• ७ जेठ २०८१, सोमबार

सङ्खुवासभामा पाँच मतदान स्थल थप्न सिफारिस

blog

जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठक । तस्विरः ध्यान कुलुङ

सङ्खुवासभा, साउन १३ गते । आसन्न संघ र प्रदेशसभाको निर्वाचनमा सङ्खुवासभामा पाँच वटा मतदान केन्द्र थप्न सिफारिस गरिने भएको छ । विहीबार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले यस्तो गर्ने निर्णय गरेको हो ।

यस अघिको शसस्त्र द्वन्द्वको क्रममा हटाईएका तथा मतदाताको संख्या बढेको स्थानहरुमा मतदान स्थल थप्न सिफारिस गर्ने निर्णय गरेको हो । मकालु गाउँपालिका ५ सोभाङमा, सभापोखरी गाउँपालिकाको त्रिबेणी मावि बाह्रविसे र भोटखोला गाउँपालिका ५ को सिद्धकाली आधारभुत विद्यालय राप्सामा मतदान स्थल थप्नका लागि निर्वाचन अयोगलाई सिफारिस गर्ने निर्णय गरेको हो । 

त्यस्तै, खाँदबारी नगरपालिका ६ को विद्योदय संस्कृत विद्यालयमा र सिलिचोङ गाउँपालिका ३ ताम्कुको लक्ष्मी आधारभुत विद्यालय लकुवामा मतदान केन्द्र थप्न सिफारिस गरिने भएको हो । समितिले खाँदबारी नगरपालिका ८ को वडा कार्यालयमा रहेको मतदान स्थललाई सोहि वडामा रहेको बरुण बहुमुखी क्याम्पसमा स्थानन्तरण गर्ने निर्णय गरेको छ । त्यस्तै, खाँदबारी नगरपालिका ११ को हिमालय मावि आङ्लाको मतदान स्थललाई वडा कार्यालयमा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

सङ्खुवासभामा हाल १०३ वटा मतदान स्थल र १६२ मतदान केन्द्र रहेका छन् । समितिले सिफारिस गर्न लागेको मतदान केन्द्र स्वीकृत भए स्थल र केन्द्रको संख्या बढ्नेछ । उक्त मतदान स्थल थपिए पश्चात पनि कतिपय ठाउँमा मतदान गर्न ४ घण्टासम्म हिड्नु पर्ने बाध्यता छ ।

Author
ध्यान कुलुङ

उहाँ सङ्खुवासभाबाट गोरखापत्रलाई रिपोर्टिङ गर्नुहुन्छ ।