• ५ वैशाख २०८३, शनिबार

सही समयमा गर्नुपर्ने निर्णय

blog

विसं २०८२ चैत १९ देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) सम्पन्न भएसँगै देशभरका करिब पाँच लाखभन्दा बढी विद्यार्थी अहिले जीवनको एक महत्वपूर्ण सङ्व्रmमणकालीन चरणमा प्रवेश गरेका छन् । नेपाल सरकारले यस वर्ष एसइईको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्न निर्देशन दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण तथा मार्किङ कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको छ ।

कक्षा १० पछि नतिजा पर्खने करिब एक महिना भविष्यको दिशा तय गर्ने महत्वपूर्ण अवसर हो । परीक्षाको दबाबबाट मुक्त यो अवधि विद्यार्थीका लागि ‘सम्भावनाको पुल’ जस्तै हो; जहाँबाट उनीहरूले आफ्नो लक्ष्य निर्धारण, सिप विकास र ‘करिअर’ छनोटका आधार तयार गर्न सक्छन् । यस समयको सही र योजनाबद्ध उपयोगले दीर्घकालीन रूपमा व्यक्तित्व र शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्न सक्छ ।

१४ देखि १६ वर्षको उमेर किशोरावस्थाको संवेदनशील चरण हो । यस समयमा विद्यार्थी शारीरिक, मानसिक र भावनात्मक रूपान्तरणबाट गुज्रिरहेका हुन्छन् । यसले उनीहरूको सोच, व्यवहार र निर्णय क्षमतामा प्रत्यक्ष प्रभाव पार्छ । परीक्षा सकिएपछि अचानक प्राप्त हुने ‘खालीपन’ कतिपयका लागि अलमलको कारण बन्न सक्छ । यो समय उद्देश्यहीन रूपमा बित्यो भने नकारात्मक बानीको विकास, डिजिटल उपकरणप्रतिको अत्यधिक निर्भरता तथा समयको दुरुपयोग हुने जोखिम बढ्छ । अभिभावक, शिक्षक र स्वयम् विद्यार्थी सबैले मिलेर यस अवधिलाई सचेत र सन्तुलित ढङ्गले व्यवस्थापन गर्नु आवश्यक छ । एसइई परीक्षा र नतिजा प्रकाशनबिचको करिब एक महिनाको ‘ब्रिज पिरियड’ सीमित भए पनि महत्वपूर्ण हुन्छ । यस अवधिमा विद्यार्थीले सबै गतिविधि एकै पटक गर्न खोज्नुभन्दा प्राथमिकता निर्धारण गरी केही उपयोगी र उद्देश्यपूर्ण कार्यमा केन्द्रित भएमा यो समय वैज्ञानिक र परिणाममुखी बन्न सक्छ ।

विषय छनोटमा सचेत निर्णय

एसइईपछि विद्यार्थी र अभिभावकका लागि सबैभन्दा ठुलो प्रश्न हुन्छ अब कुन विषय रोज्ने ? विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा वा प्राविधिक/व्यावसायिक धार ? यो निर्णय केवल तत्कालीन अध्ययनका लागि मात्र नभई भविष्यको करिअर र जीवन दिशासँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण निर्णय हो । अझै पनि धेरै विद्यार्थीमा अङ्कका आधारमा मात्र विषय छनोट गर्ने प्रवृत्ति छ । दीर्घकालीन दृष्टिले यो पर्याप्त हुँदैन । किनभने अङ्कले क्षमता पूर्ण रूपमा मापन गर्न सक्दैन । विद्यार्थीले आफ्नो रुचि, क्षमता, व्यक्तित्व र भविष्यमा गर्न चाहेको कामलाई ध्यानमा राखेर विषय छनोट गर्नु पर्छ । विज्ञानप्रति रुचि छ भने सोही अनुसार; व्यवस्थापन, मानविकी वा प्रविधिप्रति झुकाव छ भने त्यसै अनुसार निर्णय लिनु बुद्धिमानी हुन्छ ।

