अनिल पराजुली
हेटौँडा, कात्तिक ३० गते । मकवानपुरमा भएको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–२, चौकीटोल बस्ने ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि बस्ने पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भएर हाल हेटौँडा उपमहानगरपालिका–२, चौकीटोलमा डेरा गरी बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङ हुनुहुन्छ ।
जिल्लाको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानास्थित बुङ्दल खोला पुल नजिक शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । मृतकको श्रीमतीले सनाखत गरेको र शव हेटौँडा अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले जानकारी दिनुभयो ।
बा.प्र.०३–००५ प. ७९८० नम्बरको मोटरसाइकल झण्डै ४०/५० मिटर तल बुङदल खेलामा खसेर दुर्घटना भएको थियो । आइतबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।