भारतका विभिन्न सहरमा खासगरी तीर्थस्थलमा नेपाली रुद्राक्षको विशेष माग रहेको छ । तब त त्यहाँका कुनै पनि व्यापारी आफूकहाँ मात्रै असली नेपाली रुद्राक्ष रहेको बखान्न चुक्दैन । केही महिनाअघि भारतको दक्षिणी तथा पश्चिमी भेगमा पुग्दा त्यहाँ नेपाली रुद्राक्षको महत्व ज्यादै रहेको पाइयो । नेपाली रुद्राक्षको महत्व बखानिएको बोर्ड राखेर बसेका व्यापारी अनेक देखिए । ‘गुप्ता जीको प्रसिद्ध दुकान’ मा “रुद्राक्ष नै रुद्राक्ष असली नेपाली रुद्राक्ष राशि एवं भाग्यचक्रका अनुसार धारण गर्नुहोस् ! रजिस्टर्ड ल्याबद्वारा परीक्षित रिपोर्ट कार्डसहित असली एक मुखीदेखि १४ मुखीसम्म रुद्राक्ष पाइने” भनी निरन्तर ६० वर्षदेखि आफूलाई सेवामा समर्पित जनाइएको थियो ।
अर्को पसलमा “नेपालको असली जिउँदो रुद्राक्ष, एक मात्र यहीँ पाइने, कबीर आश्रम, बेरुल” जनाइएको देखियो । “नेपालको असली जिउँदो रुद्राक्ष यहीँ मात्र पाइने” भनी विज्ञापन गरिएका पसल अन्यत्र पनि त्यहाँ बग्रेल्ती छन् । पैदलमार्गमा रुद्राक्ष थुपारेर बेच्नेको पनि अनौठै शैली छ । सुकेका डाँठडुँठमा उनेर ‘रुद्राक्ष यसै गरी फल्छ’ भनी दिउँसै रात पार्नेले पनि आफूकहाँ नेपाली असली रुद्राक्ष भएको दाबी गर्छन् ।
रुद्राक्ष किन्न आउने अधिकांशको चाहना पनि नेपाली रुद्राक्ष नै रहनु उल्लेख्य विषय बनेको छ । भारतमा नेपाली रुद्राक्षको चाहना अत्यधिक रहेको उदाहरण यिनै बेहोराले दिएका छन् तर बेच्ने र दाबी गर्ने जति सबैका पसलमा नेपाली रुद्राक्ष त परै जाओस्, नक्कली रुद्राक्षको थुप्रोमा असली रुद्राक्ष खोज्नसमेत कठिन छ ।
धार्मिक अनुष्ठानमा नेपाली रुद्राक्ष बढी शक्तिशाली हुने जनविश्वास रहेकाले जोकोही नेपाली रुद्राक्ष खरिद गर्न चाहन्छन् । यसैको लाभ सक्कली, नक्कली दुवैखाले व्यापारीले उठाउन पाएका छन् ।
पौराणिक सन्दर्भ
हिन्दु धर्मावलम्बीमा रुद्राक्षको महिमा परापूर्वकालदेखि नै रहँदै आएको छ । यसको दृष्टान्त पौराणिक साहित्यमा पाउन सकिन्छ । शिवपुराण, स्कन्दपुराण आदिले रुद्राक्षको उत्पत्ति, महìवलगायतका विविध पक्षमा विशद वर्णन गरेका छन् । यसबाट पौराणिककालभन्दा पहिलेदेखि समाजमा रुद्राक्ष धारण गर्ने परिपाटी रहेको आकलन गर्न सकिन्छ ।
शिवपुराण अनुसार भगवान् शिवले पार्वतीलाई रुद्राक्षको दर्शन, स्पर्श र त्यसबाट जप गर्दा हुने लाभबारे जानकारी दिँदै रुद्राक्षको महिमा सुनाएका थिए रे । रुद्राक्षको उत्पत्तिका सम्बन्धमा पनि विभिन्न कथा रहेका छन् । संसारको कल्याणका लागि हजारौँ वर्ष तपस्यामा लीन रहेका शिवले आँखा उघार्दा दुई थोपा आँसु पृथ्वीमा झरेको र त्यसैबाट पतितपावन रुद्राक्षको उत्पत्ति भएको मानिन्छ ।
प्रकारान्तर कथा अनुसार सतीदेवीको मृत शरीर बोकेर हिँडेका भगवान् शिवलाई विरक्तिबाट मुक्त गराउन भगवान् विष्णुले सुदर्शन चक्रद्वारा सतीदेवीका शरीर टुक्रा, टुक्रा गरी झारे । पछि शिवको शरीरमा सतीदेवीको भष्म मात्रै बाँकी रह्यो । त्यसलाई देखेर भगवान् शिव रुँदा झरेका आँसुबाट रुद्राक्षको उत्पत्ति भयो ।
