• १२ साउन २०८१, शनिबार

चाक्चाकुर पर्व मनाउँदै कुलुङ समुदाय

blog

सङ्खुवासभा, पुस १५ गते । आदिवासी कुलुङ समुदायको प्रमुख पर्व चाक्चाकुर पर्व आजबाट मनाउन सुरु गरिएको छ । कुलुङ समुदायको बाहुल्य क्षेत्रमा पौष १५ देखि १७ सम्म तीन दिन यो पर्व मनाउने गरिन्छ ।
कुलुङ समुदायको बसोबास रहेको जिल्लाहरू सोलुखुम्बु, सङ्खुवासभा, भोजपुर, धनकुटा, सुनसरी, झापा, इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, काठमाडौँ, कास्की लगायतका जिल्लाहरूमा चाक्चाकुर पर्व मनाउन सुरु गरिएको हो । यस बाहेक भारत, अमेरिका, युके, हङ्गकङ्ग, दक्षिण कोरिया लगायतका देशहरूमा समेत कुलुङ समुदायले यो पर्व मनाउने गरेका छन् ।
उँधौलीको समयमा आफ्ना पितृ र प्रकृतिलाई पुज्दै यो पर्व मनाउने गरिएको छ । यो पर्वको अवसरमा चुला खन्याउने, नयाँ अन्न बाली पितृलाई चढाएर आशीर्वाद माग्ने र खुसीयालीमा कुलुङ सांस्कृतिक नाँचहरु नाच्ने गरिन्छ । यस पर्वको अवसरमा ठुलाबडाको हातबाट टिका समेत लगाउने चलन छ । 
चाक्चाकुर पर्वको अवसरमा सामूहिक खानपान कार्यक्रमहरूको पनि आयोजना गरिन्छ । यहीँ अवसरमा कुलुङ बाहुल्य क्षेत्रका कुलुङ समुदाय सम्बद्ध सङ्घ संस्था, क्लब, समूहहरूले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको समेत आयोजना  गर्ने गरेका छन् ।

यस पर्वको अवसरमा कुलुङ समुदायको बाहुल्य क्षेत्रका स्थानीय तहहरूले स्थानीय बिदा समेत दिँदै आएको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले १५ देखि १७ सम्म ३ दिन स्थानीय बिदा दिने गरेको छ भने सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा १५ र १६ गते दुई दिनसम्म स्थानीय बिदा दिँदै आएको छ । यस पर्वलाई कुलुङ समुदायले राष्ट्रिय पर्वको रूपमा मान्यता दिन समेत सरकारसँग माग राख्दै आएको छन् ।
Author
ध्यान कुलुङ

उहाँ सङ्खुवासभाबाट गोरखापत्रलाई रिपोर्टिङ गर्नुहुन्छ ।