• ५ वैशाख २०८३, शनिबार

विराट गोल्डकप फाइनल: झापा उपाधि खोज्दै, सम्राट इतिहास रच्ने लक्ष्यमा

blog

विराट गोल्डकपको ट्रफि उचाल्दै । तस्बिरः शशिधर पराजुली

शशिधर पराजुली 
विराटनगर, वैशान ५ गते ।
विराटनगरमा जारी ३८औं संस्करणको नोबेल विराट गोल्डकपको उपाधिका लागि शनिबार पूर्व विजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब भिड्दैछन् ।

सहिद रंगशालामा शनिबार साँझ ७ बजेबाट हुने फाइनल खेलमा उपाधि आफ्नो पक्षमा पार्ने दाबी गर्दै दुवै टोली मैदान उत्रने तयारीमा छन् ।

विराट गोल्डकपको इतिहासमा झापा–११ दोस्रो पटक उपाधि उचाल्ने दाउमा छ भने घरेलु मैदानको फाइदा उठाउँदै सम्राट स्पोर्टिङ क्लब पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पार्न चाहन्छ । झापाले यसअघि २०७१ सालमा त्रिभुवन आर्मी क्लबलाई हराएर उपाधि जितेको थियो । यसपटक पनि दुई बलिया विभागीय टोली आर्मी र नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै झापाले फाइनल यात्रा तय गरेको हो ।

अर्कोतर्फ, पहिलो पटक प्रतियोगितामा भाग लिएको सम्राट स्पोर्टिङ क्लबको मनोबल उच्च छ । उसले क्वाटरफाइनलमा पाहुना टोली भारतको बिर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ ले र सेमिफाइनलमा लिग च्याम्पियन टोली चर्च ब्वाइज युनाइटेडलाई ३–१ कै गोल अन्तरले पराजित गर्दै जबरजस्त उपस्थिति देखाएको छ ।

शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीति सार्वजनिक गर्नुभयो । सम्राटका प्रशिक्षक पारस चौधरीले घरेलु मैदान र दर्शकको साथ नै आफ्नो टोलीको मुख्य शक्ति भएको बताउनुभयो । “पहिलो सहभागितामै फाइनल पुग्नु हाम्रा लागि ठूलो उपलब्धी हो,” उहाँले भन्नुभयो, “झापासँग विदेशी खेलाडी भए पनि हाम्रा खेलाडीहरू प्राविधिक रुपमा उत्कृष्ट छन् । घरेलु मैदानमा उपाधि जित्दै इतिहास रच्नेछौं ।”

सम्राटका कप्तान अशोक खवासले सेमिफाइनलमा देखिएका केही फिनिसिङका कमजोरीहरूलाई सुधार गर्दै मैदान उत्रने बताउनुभयो ।

यता, झापा–११ का प्रशिक्षक गणेश खड्काले आफू खेलाडी हुँदा जितेको उपाधि अहिले प्रशिक्षकका रूपमा पनि दोहोर्याउन चाहेको बताउनुभयो ।

झापाका कप्तान पूजन थापाले युवा र विदेशी खेलाडीहरूको सन्तुलित टिम रहेकाले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिष्ठित गोल्डकपको ट्रफी दोस्रो पटक झापा लैजाने विश्वास व्यक्त गर्नुभयो ।

चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतसहित ८ टोलीको सहभागिता रहेको थियो । शनिबारको विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५–१५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।