• ५ वैशाख २०८३, शनिबार

दुई वर्षदेखि विद्युत् उत्पादन बन्द

blog

वासुलिङ समाचारदाता 

वासुलिङ, वैशाख ५ गते । पाटन नगरपालिका–६ स्थित सुर्नयागाड जलविद्युत् आयोजनाबाट करिब दुई वर्षदेखि विद्युत् उत्पादन बन्द हुँदा आसपासका बस्ती अन्धकारमा बस्न बाध्य 

भएका छन् । प्राविधिक व्यवस्थापन अभाव र एडिआर प्रणालीमा आएको समस्याका कारण आयोजना बन्द भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । एक समय एक सय किलोवाट विद्युत् उत्पादन हुँदै आएको आयोजना प्रणालीमा समस्या आएपछि पुनः सञ्चालन हुन सकेको छैन ।

यसअघि दुई सय किलोवाट क्षमताको आयोजना २०७९ जेठदेखि पूर्ण रूपमा बन्द भएको थियो । पछि मर्मतपछि २०८० माघबाट एक सय किलोवाट उत्पादन सुरु गरिए पनि पुनः प्राविधिक गडबडीका कारण बन्द भएको हो ।  

आयोजनाको नहर, संरचना तथा उपकरणमा समस्या देखिएकाले तत्काल सञ्चालन सम्भव नरहेको केन्द्र प्रमुख अषेश्वर शाहले जानकारी दिनुभयो । प्राविधिक टोलीले अध्ययन गरी मर्मत र पुनः सञ्चालनका लागि पहल भइरहेको जनाइएको छ । जिल्लामा प्राविधिक व्यवस्थापन अभावका कारण अधिकांश लघु जलविद्युत् आयोजना बन्द हुँदै गएका छन् । सुर्नयागाड आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आए दुर्गम क्षेत्रका बासिन्दालाई विद्युत् आपूर्तिमा सहजता हुने अपेक्षा गरिएको छ ।