• ५ कात्तिक २०८२, बुधबार

तिहारमा हरियो बाबियोको तोरण, मौलिक पक्ष लोप हुने चिन्ता

blog

कपुरकोट- ३ लामिडाँडामा टाँगिएको तोरण। तस्बिरः शंकर केसी

शंकर केसी

सल्यान, कात्तिक ५ गते। तिहारको बेला हरियो बाबियोको लामो तोरण बाटेर टाँग्ने संस्कृति र परम्परा पछिल्लो समय हराउँदै गएको छ। 

सल्यानमा तिहारको लक्षमी पूजा तथा गाई पूजाको दिनमा तोरण बाटेर त्यसमा विभिन्न पुष्प लगायतका सामग्रीले भरेर घर वरिपरि तथा गाईवस्तु आवतजावत गर्ने द्वारको माथि टाँग्ने गरिन्थ्यो। 

आधुनिक रहनसहन, शहरीकरण, सीप हस्तान्तरणको समस्या तथा जनशक्तिको कमी लगायतका कारण तिहारको रमाइलो र मौलिक पक्ष लोप हुने चिन्ता बढेको छ। 

‘पहिले पहिले दुई चार दिन पहिले नै जंगलमा गएर बाबियो काटेर ल्याएर रातिदेखि नै तोरण बाट्न सुरु गरेर लामो तोरण तयार गरिन्थ्यो’, कपुरकोट गाउँपालिका, ३ लामिडाँडा निवासी तेजबहादुर गिरीले भन्नुभयो, ‘तोरणमा बेलपत्र, द्वारे, जमजुते, वर, पिपल, हजारी, मालु, आँपको पात, लालुपातेले सजाएर त्यसमा रोटी पनि झुण्ड्याएर गाईवस्तु जंगल जाने बाटोमाथि टाढा टाढाको रुखमा बाँध्ने चलन थियो। तर पछिल्लो समय काम चलाउ हिसाबले थोरै तोरण तयार गर्ने र कतिपयले त यो परम्परालाइ छाडिसकेका छन्।’ 

स्थानीयका अनुसार तोरणलाई शुभ, सुरक्षा र प्रकृतिसँगको सम्बन्धको प्रतीकको रुपमा लिइन्छ। गाई, भैँसी, बाख्रा वनजंगल जाने र गोठतिर फर्कने बाटोमाथि तोरण टाँगेर राख्दा सीमा संरक्षण संगै पशुचौपायालाई रोग, अशुभ आत्मा र दुष्ट दृष्टिबाट जोगाउने जनविश्वास रहिआएको छ। 

यसैगरी घरको मुल ढोकामाथि वा पुरै घर वरिपरि पनि बाबियोको तोरण बाँध्ने चलन थियो। जसले गर्दा घर पवित्र छ अथवा देवी देवतालाई स्वागतयोग्य र शुद्ध रहेको बुझिने स्थानीय बताउँछन्।

तिहारको बेला सजाइने फूल, दुबो र बाबियोको ठाउँमा पछिल्लो चरणमा बिजुलीका बत्ती, रेडिमेड झिलिमिली र प्लास्टिकका फूलले कब्जा गर्दै लगेका छन्। आधुनिक जीवनशैली, सीप हस्तान्तरण नहुनु र बजारमुखी संस्कृतिको विस्तारसँगै चाडपर्वका यस्ता मौलिक पक्ष हराउने खतरा छ।