धीरेन्द्रप्रसाद साह
राजविराज, वैशाख ५ गते । सप्तरीमा एकै महिनामा ११८ वटा विभिन्न प्रकारका अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये सामाजिक अपराधसम्बन्धी २०, चोरीसम्बन्धी आठ, संगठित तथा अपराधसम्बन्धी एक, महिला तथा बालबालिकासम्बन्धी अपराधमा १८, सवारी ज्यानमा पाँच, आत्महत्यासम्बन्धी १३ तथा ज्यानसम्बन्धी पाँच र अन्य ५३ वटा मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै जघन्य तथा गम्भीर अपराधअन्तर्ग बैकिङ्ग कसुर अपराधमा १४ र ठगीमा चार गरी १८ वटा मुद्दा दर्ता भएको निमित्त सूचना अधिकारी प्रहरी अधिकृत विजय कार्कीले बताउनुभयो ।
यस अवधिमा चालु मुद्दाका ५५ जना प्रतिवादीलाई पक्राउ गरिएको उहाँले सार्वजनिक चासोका ३५ वटा मुद्दा वर्षमा फस्र्योट गरिएको छ भने यस महिनाको आठ वटा मुद्दा पेण्डिङ्ग रहेको जानकारी दिनुभयो । अदालतको फैसला कार्यान्वयनको क्रममा विभिन्न मुद्दामा फरार रहेका ३२ जनालाई पक्राउ गरी उनीहरूबाट तीन वर्ष नौ महिना २० दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको छ भने १० लाख ५३ हजार ८०१ रुपियाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रणको क्रममा चैत महिनामा १०५ किलो ५२५ ग्राम गाँजा र ८६ एम्पुल लागूऔषध बरामद गरिएको जानकारी गराइएको छ ।
यस्तै सवारी दुर्घटना २० वटा हुँदा एक जनाको मृत्यु र ३१ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कारबाही गरी तीन लाख ५३ हजार ७०१ रुपियाँ राजस्व संकलन गरिएको छ । दुर्घटनाका प्रमुख कारणमा तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउनु तथा ट्राफिक अनुशासनको कमी रहेको विश्लेषण गरिएको छ ।
विपद् व्यवस्थापन अन्तर्गत १८ वटा आगलागीका घटना हुँदा करिब एक करोड १० लाख ८५ हजार पाँच सय रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । त्यस्तै, करेन्ट लागेर एक जनाको मृत्यु र दुई जना घाइते भएका छन ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ११० उजुरी दर्ता भएका छन् । पीडितहरूको उमेर समूह विश्लेषण गर्दा २६ देखि ४० वर्ष समूहका पीडितको संख्या सबैभन्दा बढी रहेको छ । यसले घरेलु तथा सामाजिक हिंसाका घटना अझै पनि चिन्ताजनक रहेको देखाउँछ ।
गत विगतमा ४३ जना हराएकोमध्ये १५ जना फेला परेको जनाएको छ । ठाडो उजुरीतर्फ जिल्ला प्रहरी कार्यालयमा प्रत्यक्ष तथा जिल्ला प्रशासन कार्यालयमार्फत आएका गरी ४१७ उजुरी दर्ता भएका छन् । तीमध्ये ४१३ उजुरी फस्र्योट भइसकेका छन् भने चार उजुरी अनुसन्धानकै क्रममा रहेको जनाएको छ ।
भन्सार छली गरेर ल्याइरहेका पाँच लाख नौ हजार रुपियाँ बराबरका सामान बरामद गरिएको छ । प्राकृतिक स्रोत दोहन नियन्त्रणतर्फ ३० हजार रुपियाँ जरिवाना असुल गरिएको प्रनि कार्कीले जनाउनु भएको छ ।
लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण, महिला हिंसा, बालविवाह, आइबर अपराध, ट्राफिक चेतना लगायतसम्बन्धी समुदाय–विद्यालय कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ । चैत महिनामा ११९ वटा समुदाय–विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको छ ।