• २५ वैशाख २०८३, शुक्रबार

‘कृषि अनुसन्धानलाई नवप्रवर्तन र उद्योगसँग जोड्नुपर्छ’

blog

राष्ट्रिय योजना आयोगका सदस्य डा.देवेन्द्र गौचन ।

पाटन (ललितपुर), वैशाख २५ गते । राष्ट्रिय योजना आयोगका सदस्य डा.देवेन्द्र गौचनले जैविक विविधता, जल, जमिन र जङ्गललाई उपयोग गर्दै कृषि अनुसन्धानलाई नवप्रवर्तन र उद्योगसँग जोड्नुपर्ने बताउनुभएको छ । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को ‘३५ औँ वार्षिकोत्सव समारोहमा उहाँले कृषि अनुसन्धानका संरचनालाई स्थानीय तहसम्म विकास गर्दै किसान, स्थानीय तह, विश्व विद्यालय, निजी तथा सार्वजनिक क्षेत्र र गैरआवासीय नेपालीसमेतलाई जोडेर जानुपर्ने बताउनुभयो । नेपाली समाजमा सहरीकरण र उपभोगमा आएको परिवर्तनले कृषि उत्पादनको माग बढ्दै गएको बताउँदै उहाँले राष्ट्रिय कृषि अनुसन्धान प्रणालीमा सार्वजनिक लगानीलाई जोड दिनुपर्ने उल्लेख गर्नुभयो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्रकुमार मिश्रले नेपाल कृषि अनुसन्धान परिषद्ले ३५ वर्षको समयसम्म नेपालको कृषि क्षेत्रको विकास र अनुसन्धानमा पुर्याएको योगदान महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले कृषि क्षेत्रको पुनःसंरचना र ऐन संशोधनको काम सरकारले अगाडि बढाइरहेको जानकारी गराउनुभयो । 

कायममुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमत श्रेष्ठले कृषि ऐन २०४८ अनुसार स्थापित स्वायत्त संस्था यस परिषद्ले देशको खाद्य सुरक्षाका साथै आत्मनिर्भर बन्न ध्यान दिएर प्रविधि विकासमा अगाडि बढिरहेको जानकारी गराउनुभयो । समग्र कृषि क्षेत्रको बजेटमध्ये छ प्रतिशत बजेट मात्रै कृषि अनुसन्धानका लागि छुट्याइएको बताउँदै उहाँले यो बजेट अपर्याप्त भएको बताउनुभयो । 

नेपालमा वि.सं.२०१० सालदेखि नै आधुनिक कृषिको विकास सुरुआत भएको भए पनि २०४८ सालपछि व्यवस्थित कृषि अनुसन्धानको काम भएको उहाँले बताउनुभयो । समारोहमा वैज्ञानिक, प्राविधिक, लेखा र प्रशासन समूहका कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियोे । रासस