित्व निर्माण गर्न सहयोग पु¥याउँछ ।
सामाजिक सेवा र नेतृत्व विकास
विद्यार्थीले यस अवधिलाई सामाजिक सेवामूलक गतिविधिमा सक्रिय सहभागिता जनाउने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न सक्छन् । रक्तदान, सरसफाइ अभियान, वृक्षरोपण, पुस्तक सङ्कलन, साक्षरता कार्यक्रम जस्ता कार्यले उनीहरूमा समाजप्रतिको जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्छन् । रोट्र्याक्ट क्लब, लियो क्लब, टोस्टमास्टर क्लब तथा जुनियर रेडक्रस सर्कल जस्ता संस्थामा संलग्न हुन सके विद्यार्थीमा सामाजिक उत्तरदायित्व, सहकार्य भावना र नेतृत्व क्षमताको विकासमा योगदान पुग्छ । यस्ता गतिविधिबाट प्राप्त अनुभव कक्षाकोठाभन्दा बाहिरको जीवनोपयोगी शिक्षाका रूपमा स्थापित हुन्छन् । यसले विद्यार्थीलाई जिम्मेवार, संवेदनशील र सक्रिय नागरिकका रूपमा विकसित गर्न मद्दत गर्नुका साथै भविष्यप्रति सकारात्मक दृष्टिकोण निर्माण गर्न समेत सहयोग पु¥याउँछ ।
अध्ययन संस्कृतिको विस्तार
पाठ्यपुस्तकभन्दा बाहिरका पुस्तक पढ्ने बानी विकास गर्नु विद्यार्थी जीवनमा लाभदायक हुन्छ । उपन्यास, कथा, कविता, निबन्ध तथा समसामयिक लेखहरूको अध्ययनले ज्ञानको दायरा फराकिलो बनाउँछ । विद्यार्थीको सोच्ने क्षमता बढ्छ । पढाइलाई केवल परीक्षाकेन्द्रित नभई जीवनमुखी बनाउने हो भने नियमित पठनसंस्कृति विकास गर्नु आवश्यक हुन्छ । यसले विद्यार्थीको भाषा सिप सुधार गर्नुका साथै कल्पना शक्ति, विश्लेषण क्षमता र आलोचनात्मक सोच पनि बढाउँछ । नेल्सन मन्डेला, महात्मा गान्धी, एपिजे अब्दुल कलाम, बिपी कोइराला, राजा महेन्द्र, मनमोहन अधिकारी, मदन भण्डारी जस्ता प्रेरणादायी व्यक्तित्वका जीवनीले विद्यार्थीलाई केवल जानकारी मात्र होइन; जीवनदृष्टि र प्रेरणा पनि प्रदान गर्छन् । यस्ता अध्ययनले विद्यार्थीमा आत्मविश्वास, नैतिक मूल्य, समाजप्रतिको बुझाइ तथा जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पु¥याउँछ ।
सिर्जनात्मकता र रुचिको विकास
सङ्गीत, नृत्य, चित्रकला, खेलकुद, फोटोग्राफी, कविता लेखन वा ‘रोबोटिक्स’ जस्ता गतिविधिमा सक्रिय रूपमा सहभागी भएर यो अवधिमा विद्यार्थीले आफ्ना लुकेका प्रतिभा पहिचान गर्न सक्छन् । यस्ता गतिविधिले सिर्जनशील सोच, आत्मविश्वास र भावनात्मक बुद्धिमत्ता विकास गर्न मद्दत गर्छन् । पढाइसँगै रुचिका क्षेत्रमा समय दिन सके भविष्यमा यही रुचि ‘करिअर’ को आधार बन्न सक्छ । परिवार र साथीभाइसँग ऐतिहासिक स्थल, सङ्ग्रहालय तथा प्राकृतिक स्थलहरूको भ्रमण गर्नु पनि उपयोगी हुन्छ । यस्ता भ्रमणले विद्यार्थीलाई किताबको सीमाभन्दा बाहिरको वास्तविक जीवनसँग जोड्छ र सांस्कृतिक तथा भौगोलिक ज्ञान विस्तार गर्छ । अनुभवात्मक सिकाइले अध्ययनलाई अझ अर्थपूर्ण र व्यावहारिक बनाउँछ ।
यस समयमा ‘ब्रिज कोर्स’, अनलाइन अध्ययन सामग्रीको उपयोग र स्वअध्ययनमार्फत कक्षा ११ को तयारी गर्न सकिन्छ । यसले नयाँ शैक्षिक चरणमा सहज प्रवेश गराउँदै अध्ययनलाई व्यवस्थित र आत्मविश्वासपूर्ण बनाउँछ । अनलाइन स्रोतहरूको उपयोग गर्दा स्वअनुशासन अत्यन्त आवश्यक हुन्छ । अत्यधिक भिडियो गेम, युट्युब, सामाजिक सञ्जाल वा ‘भर्चुअल’ संसारमा समय बिताउने बानीले लत बस्ने जोखिम बढाउँछ । प्रविधिको प्रयोगलाई सिकाइ र आत्मविकासमा सीमित राख्दै सन्तुलित र नियन्त्रित प्रयोग गर्ने बानी विकास गर्नु आवश्यक छ । सन्तुलित डिजिटल अनुशासनले समय व्यवस्थापन सुधार गर्दै भविष्यको अध्ययनलाई सहज बनाउँछ ।
ध्यान र योगले मानसिक एकाग्रता बढाउँछ, तनाव घटाउँछ र आत्मविश्वास विकास गर्छ । योगाले शरीरलाई स्वस्थ, सन्तुलित र सक्रिय राख्छ । यसले अनुशासन, आत्मसंयम र सकारात्मक सोच विकास गर्छ; जसले विद्यार्थीको सफलताको आधार तयार गर्छ ।
अन्त्यमा
एसइईपछि प्राप्त करिब एक महिनाको समय जीवनको दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसर हो । यस अवधिलाई योजनाबद्ध र उद्देश्यपूर्ण रूपमा उपयोग गर्न सके विद्यार्थीको शैक्षिक, व्यक्तिगत तथा व्यावसायिक भविष्यलाई सकारात्मक रूपमा रूपान्तरण गर्न सकिन्छ । यस प्रक्रियामा अभिभावक, शिक्षक, विद्यालय र राज्यबिचको समन्वित सहयोग र उचित मार्गदर्शन आवश्यक हुन्छ । यस्तो सहकार्यले विद्यार्थीलाई आफ्ना रुचि, क्षमता र सम्भावनाको सही पहिचान गर्न तथा सोचविचार गरेर उपयुक्त विषय र ‘करिअर’ मार्ग छनोट गर्न मद्दत गर्छ । सही समयमा गरिएको सही निर्णय नै सफल, सन्तुलित र उद्देश्यपूर्ण जीवनको पहिलो तथा सबैभन्दा महत्वपूर्ण आधार हुन्छ ।