• ५ वैशाख २०८३, शनिबार

घटे भेडीगोठ, हराए राडीपाखी

blog

पाँचथरको फालेलुङ गाउँपालिकास्थित खर्कमा जम्मा भएका भेडा । तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, वैशाख ५ गते  । बिस वर्षअघिसम्म पाँचथरको फालेलुङ र याङवाराक क्षेत्रका उच्च पहाड र हिमाली क्षेत्रमा मात्रै १० वटाभन्दा धेरै भेडीगोठ थिए । गोठमा पाँच हजारभन्दा बढी भेडा भेटिन्थे ।

प्रायः लेकाली खर्कहरू हजारौँ भेडाका बथानले सेताम्मे हुन्थे । पछिल्ला समय खर्कमा भेडासँगै भेडीगोठको सङ्ख्या ह्वात्तै घटेको छ । कुनै समय १० वटा रहेका भेडीगोठ अहिले दुई वटामा सीमित भएका छन् । भेडाको सङ्ख्या पनि पाँच सयमा झरेको छ ।

भेडाको सङ्ख्या घट्दै जाँदा उनबाट तयार पारिने लुकुनी र राडीपाखी जस्ता मौलिक सामग्री पनि व्रmमशः देखिन छाडेका छन् । फालेलुङ र याङवाराकका माथिल्लो भूभागलाई मुख्य वासस्थान बनाउने भेडागोठ बर्खामा इवानागी र तावानागी जस्ता हिमाली भूभागसम्म चहार्छन् ।

ती गोठ साउनको दोस्रो साता सिक्किम र पश्चिम बङ्गालसँग जोडिएको तीन सिमानानजिकको गोसा क्षेत्रबाट ओरालो लाग्छन् र हिउँदभर औलो क्षेत्रमा चरेर चैत लागेपछि पुनः थातथलो उक्लिन थाल्छन् । यतिबेला तल्ला खर्कमा चर्न आएका भेडीगोठ पुनः उच्च पहाडी भूभागतिर फर्किन थालेको फालेलुङ–२ का भेडापालक धनबहादुर राईले जानकारी दिनुभयो ।  

“केही दिनअघिसम्म फालेलुङ गाउँपालिका–२, जरिङ्गे र याङवाराक–४, फागुने क्षेत्रमा चरेका भेडा गर्मी लागेसँग व्रmमशः उकालो लैजान थालेका छौँ,” राईले भन्नुभयो । धनबहादुरका गोठमा तीन सयभन्दा बढी भेडा छन् । भेडीगोठलाई जङ्गली जनावरबाट जोगाउन गोठालाले भोटे कुकुरको सहारा लिने गरेका छन् । यस वर्षको हिउँदमा फालेलुङ क्षेत्रका खुङ्गा, एकतिन, दाङलेप्पा, माङ्लेबुङ र चरीभन्ज्याङलगायतका स्थानमा भेडाले घाँस खाइसकेको भेडापालकले बताएका छन् । भेडा बहुउपयोगी जनावर भएकाले यसको पाठापाठी प्रतिगोटा १५ हजारदेखि ३० हजार रुपियाँसम्ममा बिव्रmी हुने गर्छ । भेडाको दुध, घिउ र मासु उपयोगी मानिन्छ । घिउ प्रतिकिलो तीन हजार रुपियाँसम्ममा बिव्रmी हुने अर्का भेडापालक सन्तवीर राई बताउनुहुन्छ । 

पछिल्लो समय भेडामा लाग्ने रोग, चरनक्षेत्र घट्दै जानु, जङ्गली जनावरको आव्रmमण र उनजन्य घरेलु उद्योग बन्द हुँदै जानु भेडापालकका मुख्य चुनौती बनेका छन् । पहिले पहिले भेडाको उनबाट राडीपाखी र लुकुनी जस्ता सामग्री तयार हुन्थे । राडीपाखी ओछ्याउन प्रयोग हुन्थे भने लुकुनी चौँरी र भेडापालकले लगाउँथे । पछिल्लो समय बजारमा उत्पादन भएका गलैँचालगायतका सामग्रीले राडीपाखी विस्थापन गर्न थालेको व्यवसायी बताउँछन् । परम्परागत सिप हस्तान्तरण नहुँदा यस्ता सामग्री बुन्ने र बनाउने परम्परागत घरेलु उद्योग पनि क्रमशः लोप हुने अवस्थामा पुगेका छन् ।

भेडापालनलाई जोगाउन र युवापुस्तालाई यसतर्फ आकर्षित गर्न तीन तहका सरकारले अनुदान, उपचार सेवा र बजार व्यवस्थापनका कार्यक्रम ल्याउनुपर्ने भेडापालकको माग छ ।