सिपमूलक सिकाइको अवसर

एसइईपछिको समय औपचारिक अध्ययनको दबाब कम हुने भएकाले सिप सिक्न उपयुक्त अवसर हो । यस अवधिलाई उपयोगी ‘स्लट’ समयका रूपमा पनि लिन सकिन्छ; जहाँ विद्यार्थीले आफ्नो भविष्य निर्माणका लागि आवश्यक व्यावहारिक सिप विकास गर्न सक्छन् । सिप भनेको सिर्जनात्मक रूपमा सोच्ने, विश्लेषण गर्ने र समस्या समाधान गर्ने क्षमता हो; जुन अभ्यास र निरन्तर प्रयासबाट विकास गर्न सकिन्छ । यस समयमा विद्यार्थीले ‘एमएस अफिस’, ‘बेसिक आइटी’, ‘ग्राफिक डिजाइन’, ‘प्रोग्रामिङ’, ‘फोटोसप’, भिडियो सम्पादन, ‘एनिमेसन’, ‘टाइपिङ’ तथा ‘अकाउन्टिङ’ जस्ता सिप सिक्न सक्छन् । यी सिपले डिजिटल युगमा प्रतिस्पर्धी बन्न महत्वपूर्ण भूमिका खेल्छन् । खाना पकाउने वा खेतीपातीमा सहयोग गर्ने घरायसी काममा सहभागी हुनु पनि जीवनोपयोगी अनुभव हो । यस्ता व्यावहारिक अभ्यासले जिम्मेवारीबोध र आत्मनिर्भरता विकास गर्न मद्दत गर्छ । सही समयमा सिकेको सही सिपले विद्यार्थीलाई आगामी अध्ययन र रोजगारी दुवै क्षेत्रमा सक्षम र प्रतिस्पर्धी बनाउँछ ।

भाषा र सञ्चार सिप विकास

एसइईपछिको यस अवधिमा भाषा तथा सञ्चार सिप विकासमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । विदेशी भाषा सिक्ने, बोल्ने र लेख्ने अभ्यास गर्ने, ‘डुओलिङ्गो’ जस्ता माध्यमको उपयोग गर्नु प्रभावकारी उपाय हो । यसले भाषा दक्षता बढाउनुका साथै आत्मविश्वास पनि वृद्धि गर्छ । वक्तृत्वकला, नेतृत्व क्षमता, सार्वजनिक सम्पर्क जस्ता सिप विकास गर्नु पर्छ । आजको युगमा सञ्चार, सहकार्य र ‘नेटवर्किङ’ सफलताको प्रमुख आधार बनेका छन् । विभिन्न क्लब तथा समूहमा सक्रिय सहभागिता जनाएर यी सिपलाई व्यवहारमा उतार्न सकिन्छ । यसले विद्यार्थीलाई आत्मविश्वासी, प्रभावकारी र सक्षम व्यक्तित्व निर्माण गर्न सहयोग पु¥याउँछ ।

सामाजिक सेवा र नेतृत्व विकास

विद्यार्थीले यस अवधिलाई सामाजिक सेवामूलक गतिविधिमा सक्रिय सहभागिता जनाउने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न सक्छन् । रक्तदान, सरसफाइ अभियान, वृक्षरोपण, पुस्तक सङ्कलन, साक्षरता कार्यक्रम जस्ता कार्यले उनीहरूमा समाजप्रतिको जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्छन् । रोट्र्याक्ट क्लब, लियो क्लब, टोस्टमास्टर क्लब तथा जुनियर रेडक्रस सर्कल जस्ता संस्थामा संलग्न हुन सके विद्यार्थीमा सामाजिक उत्तरदायित्व, सहकार्य भावना र नेतृत्व क्षमताको विकासमा योगदान पुग्छ । यस्ता गतिविधिबाट प्राप्त अनुभव कक्षाकोठाभन्दा बाहिरको जीवनोपयोगी शिक्षाका रूपमा स्थापित हुन्छन् । यसले विद्यार्थीलाई जिम्मेवार, संवेदनशील र सक्रिय नागरिकका रूपमा विकसित गर्न मद्दत गर्नुका साथै भविष्यप्रति सकारात्मक दृष्टिकोण निर्माण गर्न समेत सहयोग पु¥याउँछ ।

अध्ययन संस्कृतिको विस्तार

पाठ्यपुस्तकभन्दा बाहिरका पुस्तक पढ्ने बानी विकास गर्नु विद्यार्थी जीवनमा लाभदायक हुन्छ । उपन्यास, कथा, कविता, निबन्ध तथा समसामयिक लेखहरूको अध्ययनले ज्ञानको दायरा फराकिलो बनाउँछ । विद्यार्थीको सोच्ने क्षमता बढ्छ । पढाइलाई केवल परीक्षाकेन्द्रित नभई जीवनमुखी बनाउने हो भने नियमित पठनसंस्कृति विकास गर्नु आवश्यक हुन्छ । यसले विद्यार्थीको भाषा सिप सुधार गर्नुका साथै कल्पना शक्ति, विश्लेषण क्षमता र आलोचनात्मक सोच पनि बढाउँछ ।  नेल्सन मन्डेला, महात्मा गान्धी, एपिजे अब्दुल कलाम, बिपी कोइराला, राजा महेन्द्र, मनमोहन अधिकारी, मदन भण्डारी जस्ता प्रेरणादायी व्यक्तित्वका जीवनीले विद्यार्थीलाई केवल जानकारी मात्र होइन; जीवनदृष्टि र प्रेरणा पनि प्रदान गर्छन् । यस्ता अध्ययनले विद्यार्थीमा आत्मविश्वास, नैतिक मूल्य, समाजप्रतिको बुझाइ तथा जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पु¥याउँछ । 

