• ५ वैशाख २०८३, शनिबार

चिहान मात्रै होइन ताजमहल

blog

ओहो ! यहाँ त दिनभरि घुमे पनि नसकिने रहेछ । सरसर्ती नजर दौडाउँदै गयौँ । चर्चित दुई द्वार रहेछन्– दिल्ली गेट र ग्वालियर गेट (अमरसिंह द्वार), अर्को गेट पनि देखियो । खास महल, जहाँगिर महल, मीना मस्जिद भई मुसम्मन बुर्ज गइयो ।

सबेरै उठी वृन्दावनको अटल्लाचुङ्गी तिराहाबाट अटोरिक्सा चढेर ‘मथुरा न्यु बस स्ट्यान्ड’ पुगियो । तै आगरा जाने बस लागेको रहेछ । 

२०८२ मङ्सिर २ गतेको कुरो हो । ठिक ६:३० बजे बस हिँडिहाल्यो । ५८ किलोमिटरको यात्रा करिब डेढ घण्टामै पूरा भयो । ‘आगरा’ ओर्लन पाएको छैन, ‘ताजमहल’ भट्याउँदै आउनेहरू बग्रेल्ती हुँदा रहेछन् । कतै काम नदिई हामी ‘यतै काममा आएको’ भनी बाहिर निस्किएर चियापान गरी आफ्नै सुरले अटोरिक्सा लिँदा उनीहरूले भनेभन्दा दसांश कम ६० रुपियाँले गन्तव्यमा पुगियो । ताजमहल प्रवेश गर्न टिकट काटियो, जति ¥याइँ¥याइँ गरिए पनि ‘गाइड’ लिइएन । सुक्खा फल बोकिएको थियो, भित्र लान नपाइने रहेछ, भोक नलागे पनि फाल्न मन भएन, बेन्चमा बसी उदरस्थ गरियो । 

भव्य प्रवेशद्वारबाट छिर्दै गर्दा अद्भुत ताजमहल देखियो । ठ्याक्कै झ्यालबाट देखिए जस्तो हुने भएकाले मनोरम ताजमहलको तस्बिर उतार्न सबै तम्सिए । भित्र पस्नासाथ देखिने ताजमहल, फोहरा र वरपर सुशोभित बगैँचाले जो कोहीको मन सहजै तान्दो रहेछ । टाढैबाट पनि कत्ति सुन्दर, कति आकर्षक देखिने रहेछ– ताजमहल । यसलाई बनाउन २२ वर्ष लागेको रहेछ । २० हजार श्रमिकका रगत, पसिना एक भएका रहेछन् । स्थानीय रातो र मकराना (राजस्थानी) सेतो सिङ्गमरमरद्वारा निर्मित ताजमहल दुई गुम्बजसहित १७३ मिटर उचाइमा रहेछ । सन् १६५३ मा यसको निर्माण पूरा भएको हो रे !

सात आश्चर्य

संसारकै सात आश्चर्यमध्ये एक रहेछ– ताजमहल । यसबाहेक, चीन, जोर्डन, इटाली, पेरु, ब्राजिल र मेक्सिकोमा अन्य आश्चर्यजनक पाटा रहेछन् । चीनको सुरक्षाका लागि बनाइएको ‘ग्रेटवाल’ (विशाल पर्खाल) संसारकै सबैभन्दा लामो पर्खाल रहेछ । जोडर्नमा गुलाफी चट्टान काटेर बनाइएको सुन्दर भवन ‘पेट्रा’, इटालीको रोममा अवस्थित विशाल स्टेडियम ‘कोलोसियम’, पेरुको एन्डिज पर्वतमा अवस्थित प्राचीन इंका सभ्यताको नगर ‘माचु पिचु’, ब्राजिल, रियो दी जेनेरियोमा रहेको ईशा मसीहको अग्लो प्रतिमा ‘क्राइस्ट दी रिडिमर’ र मेक्सिकोमा रहेको माया सभ्यताको केन्द्रविन्दु ‘चिचेन इत्जा’ दुनियाकै विलक्षण सम्पदा रहेछन् । 

बादशाह अकबरका नाति शोकसन्तप्त शाहजहाँले आफ्नी प्यारी बेगम मुमताज महलको स्मृतिमा यमुना तटमा ताजमहल बनाएका हुन् रे ! मध्य भागमा मुमताजको ‘कब्र’ रहेछ । शाहजहाँ बितेपछि उनको शव पनि समिपै राखिएको रहेछ । ताजमहलको एकातिर मस्जिद र अर्कोतिर अतिथिगृह बनाइएको देखियो । 

