रवीन्द्र उप्रेती
बर्दीबास, वैशाख ५ गते । खाडी क्षेत्रमा चर्किँदै गएको युद्धका कारण खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि बर्दीबासका उपभोक्ताहरू विद्युतीय चुल्होतर्फ आकर्षित हुन थालेका छन्। ग्यास अभावसँगै मूल्यसमेत बढ्दै गएपछि बजारमा विद्युतीय चुल्होको माग उल्लेख्य रूपमा वृद्धि भएको व्यापारीहरूले बताएका छन्।
ग्यास अभाव र मूल्य वृद्धिका कारण विद्युतीय चुल्होको प्रयोग तीव्र रूपमा बढे पनि यसको दीगो प्रयोगका लागि नियमित विद्युत् आपूर्ति आवश्यक रहेको उपभोक्ताहरूले औंल्याएका छन्।
स्थानीय व्यापारीका अनुसार खाडी युद्ध चर्कनुअघि महिनामा मुस्किलले ७–८ वटा मात्र बिक्री हुने विद्युतीय चुल्हो अहिले दुई सयभन्दा बढी बिक्री हुन थालेको छ। गृहिणीहरू समेत यसको प्रयोगतर्फ आकर्षित भएसँगै बजारमा कारोबार ह्वात्तै बढेको हो।
बर्दीबासमा रोहण इन्टरप्राइजेज, प्रिन्स भाँडा पसल, श्रेष्ठ इलेक्ट्रोनिक्स, बलस्टर इलेक्ट्रोनिक्सलगायत आधा दर्जनभन्दा बढी पसलले विद्युतीय चुल्होको कारोबार गर्दै आएका छन्।
रोहण इन्टरप्राइजेजका सञ्चालक रोशन श्रेष्ठका अनुसार ग्यास अभाव बढेपछि चैत महिनामा मात्र ६० वटा चुल्हो बिक्री भएको छ। “यसअघि महिनामा २–३ वटा मात्रै बिक्री हुने गथ्र्यो, अहिले माग धान्नै सकिएको छैन,” उहाँले भन्नुभयो।
विद्युतीय चुल्होको सबैभन्दा बढी कारोबार गर्ने प्रिन्स भाँडा पसलका म्यानेजर सन्तोष सुवेदीका अनुसार अहिले मागअनुसार आपूर्ति गर्न सकिएको छैन। चैत महिनामा मात्र ४२ थान (७ कार्टुन) भन्दा बढी विद्युतीय चुल्हो बिक्री भएको उहाँले बताउनुभयो।
उहाँका अनुसार पहिले महिनामा ५–७ थान पनि बिक्री नहुने चुल्हो अहिले डिलरले समेत आपूर्ति गर्न नसकेको अवस्था छ। “काठमाडौंको डिलरसँग ५ कार्टुन (३० थान) मग गरेको थिएँ, एक साता बितिसक्यो अझै आएको छैन,” उहाँले भन्नुभयो।
हाल बजारमा इन्डक्सन र इन्फ्रारेड गरी दुई प्रकारका विद्युतीय चुल्हो उपलब्ध छन्। जुनसुकै भाँडा प्रयोग गर्न मिल्ने भएकाले करिब ७० प्रतिशत उपभोक्ताको रोजाइमा इन्फ्रारेड चुल्हो परेको विक्रेताहरू बताउँछन्। तर मागअनुसार आपूर्ति नहुँदा कतिपय ग्राहक खाली हात फर्किन बाध्य छन्।
बर्दीबास–१ की समीक्षा पौडेलले ग्यासको तुलनामा विद्युतीय चुल्हो सुरक्षित, सहज र ढुवानीको झन्झट नभएकाले प्रयोग गर्न थालेको बताउनुभयो। “इन्फ्रारेड चुल्हो ल्याएदेखि सिलिन्डर चुल्हो थन्काइसकेकी छु,” उहाँले भन्नुभयो।
यता बर्दीबास ग्यास संघका अध्यक्ष सरोज श्रेष्ठका अनुसार पछिल्लो समय ग्यासको आपूर्ति उल्लेख्य रूपमा घटेको छ। पहिले दैनिक ३०० सिलिन्डर खपत हुने बर्दीबासमा अहिले यो संख्या करिब ८० मा सीमित भएको छ।
“होटल व्यवसायीलाई छोड्ने हो भने सर्वसाधारण ग्राहक आधा सिलिन्डर लिन पनि मान्दैनन्, त्यसैले पनि विद्युतीय चुल्होको प्रयोग बढ्दै गएको हुन सक्छ,” उहाँले भन्नुभयो।
यद्यपि, विद्युतीय चुल्होको प्रयोग बढे पनि अनियमित विद्युत् आपूर्ति उपभोक्ताका लागि समस्या बनेको छ। बर्दीबास–३ की सुमित्रा देवीले भन्नुभयो, “विद्युतीय चुल्हो सजिलो र सस्तो लाग्यो, तर बत्ती बारम्बार जाने हुँदा समस्या हुन्छ। नियमित बिजुली भए ग्यासको आवश्यकता नै पर्दैनथ्यो।”