• ५ वैशाख २०८३, शनिबार

सडक सुरक्षाबारे सुझाव सङ्कलन

blog

कर्णालीको सडक सुरक्षामा सुधार ल्याउन आयोजना गरिएको प्रदेशस्तरीय कार्यक्रम । तस्बिर : ललित बसेल

सुर्खेत समाचारदाता

सुर्खेत, वैशाख ५ गते ।  सडक दुर्घटनाबाट जनधनको व्यापक क्षति बढ्न थालेपछि सडक सुरक्षामा सुधार ल्याउन प्रदेशस्तरीय सुझाव सङ्कलन गर्न थालिएको छ । 

राष्ट्रिय सडक सुरक्षा परिषद्, कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र एसियाली विकास बैङ्कको आयोजनामा सडकको सुरक्षा अवस्थामा सुधार ल्याउन सुझाव सङ्कलन गर्न थालिएको हो । 

शुक्रबार सुर्खेतमा कर्णाली प्रदेशस्तरीय कार्यक्रम गरी प्रदेशको सडक सुरक्षाको अवस्था, विद्यमान कानुनी तथा संस्थागत संरचना, प्रस्तावित सडक सुरक्षा विधेयक २०८१ बारे सुझाव सङ्कलन गरिएको छ । सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव भीमार्जुन अधिकारीले नेपालको सडकको अवस्था नाजुक हुँदै गएकाले यसमा सुधार ल्याई जनधनको क्षतिमा कमी ल्याउन सुझाव सङ्कलन गरिरहेको बताउनुभयो । 

उहाँले सडक दुर्घटनाले मानवीय र पूर्वाधारको व्यापक क्षति बढाएको हुँदा अब सडक सुरक्षामा ध्यान दिन अति आवश्यक रहेको उल्लेख गर्नुभयो । कर्णालीमा धेरैजसो सडक कच्ची र जीर्ण भएकाले गाडी भिरबाट खस्ने प्रमुख समस्याका रूपमा रहेको पाइएको उहाँको भनाइ छ । सडक सुरक्षाको नीतिगत सुधारका लागि सुझाव सङ्कलन गरिरहेको र आगामी दिनमा प्रस्ताविक सडक सुरक्षा विधेयकमा ती सुझाव समावेश गर्न सकिने मन्त्रालयका सहसचिव अधिकारीले बताउनुभयो । 

यसै गरी कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले कर्णालीमा सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा सडकको अवस्था चिन्ताजनक भएकाले दुर्घटना बढिरहेको जनाउनुभयो । उहाँले पछिल्लो समय सहरमा पूर्वाधार विकासको मापदण्ड अनुसार काम भइरहेको तर ग्रामीण क्षेत्रमा डोजरले मन लाग्दा सडक बनाउने हुँदा दुर्घटना हुने र त्यसबाट व्यापक जनधनको क्षति बढेको उल्लेख गर्नुभयो । मन्त्रालयले मापदण्ड अनुसार काम गरिरहेको, जनचेतना जगाइरहेको जानकारी दिँदै मन्त्री बुढाले सडक पूर्वाधारको व्यवस्थापन, सचेतना जस्ता कामलाई प्राथमिकता दिएको बताउनुभयो । 

एसियाली विकास बैङ्क (एडिबी) का बरिष्ठ परियोजना अधिकृत हेमन्त तिवारीले कर्णालीमा सडकको पहुँच बढेसँगै मोटरसाइकल तथा यातायातका साधनको प्रयोग पनि बढेको र दुर्घटना पनि त्यति नै भइरहेको बताउनुभयो । उहाँले सडक सुरक्षालाई प्राथमिकतामा राखेर सहयोग गरिरहेको जानकारी दिँदै कर्णाली प्रदेशमा दुर्घटनाको मुख्य कारण सडकको दुरवस्थालगायत रहेको औँल्याउनुभयो । 

कर्णाली प्रदेशमा सडक दुर्घटनाको अवस्था कमजोर रहेको छ । प्रदेश प्रहरीको तथ्याङ्क अनुसार गत पाँच वर्षको अवधिमा कर्णालीमा तीन हजार २७४ वटा सडक दुर्घटना भएका छन् । जसमा चार हजार २०६ वटा सवारीसाधन क्षतिग्रस्त भएका छन् भने मृत्यु ६५५ जना, गम्भीर घाइते दुई हजार ५० जना र सामान्य घाइते चार हजार ५१८ जना भएका छन् । यो तथ्याङ्क आर्थिक वर्ष २०७७/७८ देखि आव २०८१/८२ सम्मको हो । यो अवधिमा सबैभन्दा धेरै दुर्घटना दुईपाङ्ग्रे सवारीसाधन भएका छन् । दुई हजार ६४ वटा दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनामा परेका छन् । त्यसपछि कार/जिप ६३३ वटा, ट्याम्पो ४२४ वटा, ट्रक र ट्याक्टर २३५ वटा र बस २२८ वटा दुर्घटनामा परेका छन् । जति पनि दुर्घटना भएका छन् त्यसमध्ये ८० प्रतिशत चालकको कारणले भएको पाइएको छ । यसमा पनि ८३ प्रतिशत तीव्र गतिले दुर्घटना भएको छ । यससँगै यात्रुको कारण, सवारीसाधनको कारण, सडकको अवस्थाले पनि सडक दुर्घटना हुने गरेको जानकारी कार्यक्रममा दिइएको छ ।