रामकृष्ण बोहरा
बागलुङ, वैशाख ५ गते । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा बागलुङका १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये नौ जना पुरुष र एक जना महिला रहेका छन्। तीमध्ये ९ जनाको विदेशमै र श्रम स्वीकृति भएका एक जनाको नेपालमै मृत्यु भएको हो।
आप्रवासी स्रोत केन्द्र बागलुङका अनुसार वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनेहरूमा बागलुङ र गलकोट नगरपालिकाका २÷२ जना, जैमिनी नगरपालिका, बडिगाड, काठेखोला, बरेङ र ताराखोला गाउँपालिकाका १÷१ जना रहेका छन्। उनीहरू साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, जापान र रोमानिया गएका थिए।
चालु वर्षमा समस्यामा परेका १३८ जना कामदारमध्ये ५८ जनाको सकुशल उद्धार गरिएको आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता गंगा शर्माले जानकारी दिनुभयो। तीमध्ये २२ जनाको उद्धारमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको थियो।
आर्थिक वर्ष २०८०/८१ मा पनि बागलुङका १७ जना युवाको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको थियो। मृत्यु हुने अधिकांश ४० वर्षभन्दा कम उमेरका थिए। सबैभन्दा बढी मृत्यु साउदी अरबमा गएका कामदारको भएको केन्द्रको तथ्यांकमा उल्लेख छ।
सोही आर्थिक वर्षमा बागलुङबाट वैदेशिक रोजगारीमा गएका थप १५६ जना विभिन्न समस्यामा परेका थिए। तीमध्ये १३७ पुरुष र १९ महिला पीडित थिए। विदेश जानुअघि समस्या नपरोस् भनेर केन्द्रले नियमित परामर्श सेवा दिँदै आएको छ। चालु वर्षमा मात्र ९ हजारभन्दा बढीलाई परामर्श दिइसकिएको परामर्शकर्ता शर्माले जानकारी दिनुभयो।
यसैबिच, गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा गएर समस्यामा परेका तमानखोला गाउँपालिकाका एक युवा १९ वर्षपछि असक्त अवस्थामा घर फर्किएका छन्। बिचौलियाको लहलहैमा सन् २००७ मा बहराइन पुगेका तमानखोला–२ भयरबोङगाका ४१ वर्षीय श्यामकुमार घर्ती असक्त भएर घर फर्किनुभएको हो।
गैरकानुनी रूपमा बहराइन पुगेपछि ६ महिनादेखि उहाँ सम्पर्कविहीन हुनुभएको थियो। गत वर्ष फागुनमा बहराइनस्थित दूतावासबाट उहाँ कोमामा रहेको जानकारी प्राप्त भएपछि गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा र जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले वैदेशिक रोजगार बोर्डमा जानकारी गराउनुभएको थियो।
प्रमुख जिल्ला अधिकारीमार्फत आप्रवासी स्रोत केन्द्रले आवश्यक कागजात दूतावासमा पठाएपछि उहाँको पहिचान पुष्टि भएको थियो। उपचारका क्रममा करिब १५ लाख रुपियाँ खर्च भए पनि गैरकानुनी रूपमा बसेका कारण उक्त खर्च नेपाल सरकारले बेहोर्नुपरेको परामर्शकर्ता शर्माले बताउनुभयो।
२०८१ फागुनमा दर्ता प्रक्रिया सुरु गरी आवश्यक कागजात पठाएपछि घर्ती एक वर्षपछि नेपाल फर्किनुभएको हो। अहिले उहाँ गाउँमा बुबासँग बसिरहनुभएको छ। उहाँको दैनिकी स्थानीय तहको सहयोगमा चलिरहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो।