• १ मंसिर २०८२, सोमबार

कार्बन उत्सर्जन न्यूनीकरणबापत चौरानब्बे लाख अमेरिकी डलर प्राप्त

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १ गते । नेपालले तराईको वन प्रणालीबाट कार्बन उत्सर्जन न्यूनीकरण गरेबापत ९४ लाख अमेरिकी डलर प्राप्त गरेको छ । नेपालले लगभग १८ लाख ८० हजार टन कार्बन डाइअक्साइड घटाएबापत विश्व बैङ्कको वन कार्बन साझेदारी सुविधा (एफसिपिएफ) मार्फत उक्त भुक्तानी प्राप्त गरेको विश्व बैङ्कले जनाएको छ ।

यो कार्बन उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता अन्तर्गत पहिलो भुक्तानी हो । वन फँडानी र वन क्षयीकरण कम गरेर कार्बन उत्सर्जन घटाउने र समावेशी, दिगो वन व्यवस्थापनलाई प्रवर्धन गर्ने नेपालको प्रयासमा प्रमुख कोसेढुङ्गा रहेको विज्ञप्तिमा उल्लेख छ ।

मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका निर्देशक डेभिड सिस्लेनले यो भुक्तानी नेपालले वन फँडानी घटाउने, वन प्रशासन सुदृढ गर्ने, जैविक विविधता संरक्षण बढाउने र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर विस्तार गर्ने सफलताको प्रमाण रहेको बताउनुभयो । 

वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले यो परिणाममा आधारित भुक्तानीले हाम्रा वनमा आश्रित समुदाय, आदिवासी जनजाति र सरकारको हाम्रो वन संरक्षण र व्यवस्थापनमा प्रयास र समर्पणलाई प्रतिविम्बित गरेको बताउनुभयो ।