भोग तथा मोक्षदायक
भगवान् शिवको प्रतीक मानिने रुद्राक्षलाई भोग तथा मोक्षदायक मानिन्छ । रुद्राक्षका आकार, प्रकार, रङ, रूप, मुख (पाटा/धर्सा) आदिका आधारमा उत्कृष्ट, मध्यम, सामान्य तथा त्याज्य ठह¥याइएका छन् । शिवपुराणमा १४ मुखी रुद्राक्षसम्मको बयान छ । कताकतै २१ मुखी रुद्राक्षसम्मको उल्लेख पनि पाइएका छन् ।
भनिन्छ अमला जत्रो रुद्राक्षले सबै अरिस्ट नाश गर्छ र रातीगेडी जत्रो रुद्राक्षले सबै मनोकामना पूरा गर्छ । जत्ति सानो रुद्राक्ष त्यत्ति नै बढी लाभ हुने भनाइसमेत छ । बराबर आकार प्रकार भएको, चिप्लो, बलियो, मुख (धर्सा) युक्त तथा सुन्दर रुद्राक्षलाई सबै इच्छा पूर्ण गर्ने, भोग र मोक्षदायक मानिएको छ । टुटफुट भएको, कीरा लागेको, पूरै गोलो नभएको, कङ्टक (धर्सा/मुख) रहित र चिप्लो नभएको पाँच प्रकारका रुद्राक्ष धारण गर्न नहुने मान्यता छ ।
पाँच सय रुद्राक्षको सुन्दर मुकुट तथा ३६० रुद्राक्षको मालालाई निकै लाभकारी मानिएको छ । एघार सय रुद्राक्ष धारण गर्ने मान्छेका फलको वर्णन सयौँ वर्षसम्म पनि गर्न नसकिने उल्लेख रहनुले पनि रुद्राक्षको ठूलो महिमागान गरेको बुझ्न सकिन्छ । १८, २८, ३२, ६४, ८४ र १०८ रुद्राक्षका मालाको प्रचलनमा जोड दिइएको छ ।
रुद्राक्ष धारण गर्ने मन्त्र, विधि त छँदैछन् शरीरको कुन कुन अङ्गमा, के कस्ता मन्त्रले धारण गर्ने जस्ता पक्ष पनि रहेका छन् । जस्तै ईशान मन्त्रले शिरमा, तत्पुरुष मन्त्रले कानमा, अघोर मन्त्रले गला तथा हृदयमा धारणा गर्नुपर्ने जनाइनुका साथै विद्वान्ले अघोर बीजमन्त्रद्वारा दुवै हातमा रुद्राक्ष धारण गर्नुपर्ने भनिएको छ । रुद्राक्ष धारण गर्नेले माछा, मासु, मदिरा आदि छाड्नुपर्ने निर्देशन पनि छ ।
मुखैपिच्छे भिन्न स्वरूप
मुखका आधारमा रुद्राक्षका अनेक नाम रहेका छन् । एकमुखी रुद्राक्षलाई शिव स्वरूप मानिएको छ । दुईमुखी रुद्राक्ष अद्र्धनारीश्वर स्वरूप, तीनमुखी रुद्राक्ष त्रिदेव (ब्रह्मा, विष्णु, महेश्वर) स्वरूप, चारमुखी रुद्राक्ष ब्रह्मास्वरूप, पाँचमुखी रुद्राक्ष पशुपतिनाथ स्वरूप, छमुखी रुद्राक्ष कार्तिकेय स्वरूप, सातमुखी रुद्राक्ष लक्ष्मी/सप्तर्षि स्वरूप, आठमुखी रुद्राक्ष गणेश स्वरूप, नौमुखी रुद्राक्ष नवदुर्गा स्वरूप, दशमुखी रुद्राक्ष विष्णु स्वरूप, एघारमुखी रुद्राक्ष हनुमान स्वरूप, बाह्रमुखी रुद्राक्ष सूर्य स्वरूप, तेह्रमुखी रुद्राक्ष कामदेव स्वरूप, चौधमुखी रुद्राक्ष कुबेर स्वरूप हुन् । यसबाहेक संयुक्त (जोडिएको) रुद्राक्षलाई गौरीशङ्करको स्वरूप मानिन्छ ।
