साहारा लिम्बू
फुङलिङ, मङ्सिर १ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक महिनामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन भएको छ । कात्तिक महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार कात्तिक महिनामा भक्तजनहरूले ३४ लाख ४८ हजार ५०० रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन् । अहिले पाथीभरा दर्शनका लागि प्रमुख सिजन भएका कारण दर्शनार्थीको सङ्ख्यामा समेत वृद्धि भएकाले भेटी रकम पनि यो महिना वृद्धि भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।
तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा करिब एक सातासम्मको सङ्लकन गरी फुङलिङ रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरि बैंकमा जम्मा गर्ने प्रचलन रहेको छ ।
कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने गरी समितिले व्यवस्थापन गरेको छ । आइतबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार कात्तिक महिनामा ४२ हजार २६१ जना तीर्थयात्री दर्शनका लागि पाथीभरा मन्दिर आएका छन् ।