काठमाडौँ, जेठ २८ गते। जेनजीले गरेको प्रदर्शन हिंसात्मक भएर तोडफोड र आगलागीबाट ध्वस्त प्रहरी युनिट पुनर्स्थापनाका लागि स्थानीय जुटन थालेका छन्।
काठमाडौँको बसुन्धारास्थित प्रदर्शनकारी जलाएर पूर्णरूपमा क्षतिग्रस्त पारिएको प्रहरी चौकी सफाइ र पुनर्स्थापनाका लागि टोल सुधार समितिसँगै स्थानीय जुटेका छन्।
स्थानीय समाजसेवी लोकबहादुर टण्डन, कृष्णबहादुर पुन, कर्ण खड्का श्रीकृष्ण नगर विकास संस्थाका अध्यक्ष शिव कर्णेलसहित स्थानीय नै चौकी सरसफाइ गरेर पुरानै अवस्थामा फर्काउने अभियानमा जुट्नु भएको हो।
स्थानीय अगुवाले बसुन्धरा चौकी पुर्नस्थापना समिति गठन गरेर पुर्नस्थापनाका लागि जुटेपछि समाजसेवी लोकबहादुर टण्डनले व्यक्तिगत रूपमा तीन लाख रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ।
प्रहरी चौकी पुनर्स्थापनामा जुट्नुभएका टण्डनले भन्नुभयो, ‘‘प्रहरी नै नहुँदा आपराधिक गतिविधि झनै बढ्ने र त्यसको प्रत्यक्ष असर समाजमा पर्ने भएकाले त्यस्तो नहोस् भनी तत्कालै प्रहरी कार्यालय स्थानाका लागि जुटेका हौँ।’’
उहाँले यसपछि क्रमशः, महाराजगन्ज प्रहरी वृत्त, नयाँबसपार्क समाखुसीलगायतका क्षतिग्रस्त प्रहरी चौकी पुनर्स्थापनाका लागि जुटिने बताउनुभयो।
यसैगरी, स्थानीय कर्ण खड्काले सुरक्षा निकायको अनुपस्थितिमा समाजमा अपराधिक र अराजक गतिविधि हुनसक्ने भएकाले तत्कालै प्रहरी चौकी मर्मतगरी चौकी पुनर्स्थापनामा सक्रिय भएको बताउनुभयो।
श्रीकृष्ण नगर विकास संस्थाका अध्यक्ष शिव कर्णेल जनताको सुख दुःखको साथी प्रहरी चौकी विस्थापित भएकाले पुर्नस्थापनाका लागि जुटनु परेको बताउनुभयो।
त्यसैगरी कोटेश्वर र नयाँ बानेश्वर क्षेत्रमा जलाइएका प्रहरी कार्यालय पुर्नस्थापानका लागि स्थानी जुटेका छन्। स्थानीय उत्तम भण्डारी नेतृत्वमा बागमती प्रदेश सभा सदस्य सुनिलकुमार केसी, दीपनगर टोल सुधार समितिका अध्यक्ष नानीकाजी केसी, निखिलेश्वर महादेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हंशराज वाग्ले पूर्व एआइजी भीम ढकाल सहितका अगुवा विस्थापित प्रहरी चौकी पुर्नस्थापनमा जुटनु भएको छ।
प्रदर्शनकारीले ध्वस्त पारेका संरचना सफाइ गरी दैनिक कामकाज सूचारु गर्न प्रहरीसमेत जुटन थालेका छन्। यसै क्रममा दरबारमार्ग प्रहरीवृत्त लगायत काठमाडौँका मात्र १६ वटा प्रहरी युनिट जलेर खरानी भएपछि त्यसलाई हटाएर सञ्चालन गर्ने प्रयास सुरु भएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले मातहतका अधिकांश प्रहरी युनिट तोडफोड र आगजनी गरी ध्वस्त पारिएको बताउनुभयो।
क्षतिग्रस्त प्रहरी चौकीहरूको भग्नावसेश र खरानी हटाउन प्रहरीसँगै स्थानीय निरन्तर जुटिरहेको बताउँदै खनालले भन्नुभयो, ‘क्षतिग्रस्त प्रहरी संरचना आफ्नै सम्झेर सफाइ र मर्मतमा स्थानीय सक्रिय हुँदा हामीलाई थप ऊर्जा प्राप्त भएको छ। हामीले यसलाई सकारात्मक रूपमा लिएका छौँ।’’