कतिमुखी रुद्राक्ष कहाँ धारणा गर्नुपर्ने र त्यसबाट के के लाभ हुने ? जस्ता विषयमा पनि उल्लेख पाइन्छ । यस अनुसार एकमुखी रुद्राक्ष धारण गरिँदा कुनै कुराको अभाव नहुने, दुईमुखी रुद्राक्षबाट आत्मविश्वास र शान्ति प्राप्त हुने तथा तीनमुखी रुद्राक्षबाट सुख, शान्ति, समृद्धि प्राप्त हुने र चारमुखीबाट मानसिक क्षमता, एकाग्रता, सिर्जनशीलता प्राप्त हुने भनिएको छ । पाँचमुखी रुद्राक्षबाट मन्त्रशक्ति र ज्ञान प्राप्त हुने, छमुखी रुद्राक्षबाट आत्मविश्वास र ज्ञान प्राप्त हुने, सातमुखी रुद्राक्षबाट समृद्धि हुने, आठमुखी रुद्राक्षबाट रोगनाश, शत्रुमाथि विजय र दिव्यज्ञान प्राप्त हुने, नौमुखी रुद्राक्षबाट अकाल मृत्यु हट्ने, धन, कीर्ति प्राप्त हुने, दशमुखी रुद्राक्षबाट रोग व्याधि नहुने, एघारमुखी रुद्राक्षबाट हजारौँ यज्ञ बराबरको फल प्राप्त हुने, बाह्रमुखी रुद्राक्षबाट धनधान्य र सुख पाइने, तेह्रमुखी रुद्राक्षबाट सबै कामना पूरा हुने अनि चौधमुखी रुद्राक्षबाट शिवसरह पवित्र होइने बताइएको छ ।
बढ्दो आकर्षण
नेपाल, भारत, श्रीलङ्का, थाइल्यान्ड, इन्डोनेसिया, अस्टे«लिया आदि देशमा रुद्राक्ष पाइएका छन् । यिनमा नेपालको रुद्राक्ष सर्वाधिक महत्वपूर्ण मानिएको छ । नेपालका रुद्राक्ष धारण गर्दा, जप गर्दा अन्यत्रका तुलनामा बेसी फलदायक सिद्ध भएकाले नै उहिलेदेखि नेपालको रुद्राक्ष लोकप्रिय बनेको हो । नेपालको मध्य पहाडी क्षेत्रमा रुद्राक्ष पाइन्छन् । यहाँ २१ मुखी रुद्राक्षसम्म पाइएको दाबी रहेको छ ।
सङ्खुवासभा, भोजपुर, धनकुटा जिल्लाका रुद्राक्ष प्रसिद्ध छन् । अन्य कतिपय जिल्लामा पनि रुद्राक्ष खेतीतर्फ आकर्षण रहेको छ । काठमाडौँमै पनि रुद्राक्ष लगाउनेहरू बढ्दै छन् । जहाँसुकै रुद्राक्षका एक, दुई बोट लगाउने घरको सङ्ख्या थपिँदो छ ।
धर्सा/पाटा वा मुखका आधारमा रुद्राक्षको मूल्याङ्कन हुने गरेको छ । एकमुखी रुद्राक्षको महिमा विशेष छ । दुर्लभ हुनाले नै मूल्यवान् बनेको हो । भनिन्छ प्रतिरुख तीन वटा एकमुखी रुद्राक्ष फल्ने गर्छन् । जसमा एउटा आकाशतिर, अर्को पातालतिर र बाँकी एउटा मात्रै धर्तीमा रहन्छ । त्यो पनि त्यत्रा रुद्राक्षका दानामा कुन हो ? पहिल्याउन सजिलो छैन ।
एकै दानाको लाखौँ रुपियाँ
सम्बन्धित व्यवसायीका अनुसार एकमुखी रुद्राक्षको प्रतिदाना ३५ लाख रुपियाँसम्म पर्छ । सानो, ठूलो रुद्राक्षको त्यही अनुसार दर हुन्छ । १९ वा २० मुखी रुद्राक्षको मूल्य सानो दाना भए पाँच/छ लाख र ठूलो दाना भए २५ देखि ३० लाख रुपियाँ पर्छ । कृत्रिम हिसाबमा बनाइएको रुद्राक्षको भाउ निकै कम हुन्छ ।
बजारमा धेरैजसो पाइने पाँचमुखी रुद्राक्ष प्रतिकिलो पचास, साठी रुपियाँदेखि दुई सय रुपियाँसम्म बिक्री हुन्छ । पाँचमुखी, छमुखी रुद्राक्षको दर उस्तै हुन्छ । दुई, तीन र सातमुखी रुद्राक्ष प्रतिदाना बिक्री हुन्छन् अनि भाउ पनि अधिक हुन्छ । १८ मुखी रुद्राक्ष प्रतिदाना डेढ लाख रुपियाँ, ठूलो दाना भए चार लाख रुपियाँसम्म पुग्छ । १९ मुखी रुद्राक्षको प्रतिदाना सात लाख रुपियाँसम्म र ठूलो दाना भए १२ लाखसम्म पर्छ ।
