• ५ कात्तिक २०८२, बुधबार

गण्डकी गोपाल गौशालामा सामूहिक गाई पूजा

blog

गौशालामा गाई पूजा गरिँदै। तस्बिर: ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, कात्तिक ५ गते। तिहारको पाँचौ दिन बुधबार गण्डकी गोपाल गौशालामा समूहिक रुपमा गाई पूजा गरिएको छ। 

बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङस्थित गण्डकी गोपाल गौशालामा स्थानीय भेला भएर सामूहिक गाई पूजा गरेका हुन। गौशालामा एकसय पचास भन्दा बढी स्थानीय जातका गाई छन्।  

सल्यान, मिलनचोक, बास्कोट, गुन्टेगेत, घायेखेत र धारापानी गाउँका स्थानीय गौशालामा भेला भएर सामूहिक रुपमा गाईको पूजा गरेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो।

गाईको पूजाको महत्त्वका वारेमा प्रचारप्रसार र धार्मिक भावना जगृत गराउन विगत ६ वर्षदेखि सामूहिक रुपमा पूजा गरिँदै आएको गण्डकी गोपाल गौशाला व्यवस्थापन समितिका संरक्षक समेत रहनुभएका पालिका अध्यक्ष आचार्यले बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘हामीले धाइरिङ गाउँभरीका स्थानीयहरु भेला भएर सामुहिक रुपमा गाईको  पूजा गर्न सुरु गरेपछि छिमेकी जिल्लाहरुबाट पनि गाई पूजा गर्न आउने गर्नुभएको छ। गाई पूजाका लागि आएका भक्तजनहरुले गौशालालाई सहयोग गर्नुभएको छ। गाईको महत्व बढ्दै जानथालेपछि गौशालालाई सहयोग गर्ने महानुभावको संख्यामा पनि वृद्धि हुनथालेको छ।’’

गाई पूजा गर्न आएका भक्तजन कारण दिनभर गौशालामा भीडभाड देखिएको थियो। भजनकृतनसहित आएका सर्वसाधरणहरुले गाईको पूजा,फूलको माला लगाई गाईलाई खानेकुरा खुबाएका थिए। 

गण्डकी गोपाल गौशालालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना अनुसार भौतिक पूर्वाधार निर्माण थालिएको छ। गौशाला बेनीदेखि एकघण्टा सवारीसाधनको यात्रा पछि पुग्न सकिन्छ। गौशाला क्षेत्रबाट पर्वतका साथै म्याग्दी र बागलुङका रमणीय स्थलहरुको अवलोकन समेत गर्न सकिन्छ। 

गाउँपालिका र संघीय सरकारको लागत साझेदारीमा धर्मशाला, हवनकुण्ड, कुटी, ध्यान कुटीलगायतका संरचनाहरु निर्माण भएका छन्। 

गौशालालाई पालिकाको मुख्य तिर्थस्थल बनाउने योजना अनुसार करिब १२ करोड रुपियाँ लागत अनुमान गरिएको डिपिआर बनाएर संघ र पालिकाको ५०/५० प्रतिशत खर्च गर्ने गरी भौतिक पूर्वाधार निर्माण थालिएको पालिका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो। 

गौशाला, वराह शिवालय र प्रशिद्ध धार्मिक स्थल भुमेठाकुरलाई धार्मिक सर्किटका रुपमा जोड्ने योजना अनुसार यहाँ पूर्वाधार निर्माण थालिएको छ। २०७१ सालमा पञ्चकोटको परिकल्पना गर्दा ८ वटा गाईबाट सुरु भएकोमा अहिले एकसय पचास भन्दा बढी गाई पुगेका छन्। 

गाईको संरक्षण गर्ने र गाईको महत्व बुझाउन गौशाला स्थापना गरिएको पालिका अध्यक्ष आचार्यले बताउनुभयो। गण्डकी गोपाल गौशाला प्रसिद्ध कालञ्जर क्षेत्रमा रहेको हुनाले यो क्षेत्रलाई धार्मिक तीर्थस्थलको रुपमा विकास गर्ने योजना रहेको उहाँको भनाइ छ।