आँखामा समस्या देखिनसाथ स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधिको प्रयोग नगर्न र आँखा पाकेकाहरुले प्रयोग गरेका तौलिया रुमाल प्रयोग नगर्न सुझाव दिएको छ ।
काठमाडौं, साउन २२ गते । नेपालमा विभिन्न जिल्लामा आँखा पाक्ने समस्या फैलिरहेको छ । नेत्ररोग विशेषज्ञ, डा.कौशल पोखरेलका अनुसार यो समस्या व्याक्ट्यरिया, भाइरस जस्ता सूक्ष्म जीवाणुका कारण लाग्ने गर्छ । एलर्जी, धुलो, धुवाँको असरका कारणले गर्दा विभिन्न रसायन आँखामा परेमा पनि आँखा पाक्ने रोग समस्या देखिने पोखरेलको भनाइ छ ।
आँखा पाकेमा आँखा रातो हुने,आँखा चिलाउने, आँखामा कचेरा लाग्ने तथा टोसिने, आँखाबाट आशु बगिरहने,आँखा सुनिने,दुख्ने बिझाउने, घाम तथा उज्यालो प्रकाशमा हेर्न समस्या हुने जस्ता लक्षण देखिने डा. पोखरेल बताउनुहुन्छ ।
आँखा पाक्ने रोग सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने हुँदा आँखा पाक्ने रोगबाट बच्न उहाँको सुझाव छ । त्यसका अलाव सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा नजाने र सङ्क्रमित व्यक्ति भीडभाडमा नजाने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल , सिरानी, तन्ना प्रयोग नगर्ने ।
आँखा पाक्नबाट जोगिन जथाभावी आँखा नछुने÷आँखा छुनुभन्दा पहिले राम्ररी साबुन पानीले हात सफा गर्ने,सफा पानीले आँखा सफा गर्ने, आँखा पाकेकाहरुले प्रयोग गरेका तौलिया रुमाल प्रयोग नगर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिन डा. पोखरेलको आग्रह छ ।
डा. पोखरेलका अनुसार आँखा पाकेमा बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने, आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने, आँखा छोइसकेपछि साबुन पानीले मिचिमिची राम्रोसँग हात धुने, प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने।
बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेर रुमाल टावेल ,सिरानी तन्ना आदि हरेक दिने धुने वा सफा गर्ने । सङ्क्रमित व्यक्तिले प्रयोग गरेर सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने ।
जथाभावी रुपमा आँखामा औषधिको प्रयोग नगर्ने पोखरेलको सुझाव छ । उहाँ भन्नुहुन्छ, “आँखा पाकेमा नजिकेको अस्पतालमा गएर चिकित्सकको सल्लाहमा औषधिको प्रयोग गर्ने । जथाभावी औषधि प्रयोग नगर्ने ।”
सामान्यतया यो समस्या एकदेखि दुई हप्तामा आफैँ निको हुन्छ । दृष्टि कम लगायतका आँखासम्बन्धी समस्या बढेमा उपचारका लागि तुरुन्त स्वास्थ्यसंस्था जान चिकित्सको सुझाव छ ।