सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, वैशाख ५ गते । सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाइ सुरु हुनुअगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक्री केन्द्र (डिपो) मार्फत व्यवसायीले सिन्धुलीका लागि ल्याएका पाठ्यपुस्तक सम्बन्धित विद्यालयले धमाधम उठाईरहेका छन् । कमलमाई नगरपालिका–१३ स्थित प्रभात मावि रानीबासका प्रधानाध्यापक अरुणकुमार थिङ उक्त विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक लगिसकेको जानकारी दिनुहुन्छ ।
“विद्यालयलाई आवश्यक पर्ने जति पाठ्यपुस्तक ल्याएर थन्क्याइसकेका छौँ,” उहाँले भन्नुभयो, “वैशाख १५ गतेबाट विद्यालय भर्ना अभियान सुरु गर्छौं । भर्ना अभियानमा विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराई वैशाख २१ गतेदेखि विद्यालयमा पढाइ सुरु गर्ने तयारी गरेका छौँ ।”
त्यस्तै कमलामाई नगरपालिका–४ स्थित कमला मावि ढुङ्ग्रेबासमा पनि धमाधम विद्यार्थीलाई पाठ्यपुस्तक वितरण कार्य भइरहेको छ । विद्यालयका प्रधानाध्यापक कमलेश चौधरी पाठ्यपुस्तक विद्यालयमा ल्याई सम्पर्कमा आएका विद्यार्थीलाई वितरण भइरहेको बताउनुहुन्छ । विगतमा शैक्षिक सत्र सुरु भइसक्दासमेत विद्यार्थीको हातमा पाठ्यपुस्तक नहुने समस्या यो पटक टरेको छ । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लामा कुल ५३४ वटा सामुदायिक विद्यालय रहेका छन् । सरकारले देशभर नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि गर्ने निर्णय गरिसकेको छ ।