• ५ वैशाख २०८३, शनिबार

पुलको पर्खाइमा कर्णालीपारिका स्थानीयवासी

blog

सवारीसाधन वारपार गर्न कर्णाली नदीमा राखिएको फेरी । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता

बाजुरा, वैशाख ५ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको कर्णालीपारिका स्थानीयवासी पुस्तौँदेखि कर्णाली नदीमा पक्की पुलको पर्खाइमा रहेका छन् । कर्णाली नदीमा पक्की पुल नहुँदा यहाँको स्वामीकार्तिक खापर गाउँपालिकाका स्थानीय झोलुङ्गे तथा फेरीको सहाराले नदी वारपार गर्ने गरेका छन् । 

यहाँका स्थानीयले कर्णाली नदीमा राखेको फेरीका सहाराले दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका छन् । यसबाट हिउँदको महिना केही सहज हुने गरेको भए पनि बर्खाको समय फेरी बन्द हुने गरेको भन्दै अहिले यहाँका बासिन्दा कर्णाली नदीमा पक्की पुलको माग गर्दै आएका छन् । 

स्वामीकार्तिक खापर गाउँपालिकाका वीरभान विकले यहाँका बासिन्दाले कर्णाली नदीमा पक्की पुल निर्माणका लागि माग गर्दै आए पनि अहिलेसम्म कतैबाट पूरा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली नदीमा राखेको एक झोलुङ्गे पुल र फेरीले हिउँदमा केही सहज बनाए पनि बर्खाको समयमा निकै समस्या हुने गरेको छ ।’’ यहाँको गाउँपालिकाले सबै वडामा ग्रामीण सडक पु¥याएको छ । पालिकाले केही गाउँबस्तीमा अहिले पनि सडक खन्ने कामलाई निरन्तरता दिँदै आएको छ तर कर्णाली नदीमा भने पक्की पुल कहिले बन्ला भन्ने अत्तोपत्तो छैन । कर्णालीपारिको स्वामीकार्तिक खापर गाउँपालिकामा अहिले दुई हजार ४४२ घरधुरी रहेका छन् । यहाँ १९ हजार ९०९ जनसङ्ख्या रहेको छ । 

यहाँका स्थानीयले स्याउ, कोदो, फापर, सिमी र प्याज उत्पादन गर्ने गर्छन् । पुल नहुँदा यहाँको उत्पादन समयमा बजार पुग्न नसकेको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।