राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), वैशाख ५ गते । सिद्धार्थ राजमार्गको स्याङ्जा सडक खण्डमा पर्ने स्थानीय तहहरूले सवारी व्यवस्थापनमा सक्रियता देखाएका छन्। साँघुरो र घुम्तीयुक्त सडकमा जथाभावी सवारी साधन पार्किङ गर्दा दुर्घटना बढेको भन्दै स्थानीय तहहरूले व्यवस्थापनमा ध्यान केन्द्रित गरेका हुन्।
जिल्लाका पुतलीबजार, वालिङ र गल्याङ नगरपालिकाले राजमार्ग व्यवस्थापनका लागि योजनाबद्ध रूपमा काम सुरु गरेका छन्। प्रशासन, प्रहरी तथा विभिन्न यातायात समितिको सहभागितामा भएका छलफलमा पार्किङ व्यवस्थापन गर्ने सहमति भएको छ।
जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका अन्तर्गतको राजमार्ग क्षेत्रमा वैशाख १ गतेदेखि नै पार्किङ व्यवस्थापन सुरु गरिएको छ। त्यस्तै वालिङ नगरपालिकामा वैशाख १० गतेदेखि कडाइका साथ राजमार्गलाई व्यवस्थित बनाउने सहमति भएको छ। गल्याङ नगरपालिकाले पनि साँघुरो सडकमा जथाभावी पार्किङ गर्नेलाई कारबाही गर्ने गरी काम सुरु गरेको छ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको समन्वयमा सरोकारवालाबीच भएको छलफलले तोकिएको स्थानबाहेक जथाभावी पार्किङ नगर्न–नगराउन सूचित गरेको थियो।
स्याङ्जाको मध्यभागमा पर्ने सिद्धार्थ राजमार्ग फेदीखोला, पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिकामा गरी करिब ८२ किलोमिटर क्षेत्रमा फैलिएको छ।
वालिङमा भएको छलफलमा साँघुरो सडकमा जथाभावी पार्किङ गर्दा दुर्घटना तथा जोखिम बढ्ने भएकाले नियन्त्रण आवश्यक रहेको विषयमा छलफल गरिएको थियो। सरोकारवालाको निर्णयअनुसार मुख्य राजमार्गमा कुनै पनि प्रकारका सवारी साधन पार्किङ गर्न नपाइने र तोकिएको स्थानमा मात्र यात्रु चढाउने–ओराल्ने व्यवस्था लागू गरिनेछ। साथै जथाभावी निर्माण सामग्री राख्नेलाई पनि कारबाही गर्ने तयारी गरिएको छ।
जिल्ला प्रशासनमा भएको छलफलले राजमार्गसँग जोडिएका स्थानीय तहहरूलाई सडक व्यवस्थापनमा सहकार्य गर्ने निर्णय गरेको छ। मोटरसाइकल पार्किङ नगरपालिकाका भित्री सडकमा मात्र गर्नुपर्ने, मुख्य राजमार्ग तथा फुटपाथमा पसल, अवैध संरचना तथा निर्माण सामग्री राख्न नपाइने लगायतका निर्णय गरिएका छन्। निर्णय कार्यान्वयनमा अवरोध भए आवश्यक कारबाही अघि बढाइने स्थानीय तहहरूले जनाएका छन्।
यसैबीच, वालिङ नगरपालिकाभित्र वैशाख १० गतेदेखि सिद्धार्थ राजमार्ग क्षेत्रमा कुनै पनि प्रकारका सवारी साधन पार्किङ गर्न नपाइने भएको छ। सडक किनारामा राखिएका ढुंगा, बालुवा, इँटा लगायत निर्माण सामग्री हटाउनुपर्ने वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारीले जानकारी दिनुभयो।
मर्मतका लागि ग्यारेजमा ल्याइएका सवारी साधनसमेत राजमार्ग सीमाभित्र राख्न नपाइने व्यवस्था गरिएको छ। सडकलाई खुला र अवरोधरहित बनाउन यस्ता सामग्री तुरुन्त हटाउनुपर्नेछ। वालिङ नगरपालिका र ट्राफिक प्रहरीले यो नियम कडाइका साथ लागू गर्ने तयारी गरेका छन्।
बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरणका लागि यो कदम चालिएको भन्दै स्थानीय तहहरूले नगरवासी, यातायात व्यवसायी र व्यापारीहरूलाई अभियानमा साथ दिन आग्रह गरेका छन्। यसबारे गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो।