• ५ वैशाख २०८३, शनिबार

आरोग्य यात्राको प्रस्थानविन्दु

blog

करिब १७ वर्षअघि काठमाडौँमा स्थापना भएको थियो आध्यात्मिक संस्था जीवन विज्ञान । यसले योग, ध्यान र आरोग्यताको विषय सरकारको प्राथमिकताभित्र पर्नु पर्छ भन्दै २०७४ सालमा नेपाल सरकारलाई यो विषय सरकारको नीति तथा कार्यक्रममा समावेश गर्नु पर्छ भन्दै श्वेतपत्र जारी गरेको थियो । यो नै आरोग्य यात्राको प्रस्थानविन्दु थियो । जीवन विज्ञानको आयोजनामा २०८० साल चैत १७ देखि २३ सम्म लुम्बिनीमा भएको विराट चक्र विज्ञान कार्यक्रममा पाँच हजारभन्दा बढी साधक एक हप्तासम्म चक्र साधनाको ध्यानमा मग्न भएका थिए । उक्त कार्यक्रमको समापनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललगायत विभिन्न राजनीतिक दलका नेताको उल्लेख्य सहभागिता रहेको थियो । यसै गरी २०८१ भदौ १४ गते प्रहरी प्रतिष्ठान महाराजगन्जमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सिङ्गो देशको नेतृत्व तहमा रहेकाको उपस्थितिमा जीवन विज्ञानले ‘स्वजागरण’ कार्यक्रम आयोजना गरेको थियो । 

२०८२ वैशाख ६ गते चितवनमा भएको एक कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको उपस्थितिमा ‘आरोग्य पर्यटन ः नेपालको समृद्धिको आधार’ विषयक अवधारणापत्र जारी भएको थियो । जसमा भनिएको थियो, हामीले नेपाललाई सगरमाथाको देश भनेर पनि चिनाएकै हो, भगवान् बुद्धको देश भनेर पनि चिनाएकै हो । यसलाई अब सबै सम्भावना र अवसरलाई मूल तत्वमा आबद्ध गराई ‘ब्रान्डिङ’ गर्नु पर्छ । त्यो मूल तत्व हो आरोग्य । अहिले संसारमा आरोग्य उद्योग फस्टाएको छ । कस्तो खाने, के व्यायाम गर्ने भन्ने आरोग्य उद्योगभित्र पर्छ । यसमा संसारभरका मान्छेले अर्बौं डलर खर्च गर्न तयार छन् । 

वास्तविक आरोग्यका लागि मनको सुख अर्थात् मनको आनन्द अनि शरीर र मस्तिष्कको स्वस्थता आवश्यक पर्छ । जुन इन्द्रीयको प्रयोगका साथै योग र ध्यानबाट मात्र प्राप्त हुन्छ । स्मरण रहोस् नेपाल ध्यानको उद्गम विन्दु हो र योग ध्यान हाम्रो प्रकृति, संस्कृति, जडीबुटीलगायतका पैदावार एवं जैविक विविधता सबै आरोग्य प्राप्तिका लागि सहायक तत्व हुन् । जसलाई एउटै धागोमा उनेर आरोग्य पर्यटनको विकास र प्रवर्धन गर्न सक्यौँ भने समृद्धिको यात्रामा स्वतः अघि बढ्न सकिन्छ । वास्तविक आरोग्य त्यतिबेला प्राप्त हुन्छ जब व्यक्ति शारीरिक, मानसिक र भावनात्मक तवरले स्वस्थ हुन्छ ।

प्राकृतिक सौन्दर्य र जैविक विविधताले दिने शारीरिक तथा मानसिक सुख नेपालमा सहजै पाइन्छ । यसमा योग र ध्यान जोड्न सके आरोग्यसहितको भ्रमणमा रमाउने पर्यटक भित्र्याउन हामीलाई अझ सहज हुने छ । आरोग्य यात्राको यो कडीमा जीवन विज्ञान, जीवन विज्ञानका गुरु भानु शर्मा र रमेश नेपालको अथक परिश्रम एवं नेपाल सरकारका सम्बद्ध सवै उच्चपदस्त अधिकारीको निरन्तरको प्रयासले २०८२ फागुन २७ गते संयुक्त राष्ट्रसङ्घले १५ अप्रिललाई अन्तर्राष्ट्रिय आरोग्य दिवस भनेर घोषणा ग¥यो । यसअघि  २०८२ पुस ४ गते संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा नेपालको योग, ध्यान, आयुर्वेद प्राकृतिक चिकित्साको महत्व र आरोग्य दिवसका बारेमा अवधारणा प्रस्तुत भएको थियो ।

नेपाल सरकारले सन् २०२७ लाई आरोग्य वर्षका रूपमा घोषणा गर्दै नेपाल अन्तर्राष्ट्रिय रूपमै आरोग्यको ‘हब’ बन्ने जनाएको छ । यसरी अब योग ध्यानमार्फत आरोग्यतर्फको यात्रामा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्दै छ । हाम्रा प्राकृतिक सम्पदा, ऐतिहासिक धरोहर सबैको संरक्षण गर्दै आरोग्य पर्यटनको प्रवर्धन गर्न सबै नेपाली आआफ्नो ठाउँबाट सकारात्मक भाव र सोचका साथ अघि बढ्न सकेमा देशमा आर्थिक समृद्धिको ढोका खुल्ने छ । 

आरोग्य यात्राको यति विचार सम्प्रेषण गरिरहँदा जीवन विज्ञान के हो त्यो पनि जान्न जरुरी छ । धर्म, जात र सम्प्रदायभन्दा माथि उठेर योग, ध्यानमार्फत जीवन व्यवस्थापन गर्दै समृद्धिको मार्गमा अघि बढ्न सकिन्छ भन्दै १७ वर्षअघि स्थापना भएको आध्यात्मिक संस्था हो । जीवन विज्ञान भन्छ, मानिसको समस्या बाहिर होइन, भित्र छ । समाधान आफ्नै चेतना र जीवनशैलीबाट मात्र सम्भव छ । यसका लागि आफूले आफैँलाई चिन्नु, परिस्थितिलाई स्वीकार गर्नु, शरीर मन र आत्मामा सन्तुलन ल्याई सबैप्रति सकारात्मक भाव सम्प्रेषित गर्नु जरुरी हुन्छ । जीवन विज्ञानले मूलतः ध्यान, योग अभ्यास, ज्ञान सेवा र सत्सङ्गलाई उच्च प्राथमिकता दिएको छ । जीवन विज्ञानले जीवन जिउने विज्ञानसम्मत कला पनि सिकाउँछ ।