बगैँचाको बिचमा रहेको मार्गले सोझै ताजमहल पु¥याउने रहेछ । थरी थरीका फूल, बोट र लहराले वातावरण रङ्गिन बनाएको पाइयो । जताबाट जति तस्बिर उतारे पनि मन अघाउने नामै लिँदैन । फोटोग्राफरहरू पनि छ्यासछ्यास्ती ! ‘मोबाइलको फोटो, के फोटो’ भनी हामीले पनि अरूले झैँ फोटोग्राफर गुहारेरै छाड्यौँ । 

कतिका लागि यो पैसा तिरेर हेर्न गइने केवल ‘चिहान’ प्रतीत भए तापनि यथार्थमा यो यत्तिमै सीमित रहेनछ । मुगल वास्तुकलाको उत्कृष्ट नमुनाका रूपमा रहेको ताजमहल विश्वसम्पदा सूचीमा समावेश हुनुले पनि यसको महत्व दर्शाएकै छ । तब त यहाँ भारतीयका दाँजोमा विदेशी पनि कम छैनन् । सबैका मुहारमा प्रसन्नताका अप्रतिम रेखा झल्किनु उम्दापनकै उदाहरण न हो । हामीसित यत्रो ठुलो ताजमहल नभए पनि प्रेमकै प्रतीक पाल्पाली ‘रानीमहल’ को सुमधुर सम्झना गरी आनन्दित भइयो ।

सान लालकिल्लाको 

हरियालीयुक्त मार्ग भई ‘लालकिल्ला’ तिर लागियो । झन्डै अढाई किलोमिटर दुरी पार गर्नासाथ जे देखियो, अपूर्व दृश्य रह्यो । कस्तो विशाल, अनौठै किल्ला रहेछ ! टिकट काटी देशी, विदेशीका हुलसँगै हामी मूलद्वारभित्र छि¥यौँ । बाहिरी आकर्षणले तानिएका हामीलाई भित्री बनोटले झनै चकित बनायो ।

भारतीय मुगल इतिहासमा यहाँको ठुलो जगजगी रहेछ । बाबर, हुमायुँ, अकबर, जहाँगिर, शाहजहाँ र औरङ्गजेबले यहीँबाट राज्य सञ्चालन गरेका रहेछन् । निर्दयी औरङ्गजेबले आफ्ना बाबु शाहजहाँलाई थुनेको ठाउँ पनि यहीँ रहेछ । उहिले यहाँ टक्सार पनि रहेछ । राज्यकोष त हुने नै भयो । ‘कोहिनुर’ हिरा पनि यहीँ राखिएको थियो रे ! 

‘युनेस्को’ द्वारा विश्वसम्पदा सूचीमा समाविष्ट ‘लालकिल्ला’ को आँखीझ्यालबाट ताजमहल प्रष्ट देखिनु अर्को विशेषता ठानियो । अग्ला पर्खाल र सिङ्गमरमरले सिँगारिएका कलात्मक भवनको तारिफ नगर्ने बिरलै भेटिए । किल्लाको निर्माण थालनी ११ औँ शताब्दीमै भएको रहेछ । पहिले इँटाको किल्लालाई विशाल पत्थर प्रयोग गरी अकबरले पुनर्निर्माण गराएका रहेछन् । अहिले देखिएको चमकदमक चाहिँ अकबरका नाति शाहजहाँको पुरुषार्थ रहेछ । पहिले यसको नाम ‘बादलगढ’ थियो रे ! कालीगढ र श्रमिक गरी १४ लाख ४४ हजार जना निरन्तर आठ वर्ष घोटिएपछि सन् १५७३ मा यो किल्ला तयार भएको सुनियो ।   

ओहो यहाँ त दिनभरि घुमे पनि नसकिने रहेछ । सरसर्ती नजर दौडाउँदै गयौँ । चर्चित दुई द्वार रहेछन्– दिल्ली गेट र ग्वालियर गेट (अमरसिंह द्वार), अर्को गेट पनि देखियो । खास महल, जहाँगिर महल, मीना मस्जिद भई मुसम्मन बुर्ज गइयो । जहाँगिरको सिंहासन, अहिले पनि अङ्गुरका लहराले सुसज्जित ‘अङ्गुरीबाग’, दी वान ए आम, मयूर सिंहासन, वरिष्ठ अधिकारीको छलफल कक्ष ‘दी वान ए खास’, स्वर्णमण्डप, तलाउ र फोहरायुक्त मछलीभवन, शाहजहाँको निजी मस्जिद, दरबारिया महिलाका लागि छुट्टै नगिना मस्जिद, महिलाले मात्रै सरसामान बेच्न पाउने मीना बजार, बाजागाजा राख्न बनाइएको ‘नौबत खाना’, रङ्गमहल (रनिबास), शाहजाहको निजी कार्यकक्ष ‘शाहीबुर्ज’, शाहजहाँ महल, लुगा फेर्न बनाइएको सिसमहल, ब्रिटिस तोप आदि हेरी ‘हामी यता नआइएको भए धेरै कुरो छुट्ने रहेछ’ भन्ठानी दङ्ग प¥यौँ ।