२० मुखीको १७ लाख रुपियाँ र ठूलो दाना भए ३० लाख रुपियाँसम्म, २१ मुखी रुद्राक्षको १८ लाख रुपियाँमा किनबेच भएको र ठूलो दाना भए ५० लाखभन्दा बढी रुपियाँमा बिक्री हुन सक्ने बताइन्छ । यसै गरी लिने, दिनेका मोलमोलाइमा विभिन्न खाले रुद्राक्ष किनबेच हुने गरेका छन् । २९ मुखीसम्म रुद्राक्ष भेटिएको खबरको सत्यताचाहिँ पर्गेल्न बाँकी नै छ ।
रुद्राक्षलाई भद्राक्षले झुक्याउँछन् । कृत्रिम रुद्राक्षको बोलवालाले असली रुद्राक्षलाई असर परेको छ । कैयन् व्यापारीले रुद्राक्षको बगैँचा ठेक्कामा लिई विभिन्न प्रकारका औषधि प्रयोग गर्ने, क्लिप लगाई दानाको कृत्रिम आकार प्रकार बनाउने प्रवृत्ति बढ्दो छ ।
नेपालबाट विशेषतः भारत तथा चीनमा रुद्राक्ष निर्यात हुने गरेको छ । वैध तथा अवैध रूपमा बिदेसिने गरेको रुद्राक्षका सम्बन्धमा यथोचित ध्यान पुगेको छैन । यसले गर्दा एकातिर राजस्वमा ड्याक पर्दै गएको छ भने अर्कोतिर नेपाली रुद्राक्षको मूल्यवत्ता प्रश्न चिह्नभित्र पर्ने आशङ्का बढेको छ ।
बिचौलियालाई खुदो
रुद्राक्ष खेतीप्रति आकर्षण बढ्दो देखिए पनि आर्थिक, प्राविधिक एवं बजार व्यवस्थापनसम्बन्धी जानकारीको अभाव छ । सम्बन्धित निकायले रुद्राक्ष किसानलाई प्रोत्साहित गर्दै बजार व्यवस्थापनतर्फ समेत सक्रियता अँगाल्न सके यसको दूरगामी सुप्रभाव पर्ने निश्चित छ ।
लाखौँ रुपियाँ पर्ने रुद्राक्ष बेचेर केहीले मनग्गे लाभ हासिल गरेको देखिए पनि अधिकांश किसानको हैसियत उकासिएको छैन । सस्तोमा बगैँचै ठेक्कामा दिने वा बोराका बोरा रुद्राक्ष न्यून दाममा बेच्ने परिपाटीले निश्चित फौबन्जारलाई मात्र पोस्ने काम गरेको छ ।
धार्मिक कार्य तथा औषधीय प्रयोजनका लागि रुद्राक्षको माग दिनानुदिन बढ्दो छ । यकिन तथ्याङ्क उपलब्ध नभए पनि यहाँबाट बर्सेनि अर्बौं रुपियाँको रुद्राक्ष बिदेसिने गरेको अनुमान छ । विदेशी मुद्रा आर्जनका दृष्टिले रुद्राक्षको महत्व निकै भए पनि यसप्रति चाहिँदो चासो र सक्रियता नरहनु दुःखद पाटो हो ।
दूरगामी सुप्रभाव
नेपालका अधिकांश ठाउँमा खेती गर्न सकिने रुद्राक्षका सम्बन्धमा सम्बन्धित निकाय जाग्न ढिलाइ भएको छ । रुद्राक्ष खेतीमा जोड दिँदै यसको सङ्कलन, प्रशोधनसहित बजार व्यवस्थापनका लागि समन्वयात्मक संयन्त्र बनाउन सके यसले दूरगामी सुप्रभाव पार्ने छ । यसो हुन सके कौडीका भाउमा बोराका बोरा रुद्राक्ष बेच्नुपर्नेले राहत पाउने छन् । अहिले जस्तो कतै फालाफाल, कोही मालामालको अवस्था रहने छैन ।
नेपाली रुद्राक्षको प्रचारप्रसार तथा बिक्री प्रवर्धनका लागि भारतका विभिन्न नगर तथा तीर्थस्थल उपयुक्त माध्यम हुन सक्छन् । मूल कुरो नेपाली रुद्राक्षको महिमा यथावत् कायम राख्दै यसको विस्तारका लागि जुरमुराउनु जरुरी छ ।
–युवामञ्च