सिर्जनात्मकता र रुचिको विकास

सङ्गीत, नृत्य, चित्रकला, खेलकुद, फोटोग्राफी, कविता लेखन वा ‘रोबोटिक्स’ जस्ता गतिविधिमा सक्रिय रूपमा सहभागी भएर यो अवधिमा विद्यार्थीले आफ्ना लुकेका प्रतिभा पहिचान गर्न सक्छन् । यस्ता गतिविधिले सिर्जनशील सोच, आत्मविश्वास र भावनात्मक बुद्धिमत्ता विकास गर्न मद्दत गर्छन् । पढाइसँगै रुचिका क्षेत्रमा समय दिन सके भविष्यमा यही रुचि ‘करिअर’ को आधार बन्न सक्छ ।  परिवार र साथीभाइसँग ऐतिहासिक स्थल, सङ्ग्रहालय तथा प्राकृतिक स्थलहरूको भ्रमण गर्नु पनि उपयोगी हुन्छ । यस्ता भ्रमणले विद्यार्थीलाई किताबको सीमाभन्दा बाहिरको वास्तविक जीवनसँग जोड्छ र सांस्कृतिक तथा भौगोलिक ज्ञान विस्तार गर्छ । अनुभवात्मक सिकाइले अध्ययनलाई अझ अर्थपूर्ण र व्यावहारिक बनाउँछ ।

यस समयमा ‘ब्रिज कोर्स’, अनलाइन अध्ययन सामग्रीको उपयोग र स्वअध्ययनमार्फत कक्षा ११ को तयारी गर्न सकिन्छ । यसले नयाँ शैक्षिक चरणमा सहज प्रवेश गराउँदै अध्ययनलाई व्यवस्थित र आत्मविश्वासपूर्ण बनाउँछ ।  अनलाइन स्रोतहरूको उपयोग गर्दा स्वअनुशासन अत्यन्त आवश्यक हुन्छ । अत्यधिक भिडियो गेम, युट्युब, सामाजिक सञ्जाल वा ‘भर्चुअल’ संसारमा समय बिताउने बानीले लत बस्ने जोखिम बढाउँछ । प्रविधिको प्रयोगलाई सिकाइ र आत्मविकासमा सीमित राख्दै सन्तुलित र नियन्त्रित प्रयोग गर्ने बानी विकास गर्नु आवश्यक छ । सन्तुलित डिजिटल अनुशासनले समय व्यवस्थापन सुधार गर्दै भविष्यको अध्ययनलाई सहज बनाउँछ ।

ध्यान र योगले मानसिक एकाग्रता बढाउँछ, तनाव घटाउँछ र आत्मविश्वास विकास गर्छ । योगाले शरीरलाई स्वस्थ, सन्तुलित र सक्रिय राख्छ । यसले अनुशासन, आत्मसंयम र सकारात्मक सोच विकास गर्छ; जसले विद्यार्थीको सफलताको आधार तयार गर्छ ।

अन्त्यमा

एसइईपछि प्राप्त करिब एक महिनाको समय जीवनको दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसर हो । यस अवधिलाई योजनाबद्ध र उद्देश्यपूर्ण रूपमा उपयोग गर्न सके विद्यार्थीको शैक्षिक, व्यक्तिगत तथा व्यावसायिक भविष्यलाई सकारात्मक रूपमा रूपान्तरण गर्न सकिन्छ । यस प्रक्रियामा अभिभावक, शिक्षक, विद्यालय र राज्यबिचको समन्वित सहयोग र उचित मार्गदर्शन आवश्यक हुन्छ । यस्तो सहकार्यले विद्यार्थीलाई आफ्ना रुचि, क्षमता र सम्भावनाको सही पहिचान गर्न तथा सोचविचार गरेर उपयुक्त विषय र ‘करिअर’ मार्ग छनोट गर्न मद्दत गर्छ । सही समयमा गरिएको सही निर्णय नै सफल, सन्तुलित र उद्देश्यपूर्ण जीवनको पहिलो तथा सबैभन्दा महत्वपूर्ण आधार हुन्छ ।