एक गाइड पर्यटकलाई भनिरहेका छन्– वास्तविक लालकिल्ला यही ‘आगरा फोर्ट’ हो, दिल्लीको लालकिल्लालाई त उहिले ‘लालहवेली’ भनिन्थ्यो । केही बेलायती नागरिक मुस्काउँदै हामीछेउ आइपुगे । हामीले पनि मुस्कानमै स्वागत ग¥यौँ । उनीहरूका प्रश्नको उत्तर दिँदै जसै नेपालको नाम लियौँ । आँखा चम्किए तिनका, हर्षले गद्गदाउँदै भने– ‘वाव, भेरी ब्युटिफुल कन्ट्री’ ! हामीलाई अब के चाहियो, यसै टुप्पामा पुगियो र गजक्क नाक फुलाइयो । उनीहरू नेपाल घुमी यता आएका रहेछन् । नेपालको सौम्य प्रकृति, भव्य संस्कृति र अनुपम कलाकृतिले उनीहरूलाई ज्यादै प्रभावित तुल्याएको रहेछ । 

सरासर धेरैतिर पुगी तस्बिर उतार्दै हामी फर्कने क्रममा पुग्यौँ । माथिबाट यमुना नदी, जङ्गल र ताजमहल हेर्दै फर्कियौँ । बाहिर निस्किएर पनि लालकिल्लाले तान्न छाडेन, कति ‘सेल्फी’ लिनु, अरूलाई गुहारी खुब तस्बिर खिच्न लगाइयो ।

हाम्रा गढी, हाम्रो गौरव

किल्ला घुमी मक्ख परेका घुमन्तेहरूलाई हेर्दा लाग्यो, हामीकहाँ पनि त किल्ला प्रशस्तै छन् । गढ, गढी, किल्ला कहलिएका सबैको नाम मात्रै स्मरण गर्ने हो भने निकै बेर लाग्न सक्छ । मकवानपुरगढी, चिसापानीगढी, सिन्धुलीगढी, जितगढी, गोरखा दरबारगढी, अमरसिंहगढी, पलाञ्चोकगढी, कोडकटेनीगढी, पौवागढी, पुरादित्यगढी, चैनपुरगढी, सिद्धिपुरगढी, दुगुनागढी, प्युठानगढीलगायत कति गढी छन् कति ! अहिलेको यही भारतमा समेत हाम्रा पुर्खाले सिज्र्याएका अनेक गढी अझै जीवन्त रहेको उदाहरण कुमाउँ, गढवाल र हिमाचलले दिइरहेकै छन् क्यार ! यो दुनियामै विलक्षण कुरो हुनु पर्छ जस्तो लाग्छ । हामीकहाँ  पनि ‘गढी–पर्यटन’ चलाउन सके कस्तो हुँदो हो, अलिबेर कल्पिई मुख उजिल्याउँदै गौरव अनुभूति गरियो । कुभिन्डे मिठाई ‘पेठा’

आगरामा पेठा, छालाका जुत्ता, केराको पातका कपडा प्रसिद्ध रहेछन् । कुभिन्डे मिठाई ‘पेठा’ चाहिँ चाखियो, अर्थोकमा ध्यान दिइएन । नजिकै रहेको बसपार्क जान रिक्सा चढ्यौँ । पाँच मिनेट पनि नलाग्ने बाटो १० मिनेट नाघिसक्यो आउँदैन, भरे बुझ्दा बरु उसको भाडा दिनु पर्दैन तर उसले भनेको पसलमा गई नकिने पनि सरसामान हेरिदिनुप¥यो रे ! पसलमा लगे मात्रै पनि उसले ‘नजराना’ पाउने रहेछ, किनियो भने त खुदो नै हुने भयो । यो कुरो बुझेपछि झनझनाउँदै भाडा तिरी त्यही ओर्लिएर अर्को रिक्सा चढी बसपार्क गइयो । मथुराको बस हाम्रै प्रतीक्षामा रहेछ, फटाफट चढियो, झन्डै दुई घण्टामा वासस्थान पुगी आजको यात्रालाई पूर्णविराम लगाइयो ।    

Author
निर्मलकुमार आचार्य

उहाँ गोरखापत्र दैनिकको पूर्व नि. प्रधानसम्पादक हुनुहुन्छ ।