गाेरखापत्र अनलाइन
काठमाडौँ, कात्तिक ४ गते । देशका विभिन्न स्थानमा चलिरहेको जुवातास नियन्त्रण अभियानअन्तर्गत १०९ जना व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौंदेखि कञ्चनपुरसम्म गरिएको प्रहरी कारबाहीमा नगद, तास र कौडा सहित उनीहरू पक्राउ परेका हुन् ।
काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित नेवा चुली रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रिसोर्टका सञ्चालक राकेश श्रेष्ठसहित ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूबाट नगद २ लाख ३१ हजार रुपैयाँ र १६ बुक तास बरामद गरेको छ ।
चितवनको खैरहनी नगरपालिका–११ मा एकबहादुर भण्डारीसहित ११ जना, ओदान रेष्टुरेन्ट, भरतपुर–१० बाट वासु रिमालसहित १० जना पक्राउ परेका छन् । उनीहरूबाट क्रमशः १ लाख ५० हजार ७२० रुपैयाँ र ५ बुक तास, तथा २ लाख ११ हजार २१० रुपैयाँ र १ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।
कास्कीमा दुई अलग घटनामा दिपक विकसहित ८ जना र हेमबहादुर रानाभाटसहित ७ जना पक्राउ परेका छन् । उनीहरूबाट २ लाख ७३ हजार ४४५ रुपैयाँ र ६ बुक तास, साथै ७७ हजार २०५ रुपैयाँ र १४ थान कौडा बरामद गरिएको प्रहरी विवरणमा उल्लेख छ ।
भक्तपुर नगरपालिका–४ बुल्छामा दयाराम सायजुसहित २७ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । उनीहरूबाट ९ लाख २३ हजार ९६० रुपैयाँ र १६ थान कौडा बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
दाङको राप्ती गाउँपालिका–२ मा नरेश बुढासहित १४ जना, बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा टोपबहादुर थापासहित ९ जना, स्याङ्जाको गल्याङ नगरपालिका–१ मा गणेश बस्यालसहित ७ जना, र कञ्चनपुरको बेदकोट नगरपालिका–३ मा हिक्मत सिंह रावलसहित ७ जना पक्राउ परेका छन् ।
यी स्थानहरूबाट जम्मा करिब २० लाख रुपैयाँभन्दा बढी नगद र दर्जनौँ बुक तास तथा कौडा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।