• २८ भदौ २०८२, शनिबार

नवनियुक्त प्रधानमन्त्रीको शपथ ९ बजे : सिंहदरबारमा पदभार ग्रहण

blog

सुशीला कार्की। फाइल तस्बिर

काठमाडौँ, भदौ २७ गते। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ। उहाँको शपथ ग्रहण समारोह अहिले केही बेरमा हुँदैछ। राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलका अनुसार शुक्रबार साँझ ९ बजे राष्ट्रपति कार्यालयमा शपथ कार्यक्रमको लागि तयारी भएको छ।

शपथ लगत्तै कार्कीले सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुहुनेछ। नवनियुक्त प्रधानमन्त्री कार्कीले सिंहदरबारस्थित गृहमन्त्रालयका लागि बनेको नयाँ भवनमा पदभार ग्रहण गर्नेगरी तयारी भएको छ। 

राष्ट्रपतिसँगको सहमति अनुसार मन्त्रिपरिषद्को पहिलो बैठकले आजै प्रतिनिधिसभाको विघटनको सिफारिस गर्नेछ। उक्त सिफारिस राष्ट्रपतिबाट अनुमोदन भएपछि प्रतिनिधि सभा विघटन भए लगत्तै अन्तरिम सरकारले नयाँ निर्वाचनको मिति तय गर्नेछ। 

भदौ २३ र २४ गते देशव्यापी रुपमा भएको जेनजी पुस्ताको आन्दोलन उग्र बनेपछि प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजनीनामा दिएसँगै उहाँ नेतृत्वको सरकार काम चलाउ बनेको थियो। जेनजीको आन्दोलन उग्र बन्दा संघीय संसद भवन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालतसँगै शीर्ष नेता र केही व्यापारीका घरमा आगजनी भयो। आन्दोलनले उग्र रुप लिएपछि आन्दोलनकारीको माग अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट मार्ग प्रशस्त भएको हो। 

आन्दोलनकारी पक्ष जेनजीको प्रस्ताव अनुसार राष्ट्रपतिले पूर्व प्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको हो।